काठमाडौं : सिङ्गापुरका लागि नेपालका गैरआवासीय राजदूत गणेश ढकालले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्।
२०७६ साल जेठ मा थाइल्याण्डका लागि आवसीय राजदूतको रुपमा नियुक्त भएका ढकालले त्यहाँ पुगेर आफ्नो जिम्मेवारी सम्हालिसकेका थिए। उनलाई २०७६ पुस २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सिंगापुरका लागि गैरआवसीय राजदूतको रुपमा नियुक्त गरेकी थिइन्।
कोभिड-१९ को संक्रमणका कारण उनले सिङ्गापुर पुगेर ओहोदाको प्रमाणपत्र पेश गर्न सकेका थिएनन्।
कोभिड-१९ को संक्रमण कायम रहेकै बेला नियुक्त भएको १७ महिना पछि भर्चुअल रुपमै उनले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।
भर्चुअल माध्यमबाटै त्यहाँका राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेको ढकालले जानकारी दिएका छन्।
ढकाल राष्ट्र संघको आर्थिक तथा सामाजिक मामिला सम्बन्धी एसिया र प्रसान्त क्षेत्रको कार्यालयका लागि नेपाली नियोग प्रमुखसमेत हुन्। त्यस्तै उनी लाओसका लागि पनि नेपाली गैरआवासीय राजदूत हुन्।
राष्ट्रपति कार्यालयबाट २०७६ पुस २३ गते जारी भएको ढकालको नियुक्ती सम्बन्धी सूचना।
