PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

सर्पे दमाईमाथि लछारपछार प्रकरण : कारवाहीका लागि उजुरी कुर्दै प्रहरी, भएको के थियो?



पी बी खड्का

सर्पे दमाईमाथि लछारपछार प्रकरण : कारवाहीका लागि उजुरी कुर्दै प्रहरी, भएको के थियो?

सुर्खेत : अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ। एक जना युवालाई केही व्यक्तिहरु मिलेर लछारपछार गर्दै बाँध्ने प्रयास गरेको देखिन्छ। जुन भिडियो जाजरकोटको जुनिचाँदे गाउँपालिका २ मजकोटका वडाअध्यक्षले स्थानीय युवालाई बाँध्न प्रयास गरेका हुन्।

साउन १५ गते वडा कार्यालयस्थित सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा स्थानीय युवा सर्पे दमाईले मदिरासेवन गरेर होहल्ला गरेपछि उनलाई नियन्त्रणमा लिन यसो गरिएको वडाअध्यक्षले दाबी गरेका छन्। भिडियोमा कुटपिट लक्षित घटना भएको खुलेको छ।

तर, वडाअध्यक्ष रामबहादुरले भने आफुले कुटपिट नगरेको दाबी गरेका छन्। वडाअध्यक्ष नेपालीले वास्तविकता नबुझेरै घटनालाई उचाल्ने काम भईरहेको बताए।

‘सर्पेले आफ्नै आमाबुवालाई समेत कुटपिट गरेर आएछ, उसका आमाबुवाले समेत कारवाही गर्नुपर्‍यो भनेपछि हामीले उसलाई नियन्त्रणमा लिएका हौँ। मैले उसको हातका ढुंगा समातेर फालेको मात्रै हो।’ उनले भने, ‘उसका आमाबुवा समेतलाई साक्षी राखेरै हामीले पछि नियन्त्रणमा लिएर जिम्मा लगाएका छौँ।’

ढुंगामुढा समात्न छोड्ला भनेर मात्रै आफुहरुले डोरी समाएको उनले बताए।
प्रहरीकै रोहवरमा मिलापत्र

घटना भएकै दिन मिलापत्र गराइएको खुलेको छ। पीडित सर्पे दमाईलाई आगामी दिनमा यस्तो गल्ती नगर्ने र नदोहोर्यारउने भन्दै सहिछाप गरेर मिलापत्र गराईएको हो।

जथाभावी ढुंगामुढा गर्दा स्थानीय सहित वडाअध्यक्षलाई लागेको भन्दै सोही दिन ईलाका प्रहरी कार्यालय पञ्चलादहको टोलीसहित स्थानीयहरुले सुध्रने मौका दिने गरी घटना मिलाएका हुन्।

सर्पेलाई आफ्नो गल्ती स्वीकार गरेपछि अबदेखि यस्तो गल्ती नगर्ने यदी गरे प्रचलित ऐन, नियम बमोजिम सजाय सहन भोग्न तयार रहेको मञ्जुरीनामा कागज गराईएको छ।

सर्पे र उनकी आमा चन्दा दमाईलाई कागजमा सही छाप गराएर सोही दिन आमाको जिम्मा लगाएको कागज बाहिरीएको छ।

‘सानालाई ऐन, ठूलालाई चैन’

घटना बाहिरीएसँगै विवादमा तानिएका वडाअध्यक्षले घटनालाई ढाकछोप गर्ने प्रयास गरेका छन्,भने प्रहरीले समेत घटनालाई छानविन गर्नतर्फ कुनै चासो दिएको छैन।

ठूलाबडाले जे गरेपनि हुने कानून नलाग्ने, सानाले केही गर्यो की कारवाही गरिहाल्ने उदाहरण यो घटनाले दिएको स्थानीयको आरोप छ। 
‘त्यो युवाले त्यस्तो ठूलो जघन्य अपराध त गरेको थिएन्, मदिरा खाएर कराएको मात्रै हो,’ मजकोटका एक स्थानीय भन्छन्, ‘वडाअध्यक्ष जस्तो व्यक्ति, हामीले नै निर्वाचित गराएको व्यक्तिले जनतामाथि गरेको दुर्व्यवहार असह्यै छ, उसलाई डोरी नै लगाएर बाँध्नुपर्ने त्यस्तौ कुनै अपराध गरे जस्तो लाग्दैन।’

वडाअध्यक्षलाई तत्काल कारवाहीको दायरामा ल्याउनुपर्ने पीडित पक्षको माग छ।
‘ठूला व्यक्तिले जे गरेपनि हुने कानून नलाग्ने, सोझा साझा जनताले सानोतिनो गल्तीमा पनि सजायको भागेदार बनेको यो घटनामा स्पष्टै देखियो, यसैलाई भन्छन्, सानालाई ऐन, ठूलालाई चैन।’

यता, जिल्ला प्रहरी कार्यालय जाजरकोटले प्रहरीसमक्ष उजुरी आईनसकेकाले अगाडि बढ्न नसकेको जनाएको छ। यदि प्रहरीमा उजुरी परे तत्काल छानविन गरेर कारवाहीको दायरामा ल्याईने जनाइएको छ।

‘अहिलेसम्म घटनामा संलग्न पीडितबाट कोहीकसैले उजुरी दिएको अवस्था छैन,’ कार्यालयका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले भने, ‘प्रहरीसम्म उजुरी आए घटनाको छानविन गरेर दोषीलाई कारवाही गर्छौं।’

भएको के हो?
यही साउन १५ गते शुक्रवार दिउँसो जुनिचाँदे गाउँपालिका–२को वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम चलिरहेको थियो। कार्यालय परिसरमा वृद्धवृद्धा, बालबालिका, अपांगता भएका व्यक्तिहरुले भरिभराउ थियो।

सोही बेला स्थानीय रंगे दमाईको छोरो वर्ष १८ को सर्पे दमाईले मदिरा पदार्थ सेवन गरी वडा कार्यालय परिसरमा प्रवेश गरेको स्थानीय बताउँछन्। उनले मदिरा सेवन गरेको झोंकमा तथानामको गाली गलौज गरी ढुंगामुढा गर्न थाले।

सामाजिक सुरक्षा भत्ता लिन आएका नागरिक आतंकित र त्रसित बने। यहीबिचमा सर्पेलाई यस्ता गतिविधि र क्रियाकलाप नगर्नभन्दै नियन्त्रणमा लिन खोजिएको थियो। तर, उनले कोही कसैले भनेको नमान्ने भन्दै थप अटेर गरेपछि डोरी नै लिएर त्रसित पार्नलाई बाँध्ने प्रयास गर्दागर्दै लछापछार भएको बताइएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell