PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

थलिएको पोखराको पर्यटन व्यवसाय उत्थान गर्न सरकारसँग खोप माग्दै व्यवसायी



रिना थापा

थलिएको पोखराको पर्यटन व्यवसाय उत्थान गर्न सरकारसँग खोप माग्दै व्यवसायी

पोखरा : धर्मराएको पर्यटन व्यवसाय उत्थान गर्न पोखराका व्यवसायीहरुको दौडधुप चलिरहेको छ। कोरोनाले थला पारेको पर्यटन व्यवसाय उत्थान गर्न हारगुहार गर्दै व्यवसायीहरु बेलाबेला सम्बन्धित निकायको ढोका ढकढकाउन पुगिरहन्छन्।

अहिले पोखराका पर्यटन व्यवसायीको प्रमुख माग व्यवसायीहरुलाई कोरोना विरुद्धको खोप हो। सुरक्षित रुपमा व्यवसाय सञ्चालन गर्नका लागि खोपको माग राखेर व्यवसायीहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए।

व्यवसायीले असार २४ गते पत्रकार सम्मेलन गर्दै सरकारले पर्यटन व्यवसायीलाई खोप प्रदान नगरेसम्म व्यवसाय सञ्चालन नगर्ने बताएका थिए। यद्यपि उनीहरुको गुनासो र सुनुवाइ भने भएको छैन।

व्यवसायीलाई आश्वासन दिदै गण्डकी प्रदेशका नवनियुक्त अर्थमन्त्री रामजी प्रसाद बराल (जीवन)ले पोखराको पर्यटन क्षेत्रको पुनर्उत्थानका लागि पाँच हजार खोप व्यवस्थापन गर्ने बताएका छन्। १३ साउनमा सरकारको ढोका ढकढकाउन पुगेका व्यवसायी मन्त्री बरालको यस्तो आश्वासन लिएर फर्केका थिए।

व्यवसायीले यस्ता आश्वासन यसअघि पनि पाएका थिए। अब भने सरकारले ठोस कदम चालेर समस्या समाधान गरोस् भन्ने उनीहरुको अपेक्षा छ।

कोरोना महामारीले थलिएको व्यवसायलाई पुनर्उत्थान गर्न सर्वप्रथम खोप नै प्रमुख आधार रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष बिकल तुलाचन बताउँछन्।

सरकारले पर्यटन व्यवसायीको मर्कालाई मध्यनजर गर्दै केहि समय अगाडिबाट व्यवसाय सञ्चालन गर्ने अनुमति दिएको छ। कोरोनाको दोस्रो लहरसँगै बन्द भएका व्यवसायलाई सरकारले ५० प्रतिशत मात्र सञ्चालन अनुमति दिएको हो।

सरकारको अनुमतिपछि बन्द रहेका होटल तथा रेस्टुरेन्ट खुल्न थाले। पोखराका होटल र रेस्टुरेन्ट खुलेपनि पर्यटक छैनन्। पहिलो लहरपछि भएको आन्तरिक पर्यटकको चहलपहल समेत अहिले देख्न पाइदैन।

तुलाचनका अनुसार काम विशेषले आउने मानिसको मात्र चहलपहल छ। दोस्रो लहरपछि भने आन्तरिक पर्यटक पनि घुमफिरमा नआइरहेको उनी बताउँछन्।

नेपाल आउन चाहाने विदेशी पाहुनाको पहिलो प्रश्न व्यवसायीले खोप लगाएका छन् कि छैनन् भन्ने हुन्छ। कतिपय विदेशी पाहुनाले व्यवसायीहरु खोप नलगाएकै कारण बुकिङ बन्द गरेको उनीहरु सुनाउँछन्।

पहिलो लहरको कहर सामना गरेको पोखराको पर्यटन व्यवसाय बिस्तारै तंग्रिन खोज्दै थिए। पहिलो लहरमा पोखराका २५ प्रतिशत व्यवसाय पलायन भइसकेका छन्।

त्यतिबेला पनि सरकारले पर्यटन व्यवसायलाई विशेष रुपमा सम्बोधन गर्नका लागि कुनै ठोस कदम चाल्न सकेन। अहिले पनि सरकारले कुनै चासो नदेखाएको अध्यक्ष तुलाचन बताउँछन्।

‘स्थानीय निकाय, प्रदेश सरकार, स्थानीय प्रशासन केन्द्रीय प्रतिनिधिहरु सामु बारम्बार हाम्रो समस्याबारे बताए पनि उहाँहरुले वास्ता गर्नुभएन’, तुलाचनले भने, ‘असहज परिस्थितिमा सरकारलाई क्वारेन्टाइन र आइसोलेसन लगायत अन्य विभिन्न कार्यमा सहयोग गरेको पनि बिर्सिनुभएछ।’

पश्चिमाञ्चल होटल संघका अनुसार अघिल्लो लहरमा २५ प्रतिशत व्यवसाय पलायन भइसकेका छन्। दोस्रो लहरमा भने कति मर्कामा परे भन्ने यकिन तथ्यांक नरहेको संघले जनाएको छ।

संघले अहिले अनुमानित ७० देखि ७५ प्रतिशत व्यवसाय पलायन हुने सम्भावना रहेको जनाएको छ। सामान्य समयमा १५ हजार हाराहारीमा  मजदुरलाई रोजगारी दिएको पोखराको पर्यटन व्यवसायले अहिले धमाधम कर्मचारी कटौती गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell