PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

एन्फा विवाद : प्रवक्ताबाट राजीनामा दिएका किरण राईले 'फुटबलको संकट टार्न' माग गरे एन्फाको 'अर्ली इलेक्सन'



पहिलोपोस्ट

एन्फा विवाद : प्रवक्ताबाट राजीनामा दिएका किरण राईले 'फुटबलको संकट टार्न' माग गरे एन्फाको 'अर्ली इलेक्सन'

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रवक्ताबाट किरण राईले राजीनामा दिँदै 'अर्ली इलेक्सन'को माग गरेका छन्। एन्फा प्रवक्ताका रुपमा ३ वर्ष तीन महिना बिताएका उनले सातदोबाटोस्थित एन्फा मुख्यालयमा पत्रकार सम्मेलन गरेर 'अर्ली इलेक्सन'को माग गरेका हुन्।

पछिल्लो समय एन्फा कार्यसमिति दुई खेमामा बाँडिदा तटस्थ देखिएका राईले केन्द्रीय सदस्यको भूमिकामा फुटबलमा सक्रिय भएर लाग्नका लागि राजीनामा दिएको बताए। उनले आफू अगाडि कुनै खेमामा पनि नजाने भन्दै आफूसँग 'सहीलाई सही र गलतलाई गलत भन्नसक्ने हैसियत भएको' दाबी गरे।

पछिल्ला निर्णयहरुमध्ये वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबिचको विवादको सहजै समाधान खोज्न सकिने अवस्थामा मन्त्रालय गुहार्ने एन्फा कार्यसमितिको निर्णयले गलत नजिर बसेको उनले दाबी गरे।

'पछिल्लो विवाद सहजै समाधान हुन सक्थ्यो। मन्त्रालयलाई छानविन गर्न दिने केन्द्रीय कमिटीले निर्णय लियौ। यो गल्ती भयो।' राईले भने, 'विधानमा सबैकुरा स्पस्ट छ। यसले खराब नजिर बस्यो। फुटबलको विवाद भित्रबाटै मिलाउन पर्दथ्यो।'

राईले यो छानविन मन्त्रालयबाट राष्ट्रिय खेलकुद परिषदहुँदै फेरि एन्फामै आएर ठोक्किने दाबी गरे।

उनले प्रशिक्षक, शेर्पा पक्ष, नेम्बाङ पक्ष यहीँ रोकिनु पर्ने र थप विवाद चर्काउनु नहुने सुझाव दिए।

राजीनामाको श्रृंख्ला

पछिल्लो समय प्रशिक्षक र वरिष्ठ उपाध्यक्षको विवाद चलिरहँदा एन्फामा राजीनामा दिने ट्रेन्ड नै भइसकेको छ।

हिजोमात्र एन्फाका सहमहासचिव वसन्त अर्यालले छानविनका लागि मन्त्रालय गुहार्ने केन्द्रीय कार्यसमितिको निर्णयमा असन्तुष्ट बन्दै राजीनामा दिएका थिए। केहीहप्ता अघिमात्र पनि एन्फाका टेक्निकल कमिटीका अध्यक्ष तथा एन्फा उपाध्यक्ष कृष्ण थापाले कमिटीबाट राजीनामा दिए। र, कारण देखाए: व्यवस्थापनबाट अवरोध र परामर्शबिनैको एकलौटी निर्णय।

त्यस्तै होस्टल व्यवस्थापन समितिबाट पनि संयोजक दिनेश ब्यन्जनकार लगायतले आफ्नो क्षेत्रमा अन्य व्यक्ति हावी भएको भन्दै राजीनामा दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell