PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

तीन - चार जना यात्रु लिएर काठमाडौंबाट महेन्द्रनगरसम्म छुट्छन् बस, 'खर्चै उठ्दैन, चलाउनुभन्दा थन्काउनु बेस'

तीन - चार जना यात्रु लिएर काठमाडौंबाट महेन्द्रनगरसम्म छुट्छन् बस, 'खर्चै उठ्दैन, चलाउनुभन्दा थन्काउनु बेस'

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौंः महेन्द्रनगरका उमेश श्रेष्ठले चैत महिनामा ३२ लाख रुपैयाँ खर्चेर गाडी किने। आफूसँग भएको पैसाले गाडी किनेका भने होइनन्। बैंकबाट ऋण झिकेका थिए। मासिक ४० हजार रुपैयाँ किस्ता बुझाउने शर्तमा।

गाडीबाट कमाउँला र तिरौँला भन्नेमा ढुक्क थिए उमेश। तर सोचे झैँ कहाँ हुँदो रहेछ। गाडी किनेर गुड्न नपाउँदै देशभर कोरोनाको संक्रमण बढ्यो। काठमाडौंलगायत देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरियो। लामो दुरीका सार्वजनिक सवारीलाई गुड्न रोक लगाइयो।

त्यसपछि भर्खर किनेको गाडी ग्यारेजमै थन्काउनु पर्‍यो। आज खुल्ला, भोलि खुल्ला भन्दै तीन महिना बित्यो। 'गाडी चलेको छैन। उता बैंकको किस्ता तिर्न फोन आउँछ। एकदमै गाह्रो भयो,' मंगलवार काठमाडौंको नयाँ बसपार्कमा यात्रु कुरेर बसिरहेका उमेश भन्दैथिए।

साउन ७ गतेदेखि लामो दुरीका सार्वजनिक सवारीलाई गुड्न दिएको छ। तर यात्रुको चहलपहल छैन। मुस्किलले ४ देखि ५ जना यात्रु लिएर काठमाडौंबाट महेन्द्रनगर पुग्नु परेको पीडा सुनाए सुरेशले।

'तेले हाल्नै पर्‍यो। खानै पर्‍यो। यसरी कसरी किस्ता तिर्नु? सके तिरौला भनेको छु बैंकलाई,' उमेशले भने।

उमेशको मात्र होइन अर्का गाडी चालक सागर बोगटीको अवस्था पनि उस्तै छ। उनी पनि गाडीमा दुई जना यात्रु राखेर काठमाडौंबाट महेन्द्रनगर जाने तरखरमा भेटिएका थिए। उनलाई अरू यात्रु थपिएला भन्ने आस पनि रहेनछ। किनकि दुईदेखि पाँच जना यात्रु बोकेर हिँडेको केही दिन भइसकेको रहेछ।

'मेरो घर महेन्द्रनगर नै हो। यहाँ बसेर झन् खर्च हुन्छ। त्यसैले जति जना यात्रु भेटिन्छ त्यति नै लिएर जानु पर्‍यो,' सागरले भने।

उनी साहुको गाडी चलाउँदै आएका छन्। काठमाडौंबाट महेन्द्रनगर पुग्दा ५० हजार रुपैयाँसम्म खर्च हुने गरेको छ। उताबाट फर्किँदा भने केही यात्रु भेटिन्छन्। तर पनि खर्चसमेत नउठ्ने गरेको उनको गुनासो छ।

'५० देखि ६० हजार रुपैयाँ खर्च हुन्छ। यात्रुबाट मुस्किलले ४० हजार रुपैयाँ मात्र उठ्छ। अहिले गाडी चलाउनुभन्दा थन्काउनु नै बेस जस्तो लाग्न थाल्यो,' सागरले भने। साउन ७ गतेदेखि लामो तथा मध्यम दुरीका सार्वजनिक सवारी चल्न दिइएको छ। तर संक्रमणका त्रासका कारण गन्तव्य निस्कने यात्रु भेटिँदैनन्।

काठमाडौं उपत्यका भित्रिने यात्रुको सङ्ख्या सार्वजनिक सवारी चल्न थालेपछि तीन गुणाले लकडाउनमा भन्दा बढेको छ। तर सामान्य अवस्थामा फर्किन सकेको छैन। सामान्य अवस्थामा फर्किन नसक्दा राजधानी बाहिरिने यात्रुको चाप कम भएको बताइन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell