PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

जताततै लाइनै लाइन : खोप लगाउन भन्दा लगाएको प्रमाणपत्र लिन झनै सास्ती, बिहान १ बजेदेखि नै अस्पताल पुग्छन् युवा

जताततै लाइनै लाइन : खोप लगाउन भन्दा लगाएको प्रमाणपत्र लिन झनै सास्ती, बिहान १ बजेदेखि नै अस्पताल पुग्छन् युवा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : मोरङका उत्तम खत्रीले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल धाउन थालेको चार दिन भइसक्यो। तर पनि उनको काम अझै फत्ते भएको छैन।

आज पनि काम होलाकी भनेर हातमा टोकन बोकेर लाइनमा बसिरहेका थिए उनी। तर आज पनि काम बन्नेमा विश्वस्त भने छैनन्।

'टोकन दिन्छन् आज हुन्छ भन्छन्। तर चार दिन भइसक्यो काम भएको छैन,' मलिन स्वरमा आफ्नो पिडा सुनाए उत्तमले।

केही दिन अघि नै उनले कोरोना विरुद्धको खोप लगाएका थिए। विदेश जानुपर्ने भएकाले खोप लगाएको प्रमाणपत्र आवश्यक पर्छ। त्यही खोप लगाएको कार्ड प्रमाणित गर्न चार दिन देखि चर्को घाममा ठेलमठाल गर्न बाध्य भएका छन् उनी जस्तै कयौं युवाहरु।

                        साथीसँगै लाइनमा निलो सर्ट लगाएर बसेका उत्तम


टेकुस्थित अस्पतालमा अहिले खोप कार्ड प्रमाणित गर्नेको भिड लागेको छ। बिहानैदेखि तातो घाम खपेर लाइनमा बस्दा पनि एक दिनमा नै काम बन्छ भन्ने कसैलाई लागेको छैन।

उत्तम जस्तै सप्तरीका रियाज मियाँले पनि टेकु धाएको दुई दिन भइसकेको छ। दुई दिनपछि कतार जाने टिकट समेत भइसकेको छ। तर उनको खोप कार्ड अझै प्रमाणित भएको छैन। जति जति दिनहरु घर्किँदै जान्छ उनलाई चिन्ताले सताउँछ। समयमा नै कार्ड प्रमाणित नभए विदेश जान नपाइने भन्ने चिन्ताले रियाजलाई सताइरहेको छ।

'आज त बिहान १ बजेदेखि आएर लाइनमा बसेको छु। खानपिन निन्द्रा सबै हराइसकेको छ। तर पनि अझै काम बन्छ बन्दैन केही टुङ्गो छैन,' रियाजले भने।

                          विदेश जाने टिकट देखाउँदै रियाज


विदेश जानको लागि खोप कार्ड प्रमाणित गर्नुपर्ने हुन्छ। कार्डमा लेखिएको पासपोर्ट नम्बर देखि अंग्रेजी समेत प्रमाणित गर्नुपर्ने भएकाले मानिसहरू लाइन बसेर प्रमाणित गर्न बाध्य भएका छन्।

अहिले खोप कार्ड प्रमाणित गर्न मात्र होइन खोप लगाउनेको लाइन पनि उतिकै छ। उनीहरू पनि बिहानैदेखि लाइनमा बसेको भेटिन्छन्। लाइन मिलाउन सुरक्षाकर्मीलाई समेत हम्मे हम्मे परेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell