PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

दार्चुला घटना : कहाँ पुग्यो छानबिन र गठित समिति ?



पहिलोपोस्ट

दार्चुला घटना : कहाँ पुग्यो छानबिन र गठित समिति ?

काठमाडौं : सरकारले दार्चुला घटनाको छानबिन गर्न पाँच सदस्य टोली गठन गरिसकेको छ।

टोली अनुसन्धानको लागि अहिले दार्चुला गएको छ। मंगलबार काठमाडौँबाट धनगढी हुँदै टोली दार्चुला निस्किएको हो। हिजो बेलुका छानबिन समितिको टोली डडेलधुरा पुगेको छ। आज दार्चुला सदरमुकाम खलंगा पुग्ने अनुमान गरिएको छ।

१० दिन भित्र प्रतिवेदन पेस गर्न गृहमन्त्री स्तरको निर्णयबाट गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य रहेका छन्।

'उहाँहरू डडेलधुराबाट हिँड्नु भएको जानकारी आएको छ। आज बेलुकासम्म आइपुग्नु हुनेछ। त्यसपछि छलफल गरेर काम सुरु गर्छौँ,' छानबिन समितिकी सदस्य तथा जिल्ला प्रशासन कार्यालय दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टले भनिन्।

सरकारले छानबिन समिति गठन गरेपछि यसअघि छानबिन गरिरहेका टोलीले अहिले काम गरिरहेका छैनन्। उनीहरू संयुक्त रूपमा सहसचिवको नेतृत्वमा रहेको टिमसँग काम गर्ने प्रतीक्षामा रहेका छन्। सशस्त्र प्रहरीका एसपीले भने घटना भएको स्थानमा स्थलगत अनुगम गरेर फर्किसकेका छन्।

गत शुक्रवार बिहान दार्चुलाको ब्यास गाउँपालिका २ मालघाटमा तुइन प्रयोग गर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीय जयसिंह धामी बेपत्ता भएका थिए। भारतीय पक्षले भने घटनामा एसएसबीको संलग्नता नरहेको जवाफ नेपाल तर्फको स्थानीय प्रशासनलाई दिइसकेको छ। त्यसैको छानबिन गर्न सहसचिवको नेतृत्वमा टोली गठन गरिएको थियो।

घटना भएको देख्ने प्रत्यक्षदर्शीलाई समेत सदरमुकाम ल्याइसकिएको छ। तीन जना प्रत्यक्षदर्शीलाई ल्याएर उनीहरूको बयान लिने समिति सदस्य भट्टले जानकारी दिइन्। उनीहरू पनि तुइन तर्नको लागि प्रतीक्षामा थिए। दुई पुरुष र एक महिलालाई बयानको लागि सदरमुकाम ल्याइएको हो।

'अब उहाँहरू आइपुगेपछि बेलुका छलफल हुन्छ। त्यसपछि कसरी अगाडी बढ्ने भन्ने निर्णय हुन्छ,' समिति सदस्य भट्टले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell