PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

प्रवक्ता राईको राजीनामासँगै लम्बिँदै एन्फामा राजीनामाको 'राजनीति' : किन भइरहेको छ यस्तो ?



पहिलोपोस्ट

प्रवक्ता राईको राजीनामासँगै लम्बिँदै एन्फामा राजीनामाको 'राजनीति' : किन भइरहेको छ यस्तो ?

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) मा पदाधिकारीको राजीनामाको श्रृंखला अझ लम्बिएको छ। आज एन्फाका प्रवक्ता किरण राईले पदबाट राजीनामा दिएसँगै राजीनामाको श्रृंखला त लम्बिएको छ नै एन्फा भित्रको असन्तुष्टिहरु पनि बाहिरिएका छन्।

अघिल्लो वर्ष एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङले फरक मत दर्ता गराएसँगै स्पष्ट रुपमा दुई धारमा देखिएको एन्फाको विवाद प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको विवाद र राजीनामा प्रकरणसँगै अझ गिजोलिएको छ। अलमुताइरीले वरिष्ठ उपाध्यक्षले आफूलाई दु:ख दिएकाले राजीनामा गर्ने घोषणा गरेसँगै आफूलाई चुनाव लक्षित राजनीति गरिएको दाबी गरेका थिए नेम्वाङले।

उनले भनेका थिए: एन्फाको आगामी निर्वाचनका निम्ती मेरो लागि यो षड्यन्त्र हो भन्ने मैले बुझेको छु।

प्रशिक्षक र वरिष्ठ उपाध्यक्षले छानबिनको माग गर्दै एन्फामा निवेदन दिएपछि शुक्रबार एन्फाको कार्यसमितिको आकस्मिक बैठकले छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको गरेको थियो। यो विवादसँगै एन्फाभित्रको अर्को खेमा समेत असन्तुष्ट बन्यो।

एन्फाको निर्णयमा भनिएको छ, ‘एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ तथा पुरुष राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले यस एन्फा सचिवालयमा दिएको निवेदन उपर छलफल गर्दा उक्त निवेदनको सम्बन्धमा छानबिन गर्न नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरियो।’

 मन्त्रालय गुहारेको प्रकरणमा असन्तुष्ट भएर एन्फाका सहमहासचिव वसन्तराज अर्यालले राजीनामा दिए। राजीनामामा एन्फाले आन्तरिक विवादमा मन्त्रालय गुहारेकोमा असन्तुष्टी जनाउँदै पदबाट अलग भएको उनले बताएका छन्।

'हाल संस्थामा देखिएको मुख्य प्रशिक्षक एवं वरिष्ठ उपाध्यक्षबीचको सामान्य भन्दा सामान्य असमझदारीलाई अध्यक्ष ज्यूकै पहलमा संस्थाभित्रै छलफल गरि समाधान गर्न सकिने मार्ग प्रशस्त हुँदाहुँदै सो नगरी नियमन गर्ने निकायमा छानविनका लागि लेखि पठाउनु अत्यन्तै दु:खद् एवम संस्थाको क्षेत्राधिकार माथि नै प्रश्न तेर्सएको एउटा दुखद घटनाका रुपमा मैले बुझेको छ,' अर्यालले राजीनामा पत्रमा लेखेका छन्। 'यसैबिच प्रशिक्षकले खेलाडी नयाँ ठाउ हेर्न जाने र कम भन्दा कम गोल खाने लक्ष्य लिएर जाने गरेको भन्ने अभिव्यक्तिबाट देशका लागि विदेशी माटोमा जित्ने लक्ष्य लिइ आफ्नो खुन पसिना बगाएको क्षणमाथि अवमुल्यन गरेको भद्दा मजाकबाहेक केही हुन सक्दैन भन्ने मेरो बुझाइ रहेको छ।'

लगत्तै एन्फाको प्रवक्ता पदबाट किरण राईले पनि राजीनामा दिएका हुन्। प्रवक्ता राई पनि एन्फाको पछिल्लो निर्णयबाटै असन्तुष्ट रहेको बुझिएको छ।

एन्फाको चुनावलाई मध्यनजर गर्दै पछिल्लो समयमा एन्फाको राजनीति तातेको छ। केहीहप्ता अघिमात्र पनि एन्फाका टेक्निकल कमिटीका अध्यक्ष तथा एन्फा उपाध्यक्ष कृष्ण थापाले कमिटीबाट राजीनामा दिए। र, कारण देखाए: व्यवस्थापनबाट अवरोध र परामर्शबिनैको एकलौटी निर्णय।

त्यस्तै होस्टल व्यवस्थापन समितिबाट पनि संयोजक दिनेश ब्यन्जनकार लगायतले आफ्नो क्षेत्रमा अन्य व्यक्ति हावी भएको भन्दै राजीनामा दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell