PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

तीज गीत विवाद बारे के भन्छन् दुर्गेश थापा?



लक्ष्मी बलायर

तीज गीत विवाद बारे के भन्छन् दुर्गेश थापा?

काठमाडौं : गायक दुर्गेश थापाले एकसाताअघि मात्रै  ‘बीच्च बीच्चमा ४ -ख्यास्स पुतली’ बोलको तीज गीत ल्याएका थिए। आफ्नै संगीत, शब्द र स्वर रहेको गीत सार्वजनिक भएसँगै दुर्गेश फेरि विवादमा तानिए।

उनीको गीतमा प्रयोग भएका शब्दहरुले तीज पर्व र महिलाको अपमान गरेको आरोप लाग्यो। गीतमा समेटेको विषयवस्तु र शब्दलाई लिएर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले नै आपत्ति जनायो।

तर, दुर्गेश भने प्रतिष्ठानले सबै गायक/गायिकालाई समान व्यवहार गर्न नसकेको र आफूलाई पेल्ने खोजेको आरोप लगाउँछन्। गीतमा प्रयोग भएको ‘ख्यास्स’ शब्दले महिलामाथि व्यंङ्ग गरेर अपमान गर्न खोजिएको भन्दै दुर्गेशको आलोचना भइरहेको छ। तर, दुर्गेश भने आफूले गाउँघरमा प्रचलित शब्द नै प्रयोग गरेको दाबी गर्छन्।

‘गाउँतिर ख्यास्स भनेको त नराम्रो काम गर्दैछस् झुक्केलास् भनेर प्रयोग गरिन्थ्यो। मैले त अहिलेको तीजमा नाच्न पाइएन, गाउन पाइएन, ख्यास्स भो भन्न खोजेको हो। त्यसमा नराम्रो भन्न खोजेको जस्तो लाग्दैन। खै उहाँहरुले कसरी बुझ्नु भो थाहा नै भएन,’ उनले भने।

गीत रिलिज हुनुभन्दा दुई महिना अघि नै आफूले गीतको पोस्टर सार्वजनिक गरेको दुर्गेश बताउँछन्। भन्छन्, ‘मैले यो गीतको पोस्टर पहिले नै सामाजिक सञ्जालमा सार्वजनिक गरेको थिएँ। त्यतिखेर कसैले केही आपत्ति जनाउनु भएन। जब गीत रिलिज दुई/तीन दिन बाँकी थियो तब मात्रै पत्र काट्नु भयो। यो त मलाई सरासर पेल्न खोजेको जस्तो लाग्यो।’

दुर्गेशका गीतहरु बेला बेला विवादमा फस्ने गर्छन्। ‘ह्याप्पी तिहार ह्याप्पी तिहार चिसो बियर’ देखि ‘बिच्च बिच्चमा ४’सम्म आइपुग्दा गीतहरु केहि न केही विवादमा परेका छन्।

तीज गीत ‘ख्यास्स पुतली’लाई लिएर हाँस्य कलाकार मनोज गजुरेलले गजुरेल डट कममा दुर्गेशलाई व्यङ्ग्य गरेका छन्। उनले लेखेका छन्, ‘गीतमा विवाद आएको हो कि विवादमा आउन गीत गाएको हो?’

तर, दुर्गेशले भने आफू संगीत पढेर र लेखेर नआएको र युवापुस्तामा मनोरञ्जन दिने हेतुले मात्रै ‘ख्यास्स पुतली’ गीत निकालेको बताउँछन्।

‘मेरो युवा पुस्ताको दर्शकश्रोताको छुट्टै खालको एउटा जमात छ। उहाँलाई मनोरञ्जन दिन रमाइलो खालको गीतहरु ल्याउने गर्छु। मेरो गीतहरु नाचुम नाचुम खालको हुन्छ। मेरो गीतको प्याट्रन नै फरक छ’, उनले भने, ‘म मोडलिङ सिकेर आएता पनि मलाई गीतसंगीत तिरको त्यति ज्ञान छैन।’

अरु धेरै गीतका शब्दहरु नराम्रा र दुई अर्थ दिने भएतापनि प्रतिष्ठानले केही मतलव नराखेको उनी बताउँछन्।

‘उहाँहरुलाई गीत गाउन छुट छ। तर, मैले मात्रै गीत ल्याउदा किन विवाद?’ उनले प्रश्न गरे।

दुर्गेशले ‘बीच्च बीच्च’को १० वटा श्रृंखला निकाल्ने सोच बनाएको बताए। ‘बीच्च बीच्चमा ५’ मा भने अहिलेको विवादबारे जवाफ दिने उनले बताए। आफूले मौलिक शब्द प्रयोग गरेको गीत ल्याएको भएर दर्शकश्रोताले पनि बुझन आवश्यक रहेको उनको भनाई छ।

उनले हाल माग गरिए अनुसार गीतका बोल परिवर्तन नगर्ने बताए।

‘यो गीतको शब्दमा कुनै फेरबदल गरिने छैन। यदि गीतमा प्रयोग भएको 'ख्यास्स' शब्दले अरुको गाउँतिर नराम्रो अर्थ राख्छ भने त्यसको लागि मनैदेखि माफी माग्न चाहन्छु,’ उनले भने।

यता, प्रतिष्ठानले भने दुर्गेशलाई बहिष्कार गर्न सम्मको योजना अघि सारेको छ।

प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले भने, ‘गीत ल्याउने हल्ला चले लगत्तै हामीले मौखिक तथा पत्रमार्फत पनि दुर्गेशलाई शब्दमा फेरवदल गर्न अनुरोध गरेका थियौँ। महिला दिदीबहिनीको चाडपर्वमा भल्गारिटी नल्याउने र तीज संस्कृति बचाउने गीत ल्याउन भनेका थियौँ। तर, उहाँले हाम्रो कुरा मतलब गर्नु भएन।’

संस्थाको आग्रहलाई नमानेपछि प्रतिष्ठानले दुर्गेश थापालाई संस्थाबाट नै बहिष्कार गर्ने तयारी गरेको बिजीले बताएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell