PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

भारत-पाकिस्तान क्रिकेट कूटनीति : कुनै बेला क्रिकेटले जोडेको थियो संवादको कडी, अहिले विवाद बढाउँदै



विधुर ढकाल

भारत-पाकिस्तान क्रिकेट कूटनीति : कुनै बेला क्रिकेटले जोडेको थियो संवादको कडी, अहिले विवाद बढाउँदै

खेललाई मित्रता र सद्भावको प्रतीकको रुपमा लिइँदै आइएको छ। देशहरुबीचको लामो विवाद र युद्धलाई खेलले मित्रतामा बदलेका इतिहास छन्।

तर, आजाद जम्मु कश्मीर (एजेके) मा हुन लागेको कश्मीर प्रिमियर लिग (केपीएल) का कारण भने पाकिस्तान र भारतबीच कूटनीतिक युद्ध सुरु भएको छ।

अगस्ट ६ बाट केपीएलको आयोजना एजेकेको राजधानी मुजफ्फरवादस्थित क्रिकेट स्टेडियममा हुने तय भएको छ। तर, टी-२० क्रिकेट लिग केपीएलको आयोजनालाई लिएर भारत र पाकिस्तानका क्रिकेट बोर्डबीच वाक युद्ध सुरु भएको छ।

दुबै देशका क्रिकेट बोर्ड अहिले आमने-सामने भएका छन्। क्रिकेट क्षेत्रमात्रै होइन राजनीति पनि गरम भएको छ। पाकिस्तान क्रिकेट बोर्डले मान्यता दिएको केपीएलको आयोजना एजेके सरकार र पाकिस्तानको पञ्जाव राज्य सरकारसँगको सहकार्यमा आयोजना हुन लागेको केपीएलको अफिसियल वेबसाइटमा उल्लेख छ।

कुनै बेला भारत-पाकिस्तान विवाद उत्कर्षमा पुग्दा क्रिकेटले संवादको कडी जोड्ने गरेको थियो। यसपटक भने विवाद बढाउन थालेको छ।

क्रिकेट डिप्लोमेसी

अन्य देशमा स्पोर्टस्  डिप्लोमेसीले देशबीचको सम्बन्ध सुधार गरेको इतिहास छ। तर, भारत र पाकिस्तानबीच खेलकुदमा प्रतिपर्धा मात्र नभइ विवाद पनि झल्किँदै आएको छ।

विश्वका अधिकांश देशका क्रिकेट खेलाडीलाई आइपिएलमा सहभागी गराउँदै आएको भारतीय क्रिकेट बोर्ड 'बीसीसीआई'ले पाकिस्तानी खेलाडीलाई सहभागी गराउने गरेको छैन। अन्य खेलमा पनि यस्तै अवस्था देखिँदै आएको छ। पछिल्लो समयमा एक अर्काको देशमा आयोजना हुने प्रतियोगितामा दुई देशका खेलाडी सहभागी भएका छैनन्।

युद्धको समयमा पनि खेल कूटनीतिले दुई देशबीचको सम्बन्धलाई सुधार गरेका इतिहास छन्। यसको असल उदाहरण हो ‘पिङपङ डिप्लोमेसी’। शीतयुद्धको समयमा पनि पिङपङको माध्यमबाट दुई देशबीच संवाद अगाडि बढेको थियो।

भारत र पाकिस्तानबीच ‘क्रिकेट डिप्लोमेसी’लाई पनि स्पोर्टस् डिप्लोमेसीको उदाहरण लिने गरिन्छ। अफगानिस्तानलाई सोभियत युनियनले नियन्त्रणमा लिएपछि सन् १९८७ मा पाकिस्तानका राष्ट्रतपति जनरल जिया उल हक भारत र पाकिस्तानबीच जयपुरमा भएको टेस्ट म्याच हेर्न पुगेका थिए।

सन् १९८७ मा भारतमा आयोजित टेस्ट क्रिकेट हेर्न पुगेका पाकिस्तानका राष्ट्रपति जनरल जिया उल हक र भारतीय प्रम राजीव गान्धी। तस्विर :न्यूज २४/ द ट्रिब्युन


उनले त्यतिबेला भने भनेका थिए- म एउटा राम्रो क्रिकेट खेल हेर्न आएको हुँ।

उनी पाकिस्तानी एयर फोर्सको हेलिकोप्टरमा नजिकैको मुस्लिमहरुको पवित्रस्थल पुगेका थिए। उनको यो भ्रमण कुनै कूटनीतिक रुपमा भन्दा पनि बढी पर्यटकको रुपमा थियो। जसले उनलाई मुस्लिम पवित्रस्थलदेखि क्रिकेट मैदानसम्म पुर्‍यायो। लामो समयसम्म दुई देशबीच क्रिकेट प्रतियोगिता भएको थिएन। सन् १९६१ देखि १९७८ सम्म खेल ठप्प थियो।

१९८७ मा पाकिस्तानी क्रिकेट टोली भारत पुगेसँगै दुई देशका अधिकारीहरुले सीमा क्षेत्रमा रहेको तनाव कम गर्न आफ्नो तर्फबाट केही सेना फिर्ता लिने सहमतिमा हस्ताक्षर गरेका थिए।

‘शान्तिका लागि क्रिकेट मेरो मिसन हो,’ जयपुर विमानस्थलमा ओर्लिँदै गर्दा राष्ट्रपति जियाले भनेका थिए।

त्यति मात्र होइन उनले  दुई देशबीचको असल सम्बन्ध देखाउन नआएको बताएका थिए।

‘मेरो भ्रमणको उद्देश्य हामी असल सम्बन्ध देखाउनु होइन्। तर, दुई छिमेकीका लागि एक अर्कासँग भेट गर्नु महत्त्वपूर्ण हुन्छ। मेरो एकमात्र उद्देश्य भनेको एउटा राम्रो क्रिकेट खेल हेर्नु हो। यहीबीच प्रधानमन्त्रीसँग भेट भयो। र हामीले समस्या समाधानका लागि के गर्न सक्छौँ भन्ने छलफल गर्‍यौँ।’

सीमामा दुई देशका सेना लडिरहेका बेला एक्कासी नयाँ दिल्लीमा पाकिस्तानी एयर फोर्सको विमान अवतरण हुँदा सबै अचम्मित भएका थिए। फर्किँदै गर्दा जनरल जिया उल हकले राजीव गान्धीलाई भनेका थिए- मिस्टर राजीव, तिमी पाकिस्तानमाथि आक्रमण गर्न चाहन्छौँ, गर। तर, यो कुरा याद गर, कि विश्वले हलाकु खान र जंगिज खानलाई भुल्नेछन् र जिया उल हक र राजीव गान्धीलाई सम्झिनेछन्। किनकी यो परम्परागत युद्ध होइन आणविक युद्ध हो। यो अवस्थामा पाकिस्तान पुरै नामेट हुन सक्ला तर विश्वमा मुस्लिम रहने छन्। यदि भारत नै ध्वस्त भयो भने यस पृथ्वीबाट हिन्दु मेटिनेछन्

सन् २००५ मा भारत पाकिस्तानबीचको टेस्ट क्रिकेट हेर्न भारत पुगेका पाकिस्तानी राष्ट्रपति परवेज मुसरफ र भारतीय प्रधानमन्त्री मनमोहन सिंह। तस्विर : एस बुरमाउल 


त्यस्तै २००५ मा पनि यस्तै क्रिकेट डिप्लोमेसीको उदाहरण देख्न पाइएको थियो। पाकिस्तानका राष्ट्रपति परवेज मुर्सर्फ अप्रिलमा भारत पुगेका थिए। त्यहाँ उनले भारतीय प्रधानमन्त्रीसँग सँगै बसेर क्रिकेट हेरेका थिए।

२०११ को वर्ल्डकप क्रिकेटको सेमिफाइनलमा पनि पुन: यस्तै दृश्य दोहोरिएको थियो। भारतीय प्रधानमन्त्री मनमोहन सिंहले पाकिस्तानी प्रधानमन्त्री युसुफ राजा गिलानीलाई क्रिकेट हेर्न निम्तो दिएका थिए। निम्तो स्वीकार गर्दै पाकिस्तानी प्रधानमन्त्री गिलानी भारत पुगे। भारतीय प्रधानमन्त्री सिंह र पाकिस्तानी प्रधानमन्त्री गिलानीले स्टेडिममा सँगै बसेर खेल हेरेका थिए। साथमा थिए भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीसहितका अन्य नेता भारत र पाकिस्तानबीचको सो खेलमा भारत विजयी भएको थियो। 

सन् २०११ मा भारतमा भएको क्रिकेट खेलका क्रममा भारतीय प्रधानमन्त्री सिंह र पाकिस्तानी प्रधानमन्त्री गिलानी। तस्विर : गेट्टी इमेजेस्


कुनै समय यही क्रिकेटले दुई देशबिचको तनावलाई कम गरेको थियो। तर,  यसपटक भने यही क्रिकेटले दुई देशबीच टकरवाको अवस्था सिर्जना गरेको छ।

के हो केपीएल र आयोजक को?

पाकिस्तानको कटिङ एज ग्रुपले आयोजना गर्न लागेको हो केपीएल। यो समूह पाकिस्तानको डिजिटल मार्केटिङ, रियल स्टेट, खानी तथा खनिजको क्षेत्रमा लगानी गर्ने कम्पनी हो। पाकिस्तानबाट प्रकाशित हुने ग्लोबल अफेयर्स मासिक पत्रिकाको प्रकाशक संस्था पनि हो कटिङ एज समूह। साथै यो समूहले त्यहाँको स्पोर्टस् अवार्डको समेत आयोजना गर्दै आएको छ। यो समूहले त्यहाँ गल्फको पनि आयोजना गरेको छ।

यस प्रतियोगिताका लागि पाकिस्तानका पूर्व कप्तान शाहीद अफ्रिदीलाई ब्राण्ड एम्बेस्डर बनाइएको छ। त्यस्तै केपीएलको एन्थेम पाकिस्तानी गायक राहत फतेह अली खानले गाएका छन्- तुँ खेल आजादी से, तुँ जित आजादी से। राहत भारतमा समेत प्रसिद्ध छन्।

क्षेत्रीय क्रिकेटलाई अन्तर्राष्ट्रिय उचाइ दिलाउने उद्देश्यका साथ केपीएल आयोजना गरेको बताइएको छ। त्यहाँका स्थानीय युवा प्रतिभालाई प्रतिभा देखाउने थलोको रुपमा केपीएल आयोजना गरिएको यसको आधिकारिक वेबसाइटमा लेखिएको छ। साथै पाकिस्तानी अन्तर्राष्ट्रिय खेलाडीहरुको प्रतियोगितामा सहभागिताले स्थानीय युवाहरुमा उत्साह थप्ने र आजाद कश्मीरको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताइएको छ।

विवाद कसरी सुरु भयो?

अन्तर्राष्ट्रिय खेलाडीहरु केपीएल खेलका लागि अनुबन्धन हुँदै गर्दा भारत कश्मीरको अस्तित्वलाई लिएर झस्किएको छ। भारतको क्रिकेट बोर्ड बीसीसीआईले केपीएलमा अनुबन्धन भइसकेका खेलाडीलाई सहभागी नहुन 'धम्की' दिएपछि विवाद बाहिर आएको हो।

शनिबार दक्षिण अफ्रिकी क्रिकेटर हर्सल  गिब्सले ट्वीट गर्दै भारतले आफूलाई उक्त प्रतियोगितामा भाग नलिन दबाब दिएको दाबी गरेका थिए।

दक्षिण अफ्रिकी क्रिकेटर हर्सल गिब्स। तस्विर : गेट्टी इमेजेस्


'पाकिस्तानसँग अनावश्यक राजनीतिक एजेन्डा ल्याउँदै मलाई केपीएल खेल्न नदिन प्रयास गरिरहेको छ,' उनले ट्वीटमा लेखेका छन्, 'भारतमा क्रिकेटसँग सम्बन्धित कुनै पनि काममा प्रवेश नमिल्ने भनेर मलाई धम्की दिइएको छ। यो हास्यास्पद छ' उनले भनेका छन्।

गिब्स केपीएलको ओभरसिज वारियरमा अनुबन्धित भएका छन्। गिब्सको ट्वीटसँगै दुबै देशका क्रिकेट बोर्डवीच वाक युद्ध सुरु भएको छ।

शनिबार पीसीबीले वक्व्य जारी गर्दै घटनाप्रति खेद व्यक्त गरेको छ।

पीसीबीले खेललाई बीसीसीआईले राजनितिसँग जोडेको आरोपसमेत लगाएको छ। उसले अन्तर्राष्ट्रिय खेलाडीहरु केपीएलमा सहभागी भए क्रिकेट सम्बन्धी गतिविधिका लागि भारतमा प्रवेश नदिने धम्की दिएर अन्तर्राष्ट्रिय मान्यता तथा आईसीसी सदस्य राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने खेलको सामान्य भद्रतालाई उल्लंघन गरेको आरोप लगाएको छ।

पाकिस्तानी टोलीका पूर्वकप्तान राशीद लतिफले पनि यस्तै आरोप लगाएका छन्। 

'बीसीसीआईले क्रिकेट बोर्डहरुलाई धम्की दिइरहेको छ कि यदि उनीहरुका पूर्व खेलाडीले केपीएलमा भाग लिन्छन् भने उनीहरुलाई भारत प्रवेश गर्न या कुनै पनि तहमा भारतीय क्रिकेटसँग काम गर्न प्रतिबन्ध लगाइनेछ' उनले अर्को ट्वीटमा उल्लेख गरेका छन्।

त्यस्तै प्रतियोगिताका आयोजक तैमुर खानले पनि विदेशी खेलाडीले भारतबाट दबाब आएको बताएका छन्। उनले भारतीय हस्तक्षेपलाई 'दु:खद्' भन्दै विदेशी खेलाडी सहभागी हुने अवस्था नरहे पनि प्रतियोगिता चल्ने बताए।

केपीएल घोषणा कार्यक्रमको दृश्य। तस्विर : केपीएल


यो प्रकरण अघि आएसँगै पाकिस्तानले भारतको कडा आलोचना गरेको छ। पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता जाहिद हफिज चौधरीले भारतले क्रिकेटमा राजनीति गर्न खोजेको भन्दै निन्दा गरेका छन्।

'भारतद्वारा क्रिकेटमाथि गरिएको राजनीतिकरण जति निन्दा गरे पनि पुग्दैन। युवा कश्मिरी खेलाडीलाई क्रिकेटका ठूला हस्ती(खेलाडी)सँग ड्रेसिङ रुम सेयरको अवसरबाट बञ्चित गर्न खोज्नु दूर्भाग्यपूर्ण र खेदजनक छ,' उनले ट्वीट गर्दै भनेका छन्।

India’s politicisation of Cricket cannot be condemned enough. Depriving young Kashmiri players of the opportunity to share dressing room with big names in 🏏 is unfortunate and regrettable.@hershybru @kpl_20 https://t.co/uOgRuMXqln

— Zahid Hafeez Chaudhri (@Zhchaudhri) July 31, 2021

पाकिस्तानी मन्त्री फवाद खानले राजनीतिका लागि मोदी सरकारले क्रिकेटको बली दिएको पहिलोपटक नभएको दाबी गर्दै यसको निन्दा गर्नुपर्ने बताएका छन्।

India’s politicisation of Cricket cannot be condemned enough. Depriving young Kashmiri players of the opportunity to share dressing room with big names in 🏏 is unfortunate and regrettable.@hershybru @kpl_20 https://t.co/uOgRuMXqln

— Zahid Hafeez Chaudhri (@Zhchaudhri) July 31, 2021

 

भारतको दाबी आन्तरिक मामिला

यता भारतले यस मामिलालाई आफ्नो आन्तरिक मामिला भनेको छ। बीसीसीआईले भारतभित्रको क्रिकेट गतिविधिमा कसलाई संलग्न गराउने या नगराउने भन्ने आन्तरिक मामला भएको भन्दै जवाफ दिएको छ।

'पूर्वखेलाडी जोमाथि म्याच फिक्सिङको सीबीआई इन्भेस्टिगेसन चलेको थियो उनको भनाइलाई 'कन्फर्म' या 'डिनाइ' हुन सक्दैन। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले के बुझ्नुपर्छ भने भारतभित्रको क्रिकेटको इकोसिस्टम बनाउने सबै अधिकार बीसीसीआईलाई छ,' बीसीसीआईले भनेको छ।

केपीएल आयोजना हुने मैदान। तस्विर : केपीएल


बीसीसीआईले आईपीएलसँगको प्रसंगसमेत जोड्दै 'भारतभित्र' क्रिकेट गतिविधि आन्तरिक मामला भएको र भारतको क्रिकेट गतिविधिमा कसलाई समावेश गर्ने वा नगर्ने भन्ने भारतको आन्तरिक मामिला भएको दाबी गरेको छ। उसले पाकिस्तानी मुलका खेलाडीलाई आइपिएलमा नखेलाए जस्तै यो पनि आन्तरिक मामिला भएको बीसीसीआईका अधिकारीलाई उदृत गर्दै एएनआईले जनाएको छ।

बीसीसीआईले पाकिस्तान क्रिकेट बोर्डलाई यो मुद्दा आइसीसीसमक्ष लग्ने चेतावनीसमेत दिएको छ। ‘यसको अन्त्य के हुन्छ सबैलाई थाहा छ,’ ती अधिकारीले भनेका छन्।

यता भारतीय शिवसेना पार्टीकी नेतृ प्रियंका चतुर्वेदी हर्षल, भारतीय जनता पार्टीका नेताहरु समेत खुलेर बीबीसीआईको समर्थनमा देखिएका छन्। इन्डियन प्रिमियर लिग (आइपिएल) मा पनि पाकिस्तानी खेलाडीहरुलाई सहभागी गराउनेविरुद्ध पनि यिनै राजनीतिक दलहरुले विरोध जनाएका थिए।

के हो आजाद कश्मीर?

इन्डो-पाक विवाद पछिल्लो होइन्। यो विवाद बेलायतबाट उपनिवेश मुक्त हुँदा अलग देश भएदेखि नै कायम छ। सो समय स्वतन्त्र राष्ट्रको रुपमा रहेको जम्मु कश्मीर अहिले चार हिस्सामा विभाजित छ। पाकिस्तान नियन्त्रित कश्मीर (पीओके), भारत नियन्त्रित कश्मीर (आईओके), चीन नियन्त्रित कश्मीर (सीओके), र आजाद जम्मु कश्मीर (एजेके)।

आजाद कश्मीरका प्रधानमन्त्रीलाई केपीएलको जर्सी दिँदै आयोजक। तस्विर : केपीएल


आजाद जम्मु कश्मीर पाकिस्तानको प्रशासनिक नियन्त्रणमा रहेको कश्मीर भए पनि यहाँ छुट्टै सरकार छ। १३ हजार २९७ वर्गकिलोमिटरमा फैलिएको एजेकेको छुट्टै देशको जस्तै संविधान, सरकार, संसद् र अदालत छ। यसको छुट्टै झण्डासमेत छ। त्यहाँको एक सदनात्मक संसदले प्रधानमन्त्री र राष्ट्रपति चयन गर्छ।

तर यहाँको संसदीय निर्वाचनमा पाकिस्तानका राजनीतिक दलहरुले प्रतिस्पर्धा गर्छन्। प्रशासनिक कामहरुका लागि पाकिस्तानसँग निर्भर छ एजेके।

भारत-पाकिस्तानबीचको लामो विवाद यही कश्मीरलाई लिएर छ। यही स्थानमा क्रिकेट लिग हुँदा अन्तर्राष्ट्रिय सहभागिता हुने र अन्तर्राष्ट्रिय मान्यता पाउने सम्भावनालाई देखेर भारत सशक्त रुपमा प्रस्तुत भएको छ।

यसरी दुई देशबीचको कूटनीतिक टकरावलाई मत्थर पार्ने हतियारको रुपमा रहेको क्रिकेट नै विवाद बढाउने कारक बन्ने पुग्ने देखिन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell