PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

सर्पको चोटमा मलम लगाउँदै १० वर्षीया डेजी



रिना थापा

सर्पको चोटमा मलम लगाउँदै १० वर्षीया डेजी

पोखरा: सर्प देख्दा तपाईलाई कतिको डर लाग्छ? कतिपय मानिस सर्पको नाम सुन्ने बित्तिक्कै तर्सन्छन्। कोही देखी सहन्नन् सर्पलाई। आक्रमणमा उत्रिहाल्छन्। सर्प पनि के कम? आफ्नो सुरक्षाका लागि फणा उचालेर मानिसमाथि जाइलाग्ने गर्छ।

सर्प देख्‍ने बित्तिकै सातो जाने किन? सर्पका १६ रमाइला तथ्य

यसरी सर्पको टोकाइबाट कतिको मृत्यु भएको घटना पनि छन्। मानिसले पनि सर्पको प्राण जाने गरी चोट पुर्‍याउँछन्। मानव सर्प द्वन्द्वमा सर्प बढी घाइते हुन्छ। घाइते सर्प देखेर १० वर्षीया डेजी भण्डारीको भने मन दुख्छ। सर्पलाई चोट पुर्‍याउने मानिससँग रिस उठ्छ। उनी मानिसलाई सम्झाउन भ्याउँछिन् र आफैँ सर्पको घाउमा मलम लगाउन खटिन्छिन्।

डेजीका बाबा आकाश भण्डारी सर्प उद्धारकर्मी। उद्धार गरेका सर्प कहिलेकाही घरमा लिएर आउँछन्। बाबाको काम देखेर १० वर्षीया डेजीलाई सानैदेखि सर्पप्रति मोह पलाएछ। डेजीले आफ्नो हातमा सर्प कहिले राखिन् ठ्याक्कै याद छैन। तर बाबाबाट सर्प उद्धार तालिम लिन थालेको डेढ वर्ष बित्यो। सानैदेखि बाबाले घरमा ल्याएका सर्प छुन पुग्थिन् डेजी। बाबाको कामबाट उनले सानैमा बुझेकी थिइन्, सर्पको पनि बाच्ने अधिकार छ। सर्पप्रति माया र लगाव भए पनि उनले त्यस समय खासै बाहिर देखाइनन्। तर ०७६ फागुन महिना ताका बैठक कोठामा बस्दै थिइन्। त्यत्तिकैमा बाबाले माथिल्लो तलामा सर्प राखेको स्थानमा जान मन लाग्यो। माथि पुग्दा बाबाले हातमा उद्धार गरेर ल्याएको चोटग्रस्त सर्पलाई समाउँदै थिए।

स्नेहपूर्वक बाबाको हातमा दुखाइको पीडाले बसेको सर्प देखेर उनलाई भावुक बनायो। उनले बाबालाई भनिन्, ‘मान्छेको जस्तै सर्पको पनि बाच्ने अधिकार हुन्छ,’।

हो! त्यही समयदेखि डेजीले सर्पको चोटमा मलम लगाउन थालिन्। बाबा आकाशले पनि छोरीलाई रोकेनन्। छोरीको भावना र चाहनालाई कदर गर्दै सर्पको उद्धार गर्ने तालिम दिन थाले। डेजी बाबालाई सर्पबारे पलाएको जिज्ञासाबारे सोध्थिन्। छोरीले सुरुआतमा राखेको जिज्ञासा अझै सम्झिन्छन्, आकाश।

‘बाबा म नि छुन्छु नि, कस्तो माया गर्छ हजुरलाई म नि छुन्छु भन्दै आउँथ्यो,’ आकाश सम्झन्छन्, ‘बाबा यो सर्प कुन हो? कस्तो हो? कुन सर्प विषालु हुन्छ? यो सर्पले टोकेर मान्छे मर्छ कि मर्दैन? उसले एकदम प्रश्न गर्ने अनि मैले विस्तारै घाइते सर्पहरुलाई छुन दिए।’

आकाश पनि सानै उमेरदेखि सर्प संरक्षण कार्यमा जुटेका व्यक्ति। १६ वर्ष बितिसक्यो उनी सर्पको उद्धार कार्यमा लागेको। आफैं सर्पप्रेमी भएपछि छोरीको उत्सुकतामा लगाम लगाउने आकाशको सोच रहेन। उनले डेजीलाई सर्पको प्रजातिबारे बताए। नेपालमा पाइने ८६ सर्पको प्रजातिबारे जानकारी दिए जसमध्ये १२ देखि १५ प्रजातिमात्र विषालु हुन्छन् भनि चिनाए। छोरीको प्रश्नलाई सकेसम्म आकाशले उदाहरण दिएर र चिनाएर उत्तर दिन खोजे। आकाशले डेजीलाई विषालु सर्प चलाउन भने अझै दिएका छैन।

बाबाबाट सर्पबारे सिक्दै गरेकी डेजीलाई सुरुआतमा आफूलाई डर लागेको सुनाउँछिन्। तर सर्पलाई देख्दा डरभन्दा माया बढी लाग्ने डेजी बताउँछिन्। घाइते भएका सर्पलाई उपचार गर्दा मन आनन्दित हुने उनको अनुभव छ।

सर्पबारे अध्यान गर्दै गरेकी उनको मनपर्ने प्रजातिको सर्प (ट्रिंकेट) सिंगारे हो। आफूले सुरुमा सिंगारे सर्प समाएर पनि होला त्यो प्रजातिको सर्पप्रति डेजीको वेग्लै लगाव छ।

‘सुरुमा मैले ट्रिंकेट सर्पलाई हत्केलामा राखेको थिएँ, सानो थियो मेरो हातमा अटाउने जत्रो,’ डेजीले सुनाइन्, ‘उनीहरु लजालु र शान्त स्वभावको हुन्छ। त्यसैले नि मनपर्छ।’

यसबाहेक डेजीले पानी सर्प, धमान, अजिंगर, कोब्रालाई सजिलै समाल्न सक्छिन्। डेजीले सर्प सहजै समाल्न सकेपनि आकाशले भने छोरीको उमेर कम भएकै कारण फिल्डमा खासै लिएर जाँदैनन्। सिक्दै गर्दा आफू नभएको बेलामा सानो नानीलाई सर्प उद्धारको लागि बोलाए अप्ठ्यारो हुने उनी सुनाउँछन्।

‘आफू नभएको बेला सानो नानीलाई पठाउनु भन्न सक्छन् उसले बल्ल सिक्दै छ सधैं नचिनन् पनि सक्छ। एउटा बच्चाले गर्दा अरुलाई नि नकरात्मक असर पुग्न सक्छ,’ उनले भने, ‘छोरीले सके र जाने पनि म उसलाई यति चाँडो यसरी लाग्न भने दिन्न। ’

सर्पको उद्धार गर्न फोन आउने बेला फोटो पठाउन लगाउँछन् आकाश। सर्प विषालु नभए मात्र डेजीलाई लिएर पुग्छन्। त्यसरी बाबासँग पुग्दा डेजीले सर्प उद्धार गर्न जानेकी हुन् । कहिलेकाहीँ अप्ठ्यारो ठाउँमा रहेको सर्पलाई बाबाले समात्न नसके उनैले उद्धार गर्न भ्याउँछिन्। आकाशका अनुसार डेजीलाई विषालु सर्पबारे सिक्न भने अझै केही वर्ष लाग्ने छ।

पोखरामा सर्प संरक्षण र उद्धारका लागि ०७२ सालमा खुलेको हो स्नेक कन्जर्वेसन सोसाइटी। त्यहीँ सोसाइटीमार्फत सर्प उद्धरमा जुट्छन् आकाश। डेजी पनि उक्त सोसाइटीमा विस्तारै जाने तरखरमा छिन्। पोखरामा सोसाइटीबाट हाल ८ जनाको टोली छ।

डेजीले अहिले विष नभएको सर्पलाई हुक प्रयोग गर्न सिक्दै छिन्। आकाश छोरीको पढाई बिगारेर सर्प उद्धार तालिममा मात्र लगाउन चाहान्न्। त्यसैले पनि उनले डेजीलाई तालिममा कम समय बिताउन लगाउँछन्।

कक्षा ५ मा अध्यनरत डेजीलाई साथीभाइहरुले प्रश्न गर्छन्, ‘सर्पले टोक्दैन? किन समातेको? बाबामम्मीले समात्न दिनुहुन्छ?’ उनीसँग यी सबैको उत्तर नभए पनि उनले सम्झाउन खोज्छिन्। सर्पले वातावरणलाई स्वच्छ राख्न मद्दत पुर्‍याउँछ, यसलाई मार्नुहुँदैन। कहिँकतै सर्प मारेको खबर आए चित्त दुखाउछिन् डेजी। बाबासँग आएर दुखेसो पोख्छिन्। उजुरी गरौं भनि बाबालाई आग्रह गर्छिन्।

‘हाम्रो जति बाच्ने अधिकार छ। जनावरको पनि त्यति नै बाच्ने अधिकार छ,’ उनले भनिन्, ‘सर्पलाई मट्टितेल हाल्दा मान्छेलाई एसिड प्रहार गरे जसरी दुख्छ। त्यसैले हाल्नुहुँदैन उनीहरुलाई जिस्काउनु हुँदैन।’

आकाशले उद्धार गरेर ल्याएको घाइते सर्पलाई उपचार गर्न डेजीलाई लगाउँछन्। सर्पले गरेको फोहोर भने आकाशलाई मनपर्दैन। तर डेजी भने सफा गर्न र मलम लगाउन रुचाउँछिन्। तोरीको तेल र बेसारको लेप लगाएर उनी सर्पलाई उपचार गर्छिन्। ‘उपचार गरिसकेपछि सर्पलाई छोड्दा आनन्द आउँछ,’ हर्षित हुँदै डेजी भन्छिन्,‘ठिक भएपछि सर्प सुलुल्ल गरेर जाँदा छुट्टै खुशी मिल्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell