PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

अधुरो सपनालाई पूरा गर्न 'बामे सर्दै' सफल कप्तान : थ्याङ्क यू पारस



मुकुन्द घिमिरे

अधुरो सपनालाई पूरा गर्न 'बामे सर्दै' सफल कप्तान : थ्याङ्क यू पारस

काठमाडौं : कुनै समय नेपाली क्रिकेटकै 'पर्याय' बनेका थिए पारस खड्का। ओझेलमा रहेको नेपाली क्रिकेटलाई विश्वसामु चिनाउन उनले खेलेको भूमिकाले नै उनलाई क्रिकेटको 'पर्याय' बनाएको थियो। उनै पारसले आजबाट अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्। उनको 'रिटायरमेन्ट' घोषणासँगै खेल क्षेत्रमा तरंग उत्पन्न भएको छ।

३३ वर्षे पूर्व कप्तान खड्काले आज सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन्। डिभिजन ५ बाट आफ्नो कप्तानीमा नेपाललाई एक दिवसीय टुर्नामेन्ट (ओडीआई) सम्म डोहोर्‍याएका  पारसको संन्यासलाई नेपाली क्रिकेटमा एउटा 'युग'को अन्त्य भएको रुपमा क्रिकेट प्रेमीहरुले व्याख्या गरेका छन्। 

१५ वर्षको उमेरदेखि नै राष्ट्रिय जर्सीमा देखिएका पारसलाई नेपाली क्रिकेट इतिहासको सफल कप्तानका रुपमा लिइन्छ। क्रिकेटमा सफल मानिएका उनै पारसको संन्यासलाई लिएर अहिले विभिन्न कोणबाट विश्लेषण भइरहेको छ। 

नेपाल क्रिकेट संघ क्यानको नेतृत्वमा आउने पारसको चाहना अहिले चर्चामा छ। क्यानको विधान बमोजिम आगामी निर्वाचनमा उम्मेद्वारी दिनका लागि खेलबाट संन्यास लिएको दुई वर्ष अवधि पूरा भएको हुनुपर्छ। त्यसैलाई मध्यनजर गर्दै पारसले संन्यास लिएको भन्ने पनि देखिन्छ।

एक त पारसले सक्रिय खेल जीवनपछि क्यानको नेतृत्वमा जाने भनेर वक्तव्य दिँदै आएका थिए भने उनको संन्यास र त्यसपछि बाँकी रहेको अवधिले पनि त्यही संकेत गरेको छ। त्यसो त संन्यास लिँदै गर्ने खड्काको पोष्टले पनि त्यही संकेत गर्छ।

'मेरो जीवनमा मैले देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नति हो।तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता छ। इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पुर्‍याउने छौं,' खड्काले नेतृत्वमा जान चाहेको संकेत गर्दै लेखेका छन्, 'अन्तर्राष्ट्रिट क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ। तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै पनि बामे सर्दैछन्।'

त्यसमा पनि ३३ वर्षे पारसले खेलाडी जीवनको उत्तरार्धतिर पुगेको महसुस गरेको हुनुपर्छ। यद्यपि अझै केही वर्ष उनले क्रिकेटमै रहेर आफ्नो अनुभवलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्ने अवस्था नभएको भन्ने होइन।

खैर, उनको अगाडिको योजना जे भए पनि नेपाली क्रिकेटमा उनको योगदान महत्वपूर्ण छ।

क्यानभित्रको राजनीतिक किचलोका बिच उनको कप्तानीमा नेपालले डिभिजन ५ बाट 'ओडिआई' मान्यताप्राप्त मुलुकसम्म नेपाल आइपुगेको छ। उनकै कप्तानीमा नेपाली क्रिकेटले टी २० विश्वकपमा सहभागिता जनाउनसमेत सक्षम भयो।

उपलब्धीका चाङहरुबिच उनी विवादमा नआएका भने होइनन्। कुनै समय क्यानविरुद्ध उजुरी गरेकै कारण हालको क्यान नेतृत्वसँग उनको सुमधुर सम्बन्ध नरहेको बताइन्छ। क्यानको नयाँ नेतृत्व आएसँगै खड्काले नेपाली टोलीको कप्तानीबाट राजीनामा दिने घोषणा गरेका थिए। त्यस्तै केही समय अघि 'बलियो नेपाल' भन्ने संस्थासँगको उनको संलग्नतालाई लिएर एभरेस्ट प्रिमियर लिगका सिईओ अमिर अख्तरले क्यानमा उजुरी नै गरेका थिए। खड्काले यसको प्रतिकृया स्वरुप विज्ञप्ति नै निकालेर आफ्नो चरित्र हत्याको प्रयास गरिएको बताएका थिए।

सन् २००२ मा नेपालको यू १५ बाट खेल्न थालेका उनले १० ओडीआई र ३३ टी २० इन्टरनेशनल खेले। त्यसबिचमा २००९ बाट २०१९ सम्म राष्ट्रिय टोलीको कप्तानीसमेत गरे। उनले टी २० इन्टरनेशनलमा ७९९ रन र ओडीआईमा ३१५ रन जोडेका छन्। जुन नेपालको तर्फबाट दुबै फर्म्याटमा सर्वाधिक हो।

खड्काको कप्तानीमा सन् २०१४ मा नेपालले टी २० आईको स्टाटस पाएको थियो भने सन् २०१८ मा ओडीआईको। खड्काको अन्तिम अन्तर्राष्ट्रिय खेल सन् २०२० को मार्चमा थाइल्याण्डविरुद्धको खेल थियो।

पहिलो पटक ओडिआई स्ट्याटस हात पार्दै २०७४ साल चैत ५ गते नेपाली क्रिकेट टोली स्वदेश फर्किएको बेला पारसले आफ्नो महत्वकांक्षी सपना सुनाएका थिए। 'अबको लक्ष्य वान डे वर्ल्डकप खेल्ने र टेष्ट नेशन बन्ने' उनको योजना थियो। 

'ओडिआई स्ट्याटस पाएका छौँ। अबको ४ वर्ष अझै राम्रो क्रिकेट खेल्नेछौँ। पारसले भने अबको लक्ष्य भनेको वान डे वर्ल्ड खेल्ने र टेष्ट नेशन बन्ने हो' उनले त्यसबेला भनेका थिए। 

भलै उनले भनेको चार वर्षमा नेपालले न वान डे वर्ल्डकप खेल्न र टेस्ट नेशन बन्न सकेन। तर, उनको योजना कुनै दिन पूरा नहोला भन्न सकिन्न।

'सेतो जर्सी' लगाएर टेस्ट क्रिकेट खेल्ने सपना अधुरै छाडेर पारस क्रिकेटको पिचबाट विदा भएका छन्। सायद सपना पूरा गर्न नयाँ भूमिकाका लागि तयारी गर्न। त्यसैले त अहिले सामाजिक संजालमा 'थ्याङ्क यू पारस' ट्रेन्ड भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell