PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

आफ्नो भनाइलाई पूर्व खेलाडी र प्रशिक्षकहरुले गलत बुझेको भन्दै प्रशिक्षक अलमुताइरीले मागे माफी



पहिलोपोस्ट

आफ्नो भनाइलाई पूर्व खेलाडी र प्रशिक्षकहरुले गलत बुझेको भन्दै प्रशिक्षक अलमुताइरीले मागे माफी

काठमाडौं : नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले पूर्व खेलाडी र प्रशिक्षकले आफूले अन्तर्वार्तामा भनेका कुराहरुलाई गलत अर्थमा बुझेको भन्दै माफी मागेका छन्। यसअघि 'प्रशिक्षक र खेलाडी नयाँ ठाउ हेर्न जाने र कम भन्दा कम गोल खाने लक्ष्य लिएर जाने गरेको' भन्ने आशयमा अन्तर्वार्ता दिएपछि उनले पूर्व खेलाडी र प्रशिक्षकको आलोचना सहनु परेको थियो। उनीविरुद्ध पूर्व खेलाडी र प्रशिक्षक आक्रोशित बनेका थिए।

यसमा उनले आफ्नो 'इन्टेन्सन' खराब नभएको भन्दै आफूले नेपाल लगायतका एसियाली टिमहरुको पछिल्लो तीन दशकको अवस्थाबारे बताउन चाहेको फेसबुक स्टाटसमा उल्लेख गरेका छन्।

उनले केही दिन यता आफ्नो भनाइलाई गलत तरिकाले बुझिएको बताउँदै त्यसका लागि माफी समेत मागेका छन्।

'म नेपालीहरु खासगरि पूर्व खेलाडी, प्रशिक्षक र ती सबै जसले मेरो इन्टेन्सनलाई गलत तरिकाले बुझे, उनीहरुसँग म माफी माग्न चाहन्छु,' अलमुताइरीले फेसबुक स्टाटसमा लेखेका छन्।

अलमुताइरी पछिल्लो समय एन्फामा विवादको केन्द्रमा छन्। साउन १० गते एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले दु:ख दिएकाले राजीनामा दिने बताएका उनले एन्फामा छानविनका लागि भन्दै निवेदनसमेत दिएका थिए। यही मुख्य एजेन्डा लिएर बसेको एन्फा कार्यसमितिको आकस्मिक बैठकले प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको विवादको छानविन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गरेको छ।

आइतवार सहायक महासचिव पदबाट राजीनामा दिएका वसन्त अर्यालले अलमुताइरीको यो वक्तव्यलाई पनि आफ्नो राजीनामामा उल्लेख गरेका थिए।

'यसैबिच प्रशिक्षकले खेलाडी नयाँ ठाउ हेर्न जाने र कम भन्दा कम गोल खाने लक्ष्य लिएर जाने गरेको भन्ने अभिव्यक्तिबाट देशका लागि विदेशी माटोमा जित्ने लक्ष्य लिइ आफ्नो खुन पसिना बगाएको क्षणमाथि अवमुल्यन गरेको भद्दा मजाकबाहेक केही हुन सक्दैन भन्ने मेरो बुझाइ रहेको छ।' राजीनामामा उनले लेखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell