PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

भाइबर र स्काइपबाट हुने फोन रोक्न दूरसंचार प्राधिकरणको सूचना, 'सेवा दिने भए लाइसेन्स लिनुपर्छ'



उन्नत सापकोटा

भाइबर र स्काइपबाट हुने फोन रोक्न दूरसंचार प्राधिकरणको सूचना, 'सेवा दिने भए लाइसेन्स लिनुपर्छ'

काठमाडौं : नेपालमा दूरसंचार सेवाको अनुमति नै नलिइ भाइबर, स्काइप जस्ता एपहरुबाट अवैधरूपमा फोनकल हुने गरेको पाइएको छ।

भाइबर, स्काइप जस्ता एपहरुमा क्रेडिट (रिचार्ज कार्ड) खरिद गरेर नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकमको नेटवर्कमा विश्वका जुनकुनै ठाउँबाट अन्तर्राष्ट्रिय फोन कल आइरहेको गुनासो पछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले चेतावनीसहितको सूचना मंगलबार निकालेको छ।

भाइबर, स्काइप वा अन्य कुनै एपबाट नेपालमा दूरसञ्चार सेवाका लागि अनुमति लिएका नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले दिइरहेको सेवा सरह नै यी ओटीटीहरुले सेवा दिनु अवैध भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले यस्ता एपहरुबाट मोबाइल/फिक्स्ड (ल्यान्डलाइन) टेलिफोनमा फोनकल आइरहेको घटना दूरसञ्चार ऐन विपरीत रहेको भन्दै चेतावनीसहित सूचना जारी गरेको हो। 

नेपाल भित्र भाइबर, स्काइप लगायतका एपहरुमा विद्युतीय माध्यमहरु डेबिट वा क्रेडिट कार्ड, डलर कार्ड र गुगल प्लेबाट रिचार्ज गर्न सकिने अप्सन देखिन्छ।

नेपाल दूरसंचार प्राधिकरणको अनुगमन महाशाखा प्रमुख विजयकुमार रोयले भाइबर, स्काइप जस्ता कम्पनीहरु नेपालमा दर्ता नभएकाले कुनै पनि प्रकारको सेवा दिनु अवैध भएको बताउँछन्। 

इन्टरनेटको माध्यमबाट एपबाट एपमा हुने कल, मेसेजलाई रोक नलगाए पनि एपबाट देशभित्र रहेका मोबाइल वा ल्यान्डलाइनमा फोन गरिनु अवैध भएको उनको भनाइ छ। 

'एपबाट मोबाइल वा ल्यान्डलाइनमा कल गर्न मिल्ने भयो भने भाइबर वा स्काइप त दूरसंचार कम्पनी नै भयो नि। नेपालमा दर्ता पनि नहुने लाइसेन्स पनि नलिने तर, सेवा भने दिने, यो त भएन, यस्तो गर्न पाइँदैन,' रोयले भने।  

प्राधिकरणले यस प्रकारको कार्य दूरसंचार ऐन तथा नियम विपरीतको कार्य भएकाले यस्ता कार्य नगर्न र नगराउन सबैलाई सचेत गराएको छ। अन्यथा कानून बमोजिम कारबाही गर्ने प्राधिकरणको चेतावनी छ।

भाइबर र स्काइपले नेपालका दूरसंचार कम्पनीमा फोनकल गर्न विभिन्न अफर सार्वजनिक गरेका छन्। भाइबर र स्काइपले 'वर्ल्ड स्काइप क्रेडिट' का साथै देशअनुसार क्रेडिट प्याकेज तोकेको छ। प्राधिकरणले फोनकल मात्रै रोक्न आफ्नो सूचनामा समावेश गरे पनि यी एपहरुले मेसेजका लागि पनि क्रेडिट खरिद गर्न मिल्ने सुविधा दिँदै आएका छन्।

स्काइपले तोकेको प्याकेजको मूल्य


प्याकेज खरिद गर्न दिइएका भुक्तानी सेवा प्रदायकको सूची


भाइबरले नेपालमा कल गर्न उपलब्ध गराएको प्याकेज


नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले पनि कुनै पनि एपबाट नेपालका दूरसंचार सेवा प्रदायकको नेटवर्कमा फोन गरी कुराकानी गर्ने कार्य अवैध भएको प्रतिक्रिया दिएका छन्। 

दूरसञ्चार सेवा सञ्चालनको अनुमति पाएका कम्पनीले मात्रै यस्तो सेवा दिन सक्ने अधिकारीले बताए। 

'विदेश जाँदा तपाईंले भाइबर वा स्काइप राउट गर्नुहुन्छ भने उतैतिरको रिचार्ज कार्ड वा पैसा टपअप गरेर दूरसञ्चार कम्पनीको गेटवे हुँदै कल आउँछ। तर, नेपालमा भइरहेको अभ्यास भने फरक हो,' उनले भने, 'भाइबर वा स्काइपले यस्ता सेवा नेपालमा सञ्चालन गर्न दूरसंचार सेवाको अनुमतिपत्र लिनुपर्छ।' 

टेलिकम, एनसेल वा स्मार्टले जसरी दूरसञ्चार सेवाको लाइसेन्स लिएका छन् त्यही बाटोबाट भाइबर, स्काइप वा अन्य एपहरु आउनुपर्ने प्राधिकरणले जनाएको छ। 

भाइबर, स्काइप वा अन्य एपहरुबाट आउने यस्ता कलहरुमा फोन नम्बर नदेखिने भएकाले सूरक्षासम्बन्धी जोखिम बढी हुने विज्ञ बताउँछन्। अज्ञात व्यक्तिबाट आउने फोनकलले विभिन्न आपराधिक गतिविधिलाई प्रश्रय दिने भएकाले सचेत रहन प्राधिकरणले नागरिकहरुलाई आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell