PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

वाग्मती प्रदेशबाट पार्टी जोगाउन सन्देश दिन्छौँ : अष्टलक्ष्मी शाक्य



निशा गुरुङ

वाग्मती प्रदेशबाट पार्टी जोगाउन सन्देश दिन्छौँ : अष्टलक्ष्मी शाक्य
फाइल फोटो।

हेटौँडा : वाग्मती प्रदेशको नेकपा एमाले माधव नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले वाग्मती प्रदेशले एकताको सन्देश दिने बताएकी छिन्। नेतृ शाक्यले यसरी नै नेकपा एमाले चल्ने हो भने पार्टी नै विस्थापित हुने अवस्था आउन सक्ने भन्दै व्यक्तिगत रिसिइबी भन्दा पनि पार्टी जोगाउने तिर लाग्नुपर्ने बताइन्।

‘केन्द्रमा चर्को विवाद रहेपनि हामीले प्रदेशमा छक्कै पार्ने गरी नीति तथा कार्यक्रम र बजेट पास गराउन समर्थन दिएका थियौँ, फेरि पनि हामी पार्टी एकता जोगाउनेतिरै लागेका छौँ,’ शाक्यले भनिन्।

प्रदेश सरकारको समय अवधि डेढ बर्ष मात्रै रहेको हुँदा आफू मुख्यमन्त्री बन्न नचाहेको उनले बताइन्। उनले नेकपा एमाले ओली समूहसँगै छलफल भइरहेको र पार्टी जोगाउन मन्त्रिपरिषद् विस्तार गरी अबको डेढ वर्षको अवधिमा भएको कमी कमजोरीलाई जोगाउनुपर्ने बताइन्।

तर, नेपाल पक्षकै सांसद राजेन्द्र पाण्डेले भने मन्त्रिपरिषद् विस्तार गर्न मुख्यमन्त्री पनि परिवर्तन गर्नुपर्ने बताएका छन्। नेतृ शाक्यले मुख्यमन्त्रीमा दावी नगर्दा मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी रहने सम्भावना रहेको छ। उनले वाग्मती प्रदेशमा नेकपा एमालेकै सरकार बनाउन मन्त्रिपरिषद् बढाउने र मुख्यमन्त्री पनि परिवर्तन भएमा मात्रै एकता हुने बताएका छन्।

नेकपा एमाले वाग्मती प्रदेशका सचेतक दीपक निरौलाले मुख्यमन्त्रीले कानुन अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने अधिकार भएको हुनाले उपयुक्त समयमा पुनर्गठन गर्ने तयारी भएको बताए। सचेतक निरौलाले वाग्मती प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन तयारी भएको तर मुख्यमन्त्री बदल्ने तयारी भने नभएको दावी गरेका छन्।

वाग्मतीका १०९ सांसदमध्ये एमालेका सभामुखसहित ५६ जना छन्। तीमध्ये अध्यक्ष केपी शर्मा ओलीको पक्षमा ३४ र माधव नेपाल-झलनाथ खनाल समूहमा २२ सांसद छन्।

नयाँ सरकार गठनका लागि ५५ सांसद भए पुग्छ। केन्द्रमा नेपाल पक्षका समूहले नेपाली कांग्रेसको सरकार गठन गर्न समर्थन गरेको अवस्थामा वाग्मती प्रदेशमा पनि समर्थन गर्ने भन्दै विपक्षी गठबन्धनहरुले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी हुँदा हाल प्रदेशमा नेपाल समूहले पार्टी एकतालाई जोगाउने देखिएपछि विपक्षी गठबन्धन शान्त भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell