काठमाडौं : असार १७ गतेदेखिको निरन्तरको बाढीले मेलम्ची र हेलम्बुका करिब एकसय घर र टहरा बगाएको छ। यसअघि असार १ को बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरीका ४५० घरपरिवार विस्थापित भएका थिए। सयौँ रोपनी खेतीयोग्य जग्गा बगरमा परिणत भएको थियो। फेरि लगातारको बाढीले हेलम्बुको माथिल्लो भेगदेखि मेलम्ची,दोलालघाटसम्म जोखिम बढाएको छ।
खोला भन्दामाथि हेलम्बु चुरेटारमा बसोबास गर्दै आएकी सुप्रभा गिरीले भने, 'खेत त सबै लग्यो, घर पनि जोखिममा छ। बाढीले ढुङ्गा बगाएर ल्याउँदा भूकम्प जसरी थर्काउछ। निन्द्रा लाग्दैन।' उनले जतिसक्दो चाँडो भ्रेमाथानको पहिरो अनुगमन गरि पीडितलाई उचित ठाउँमा व्यवस्थापन गर्न माग गरिन्।
लगातारको बाढीले सोमबार राति मेलम्ची बजारका सात घर बगाएको छ भने बजारका धेरै घर जोखिममा छन्। त्यस्तै हेलम्बु र मेलम्चीको सिमानामा रहेको ग्याता गुम्बा, हेलम्बु किउलका धनपति भण्डारीलगायतको घर र टहरा, तालामाराङ तेर्से स्कूल छेउका दुई घर र नेपानेका केही घर पनि बगाएको छ भने अन्य धरै घर जोखिममा छन्।
यसैगरि एघार पिपलबोटका हरिशरण श्रेष्ठसहितको ६ घर र पुरानो बजारको एक घर बगाएको छ। हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा धैरै घर टहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए। क्षतिको अन्य विवरण आउने क्रममा रहेको उनको भनाइ थियो।
प्रहरी उपरीक्षक अधिकारीका अनुसार चनौटे ग्याल्थुम र ढुङ्ग्रेर बजार, नेपाने, तालामाराङ, मेलम्ची र बाहुनेपाटीका अधिकांश तटीय क्षेत्रमा रहेका घर, विद्यालय, सामुदायिक भवन, खेत, बाटो र बिजुलीका पोल जोखिममा छन्। बाढीले मेलम्ची-१२ मा रहेकामध्ये पहाडी लोकमार्ग तथा मेलम्ची, ईन्द्रावती, चौतारा र पाँच पोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल पनि जोखिममा परेको छ।
मेलम्ची, चनौटे, तालामाराङका बस्ती जोगाउन लागेको स्थानीयवासीको प्रयास सबै असफल भएको छ। हिँउदमा त्यही घरमा गएर बस्ने पीडितहरूको सपना अधुरै भएको छ।
'नदीको धार परिवर्तन भएपछि त्यही घरमा बस्ने सोचले निरन्तर खोला छेक्नका लागि हामीले पहल गरिरहेका थियौं तर आज घर खोलामै मिल्यो', हरिशरण श्रेष्ठले गुनासो पोखे।
अहिले पनि मेलम्ची नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली मेलम्ची बजार जोगाउन लागि परेका छन्। अहिलेसम्मका तटबन्ध सबै खोलाले बगाएको छ।
हाल सुरक्षित स्थानको खोजीमा पीडित लागिपरेको स्थानीयले बताएका छन्। सडक संजाल र विद्युतबाट वञ्चित पीडितको अवस्था निकै कष्टकर छ। एकजना बिरामी भए पनि उपचारका लागि अस्पताल पुर्याउन हेलिकप्टरभन्दा अरु विकल्प नभएको र खाद्य संकट हुनसक्ने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए।
उनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरण गर्नुपर्नेमा जोड दिए।
स्थानियका अनुसार उक्त क्षेत्रामा पक्की पुल सबै खोलाले लगिसक्यो भने बाँकी झोलुङ्गे पुल पनि केही ठाउँमा मात्र छन्। पैदल हिँड्ने बाटोसमेत नपाएका पीडितले निकै कष्ट भोग्नुपरेको उनीहरु बताउँछन्। असार १ गते राति बाढी आएपछि सबैभन्दा धेरै क्षतिभएका पीडितले अहिलेसम्म राहत र उद्धारका काम नगरिएकाले सरकार मुकदर्शक बनेको आरोप उनीहरुले लगाएका छन्।
बाढी आएपछि सांसद, मन्त्री, उपप्रधानमन्त्रीका साथै तत्कालीन प्रधानमन्त्री केपी शर्मा वलीसमेतले प्रभवित क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए। सरकारका तर्फबाट आफूहरूका लागि पाँच लाख वितरण गर्ने घोषणा गरेको भएपनि त्यो रकम कहिले पाउने अहिलेसम्म अत्तोपत्तो नभएको पीडित बताउँछन्। बाढी आएको ५० दिन भइसक्दा पनि सरकारबाट पहल नहुँदा आफूहरू झनै पीडित भएको उनीहरूको गुनासो छ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले बाढी आएको मुहान क्षेत्र भ्रेमाथानको अध्ययन नगरी तल्लो भेगमा कुनै पनि काम थाल्ने अवस्था नभएको बताए। तारजाली राखेर बस्ती जोगाउने प्रयास गरिए पनि हिमाली क्षेत्रलाई व्यवस्थित नगरी तटीय क्षेत्रमा गरेको कामको प्रभावकारीता नहुने उनले बताए।