PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्राविधिक शिक्षामा पहुँच पुर्‍याउन वाग्मती प्रदेशमा ‘छोरी-बुहारी छात्रवृत्ति कार्यक्रम’लाई निरन्तरता



निशा गुरुङ

प्राविधिक शिक्षामा पहुँच पुर्‍याउन वाग्मती प्रदेशमा ‘छोरी-बुहारी छात्रवृत्ति कार्यक्रम’लाई निरन्तरता

हेटौँडा : प्राविधिक शिक्षामा महिलाहरूको पहुँच बढाउन वाग्मती प्रदेश सरकारले छोरी-बुहारीहरुलाई छात्रवृत्ति उपलब्ध गराएर पढाउन थालेको छ। यो प्रभावकारी पनि देखिएको छ। प्रभावकारी भएका कारणले प्रदेश सरकारले यसलाई निरन्तरता पनि दिएको छ।

छोरी-बुहारी छात्रवृत्ति अन्तर्गत गत आव २०७७/०७८ मा १८६ जनाले अध्ययन गरेको शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी शारदाकुमारी मैनालीले जानकारी दिइन्। ५ सय जनाको कोटा रहेको उक्त छात्रवृत्ति कार्यक्रम अन्तर्गत जम्मा १८६ जना मात्रै छोरी-बुहारी छनोट भएका हुन्।

प्रदेश सरकारले विज्ञान, स्नातक प्राविधिक तथा व्यवसायिक शिक्षा लगायतका प्राविधिक विषयमा प्रदेशका छोरी-बुहारीलाई छात्रवृत्ति दिने गरेको छ। नीति तथा कार्यक्रममा नै छोरी-बुहारीको शिक्षामा जोड दिँदै प्रदेश सरकारले छोरी-बुहारी छात्रवृत्ति कार्यक्रम ल्याएको हो।

गत आर्थिक वर्ष २०७७/०७८ मा ३३५ जनाको कोटा रहेकामा प्रदेशमा स्नातक तहको विज्ञान विषय बाहेक ५ सय वटा आवेदन परेको थियो। जसमध्ये १७६ जनाले प्रतिव्यक्ति १९ हजारका दरले छात्रवृत्ति प्राप्त गरेका थिए।

छात्रवृत्ति प्राप्त गर्नेमा सबैभन्दा बढी मकवानपुरका १२४ जना तथा सिन्धुलीका १, चितवनका २, दोलखाका ११, ललितपुरका ११, काठमाडौंका ८, सिन्धुपाल्चोकका ८, काभ्रेका १३ र धादिङका ९ जना छोरी-बुहारीले छात्रवृत्ति प्राप्त गरेको शिक्षा विकास निर्देशनालयले जनाएको छ।

त्यस्तै, स्तानक तहको विज्ञान विषय अन्तर्गत छात्रवृत्तिमा ६ जनाले ४० हजार बराबरको छात्रवृत्ति प्राप्त गरेका छन्। जसमा ६४ वटा कोटामा २० जनाको आवेदन परेकोमा ६ जना छनोट भएका थिए।

त्यस्तै, स्नातक प्राविधिक तथा व्यावसायिक शिक्षा अन्तर्गत ४ जनाको कोटामा ४ जनाकै आवेदनमा ४ जना छनोट भएका थिए। उक्त विषयमा अध्ययन गर्नका लागि १ लाख ७६ हजार बराबरको छात्रवृत्ति प्राप्त गरेका छन्। गत आर्थिक वर्षमा छोरी-बुहारी छात्रवृत्तिका लागि सामाजिक विकास मन्त्रालयले १ करोड २५ लाख बजेट छुट्याइएको थियो।

आव २०७६/०७७ को तुलना कम छात्रवृत्ति

गत आर्थिक वर्ष २०७७/०७८ मा अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा भन्दा निकै कम छोरी-बुहारीले छात्रवृत्ति प्राप्त भएको सूचना अधिकारी मैनालीले बताइन्। गत आर्थिक वर्षमा ५ सय जनाको कोटामा जम्मा १ सय ८६ जनाले मात्रै प्राप्त गरेका थिए भने अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा भने ४ सय जनाको कोटामा ४ सय ४ जनाले छात्रवृत्ति प्राप्त गरेका थिए। कोटाभन्दा माथि आवेदन आएपछि कोटा थपेर छात्रवृत्ति प्रदान गरिएको थियो।

छात्रवृत्ति प्राप्त हुने ४ सय ४ जनामध्ये विज्ञान विषयमा ४० हजारका दरले २७ जनाले छात्रवृत्ति प्राप्त गरे। जसमा २७ जनाको कोटामा २७ जनाकै आवेदन परेको थियो।

त्यस्तै, विज्ञान बाहेक अन्य विषयमा २० हजारका दरले २६५ जना, डिग्रीमा अध्ययरत, एमए, एमबीबीएस लगायतका विषयमा १०९ जना र सीटीईभीटीमा ५ जना छोरी-बुहारीले छात्रवृत्ति प्राप्त गरेको सूचना अधिकारी मैनालीले जानकारी दिइन्। अघिल्लो आर्थिक वर्षमा भने गत आर्थिक वर्षभन्दा कम १  करोड मात्रै बजेट विनियोजन भएको मन्त्रालयले जनाएको छ।

फारम भर्ना नआउँदा छात्रवृत्तिबाट बञ्चित

सूचना अधिकारी मैनालीका अनुसार कतिपय छोरी-बुहारीले फारम समेत बुझ्न नसकिने गरी भरेका कारण धेरै जनालाई छनौट गर्न नसकिएको बताइन्।

‘कतिले त छनोट भएपनि नभएपनि भरि हेरौं भन्ने हिसाबले मात्रै भरेको पनि पाइएको छ’, उनले भनिन्, ‘वडाको सिफारिसमा समेत विपन्न परिवार नखुलाई बनाइने र वडाध्यक्ष पनि सिफारिस नै नहेरी सहि गरी पठाउने गर्दा कतिपय छनोट भएका छैनन्।’

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ भन्दा गत आर्थिक वर्ष २०७७/०७८ मा कोरोना महामारी कारण पनि अन्य जिल्लाका छोरी-बुहारी आउन नसकेको हुँदा छात्रवृत्तिबाट बञ्चित भएको सूचना अधिकारी मैनालीले बताइन्।

चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइने

प्रदेश सरकारले छोरी-बुहारी छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिन चालु आर्थिक वर्षमा पनि १ करोड २५ लाख बजेट छुट्याएको छ।

सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले व्यावसायिक शिक्षा हासिल गर्न सहयोगका साथै प्रेरणा मिलोस भन्ने उद्देश्यले छोरी-बुहारी छात्रवृत्ति कार्यक्रम ल्याइएको बताइन्। व्यावसायिक तथा प्राविधिक शिक्षामा छात्राहरूको संख्या वृद्धि गर्न र छोरी-बुहारीले पढ्ने अवसर पाउन् भनेर नै सरकारले ल्याएको नीति तथा कार्यक्रम अनुसार यो कार्यक्रम ल्याएको उनको भनाइ छ।

‘छोरी-बुहारी छात्रवृत्ति कार्यक्रम शिक्षामा महिलाहरूको पहुँच बढाउनका लागि ल्याएका हौँ’, उनले भनिन्, ‘यो एउटा प्रदेशको चिनारी पनि हो। यसले हाम्रो प्रदेशका छोरी-बुहारीको व्यावसायिक तथा प्राविधिक शिक्षामा पहुँच पुग्ने अपेक्षा लिएका छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell