PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

आमाको माया : कर्णाली नदीको डुंगा दुर्घटनाबाट बचाएर हसनाले छोरालाई लगाइन् खोप



पी बी खड्का

आमाको माया : कर्णाली नदीको डुंगा दुर्घटनाबाट बचाएर हसनाले छोरालाई लगाइन् खोप

सुर्खेत : बिहानको खाना खाइसकेपछि छोरालाई खोप लगाउन निस्किइन् कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ की हसना आले। खोप लगाउने थलो थियो, सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ४ स्थित बिजौरा स्वास्थ्यचौकी। जुन स्वास्थ्य चौकी पुग्न आधा घण्टा लाग्थ्यो, तर बीचमा कर्णालीको उर्लने भेल तर्नुको विकल्प थिएन।

नदी तर्न झोलुंगे पुल नहुँदा विकल्प थियो डुंगाको भर। उनीसहित बालबच्चा लिएर अरु तीन आमा पनि साथमै थिए। अर्की एक जना आमा बन्ने तरखरमा थिइन्, ५ महिनाकी गर्भवती। डुंगाबाट नदी तर्दै गर्दा अचानक दुर्घटना हुन पुग्यो।

खाना खाएर गाउँबाट सँगै हिँडेका साथीसंगी नदी तर्दै गर्दा दिउँसो साढे १२ बजेतिर तितरवितर भए। कसैले ज्यान जोगाए भने कसैले सदाका लागि साथ छोडे।

संयोगवस् हसनाले चार महिनाको बच्चा काखमा च्यापेर जसोतसो नदीपार गरिन्। र, उनले अन्ततः बच्चालाई खोप लगाएरै छोडिन्।

‘कर्णालीको भेलमा डुंगा पल्टिँदा पनि बच्चा च्यापेर आफू र छोरा बचाएर स्वास्थ्य चौकीमा आएर खोप लगाउनु भएको छ’, बिजौरा स्वास्थ्य चौकीका प्रमुख गगन पाण्डेयले भने, ‘नियमित खोप थियो, आफ्नो नानीको खोप नछुटोस् भन्नका लागि जोखिम मोलेर आउने गर्छन् बच्चाका आमाहरु।’

उपचारका लागि कैलालीको सोल्टा स्वास्थ्य चौकी जाने योजनामा रहेका उनीहरु बालबच्चाको खोप नछुटोस् भनेर सुर्खेत पुगेका हुन्।

‘खासमा उहाँहरु उपचारका लागि सोल्टा स्वास्थ्य चौकीमा जाने योजना रहेछ’, स्वास्थ्य प्रमुख पाण्डेयले हसनालाई उदृत गर्दै भने, ‘बच्चाबच्चीको खोप नछुटोस् भनेर यता आउनुभएको रहेछ।’

अहिले हसना र उनको चार महिनाको छोराको स्वास्थ्य अवस्था ठीक रहेको उनी बताउँछन्। भने, ‘बच्चालाई खोप लगाइयो, त्यसपछि आमाको र बच्चाको सामान्य उपचारपछि अहिले अवस्था ठीक छ।’

त्यस क्षेत्रका नियमित खोप लगाउन बावियाचौर स्वास्थ्य चौकीमा आउने गरेको उनको भनाइ छ। डुंगा दुर्घटनामा पाँच महिनाको गर्भवती १७ वर्षीया पार्वती डेंगा मगर, १८ वर्षीय उर्मिला सलामी र उनको १७ दिनको छोरी र २१ वर्षीया धनसरी सलामीको मृत्यु हुन पुगेको स्वास्थ्य शाखा प्रमुख पाण्डेयले बताए। धनसरीको छोराको अवस्था भने सामान्य रहेको उनको भनाइ छ।

त्यस स्थानमा झोलुंगे पुल भएपनि नागरिकको पायक पर्ने स्थानमा नहुँदा अधिकांशले डुंगाको प्रयोग गर्ने गरेको उनी बताउँछन्। समुदाय नजिक अर्थात सर्वसाधारण आवतजावत गर्ने स्थानमा नभएर अर्को छेउमा भएकाले प्रयोग नगरेका हुन्।

त्यस्तै, पछिल्लो समय नागरिको आवतजावतलाई मध्यनजर गरेर झोलुंगे पुलको डीपीआरका लागि इन्जिनियरिङ भएपनि कामले गति नलिँदा नागरिकले अकालमै ज्यान गुमाउनु परेको चौकुने गाउँपालिकाका स्थानीय रेशम धमलाले बताए।

राजनीतिक खिचातानीले गर्दा त्यस स्थानमा पुल निर्माणले गति नलिएको उनको आरोप छ।

‘एक पटक पुल बनाउने भनेर सर्वे, इन्जिनियरिङ गरेको हो’, उनले भने, ‘नेताहरुबीच एकता र जस लिने र दिने दाउँपेचमा अहिलेसम्म कुनै पहलनै भएको छैन।’

उनका अनुसार कैलालीको त्यस क्षेत्रका नागरिक दैनिक उपभोग्य सामग्रीसहित अन्य सेवा लिन पनि कर्णाली नदी तरेर चौकुने गाउँपालिकामै आउने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell