PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

'मेन्टल्ली ५० नाघेका' पारसको प्रतिक्रिया : प्यासन सकियो अब करियर सुरु हुन्छ



मुकुन्द घिमिरे

'मेन्टल्ली ५० नाघेका' पारसको प्रतिक्रिया : प्यासन सकियो अब करियर सुरु हुन्छ

काठमाडौं : नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले धेरै सोचविचार गरेर  संन्यासको निर्णय लिएको बताएका छन्। आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै खड्काले कप्तानी छाड्दै गर्दा नै संन्यासको सोच आएको भए पनि 'मोरल सपोर्ट' का लागि टिममा रहेको बताए।

उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएपनि क्रिकेटको व्यवस्थापनमा आउने इच्छा व्यक्त गरे।

'सायद मैले पार्न सक्ने प्रभाव यति नै थियो भन्ने लाग्यो। अब मलाई व्यवस्थापनमा आउने मन छ,' खड्काले भने।

तर, क्रिकेट व्यवस्थापनमा आउनु पर्छ भन्ने धेरैको मत रहेपनि त्यसका लागि एक्लैले नसकिने र टिम चाहिने बताए। व्यवस्थापनमा आउनु चुनावी प्रक्रिया भएकाले जिल्ला, प्रदेश र केन्द्रसम्मकको प्रक्रियाको बाटो सजिलो नहुने बताए।

संन्यास केही छिटो भएन? भन्ने प्रश्नमा खड्काले ठट्टा गर्दै भने: म मेन्टल्ली ५० नाघिसकेँ।

त्यस्तै, आफ्नो जीवनकालमै टेस्ट खेलेको हेर्ने सपना देखेको बताउने खड्काले नोस्टाल्जिक बन्दै उनले नेपालले क्रिकेटमा २००५ मा प्रवेश गर्दैगर्दा ओडिआई स्टाटस पाएको भए अहिलेसम्ममा टेस्ट स्टाटस पाउन सक्ने बताए।

टेस्ट नेशन हुनका लागि मैदानमा खेलमात्र नभएर अन्य पूर्वाधार र ब्यवस्थापनमा पनि राम्रो हुनुपर्ने उनको तर्क थियो।

'व्यवस्थापन राम्रो भए नेपाल टेस्ट नेशन बन्नसक्छ' उनले भने।

नेपाली टोलीको प्रसंगमा नेपालमा पछिल्लोसमय सम्पन्न नेपाल, नेदरल्याण्ड्स र मलेसियाबिचको खेलको उदाहरण दिँदै उनले टिम राम्रो अवस्थामा रहेको तर यसको निरन्तरता चुनौती भएको बताए।

त्यस्तै, आफ्नो करियरको सुरुवातमा भन्दा अहिले विभिन्न फ्रेन्चाइज लिगहरुका कारण खेलाडीलाई राम्रा अवसरहरु रहेको बताए। तर, त्यसका लागि नेपालले अन्तर्राष्ट्रिय क्रिकेट जितेर आफ्नो उपस्थित बलियो बनाउनुपर्ने पारसले सुझाए।

आफ्नो अगाडिको योजनाबारे उनले संक्षेपमा भने : मेरो प्यासन सकियो, अब करियर सुरु हुन्छ।

३३ वर्षीय पूर्व कप्तान खड्काले मंगलवार सामाजिक संजालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका थिए।

डिभिजन ५ बाट आफ्नो कप्तानीमा नेपाललाई एक दिवसीय टुर्नामेन्ट (ओडीआई) सम्म डोहोर्‍याएका पारसको संन्यासलाई नेपाली क्रिकेटमा एउटा 'युग'को अन्त्य भएको रुपमा क्रिकेट प्रेमीहरुले व्याख्या गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell