PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

क्रियाशील सदस्यता सम्बन्धी विवाद तीन दिनभित्र टुंगो लगाउने कांग्रेस शीर्ष नेताबीच सहमति



क्रियाशील सदस्यता सम्बन्धी विवाद तीन दिनभित्र टुंगो लगाउने कांग्रेस शीर्ष नेताबीच सहमति
नेता रमेश लेखक। (फाइल फोटो)

काठमाडौं : नेपाली कांग्रेसका शिर्ष नेताहरुबीच तीन दिनभित्र क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगो लगाउने सहमति भएको छ। नेपाली कांग्रेसका शिर्ष नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौंलाबीच बुधवार भएको छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टीमा देखिएको विवाद तीन दिनभित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने सहमति भएको हो।

सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकमा आज भने अन्य पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई कसरी क्रियाशील सदस्यता वितरण गर्ने? भन्ने सम्बन्धमा केन्द्रित भएर छलफल शुरु गरिएको क्रियाशील सदस्यता छानबिन समितिका संयोजक समेत रहेका नेता रमेश लेखकले जानकारी दिए।

‘अरु पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरुको सम्बन्धमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता कसरी दिने भन्ने विषयमा केन्द्रित भएर छलफल शुरु गरिएको छ’, उनले भने, ‘यसले निरन्तरता पाउँछ र २/३ दिन भित्र टुंगिन्छ।’

बैठकमा नेताहरुबीच आसन्न पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका पनि २ दिन भित्र टुंगो लगाउने विषयमा छलफल गरिएको छ। महाधिवेशनको कार्यतालिका अहिले नै प्रभावित भइहाल्यो भन्न नमिल्ने उल्लेख गर्दै नेता लेखकले शिर्ष तहमा यसको टुंगो २ दिन भित्र लगाउने गरी छलफल भइरहेको बताए।

कांग्रेसको क्रियाशील सदस्यता विवादको किचलो अझै टुंगो लाग्न सकेको छैन। रमेश लेखक संयोजक रहेको क्रियाशील विवाद छानबिन समितिले विवाद टुंगो लगाउन नसकेपछि शीर्ष नेतालाई जिम्मेवारी सुम्पेको थियो।

गत बिहीवार यस विषयमा शीर्ष नेताले समाधान निकाल्ने निष्कर्ष निकालेको थियो। बिहीवार देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले विवाद टुंग्याउन नसकेको विषयहरुलाई पार्टीका शीर्ष नेताहरुले पाँच दिनभित्र टुंग्याउने निर्णय गरेको थियो।

सम्बन्धित समाचार : कांग्रेस क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन शीर्ष नेतालाई पनि हम्मे, पाँच दिने म्याद सकिँदा पनि लागेन टुंगो

कांग्रेसमा अन्य पार्टीबाट नेपाली कांग्रेसमा समायोजन भएकाहरुको, धनुषा क्षेत्र नम्बर ४, सर्लाही क्षेत्र नम्बर २ का साथसाथै बारा र सप्तरीका नयाँ क्रियाशील सदस्यहरुको बारेमा पार्टी नेतृत्वले टुंग्याउनुपर्ने नेता लेखकले जानकारी दिएका थिए।

यसअघि, कांग्रेसको क्रियाशील छानबिन समितिले विवाद यथावतै राखेर सभापति एवं प्रधानमन्त्री देउवालाई ‘फाइनल प्रतिवेदन’ बुझाएको थियो। यसअघि १२ गते मंगलवार केही जिल्लाको विवाद यथावत राखेर सभापति देउवालाई प्रतिवेदन बुझाइएको थियो। उक्त विवाद सल्ट्याएर प्रतिवेदन बुझाउन थप म्याद दिए पनि समितिले शीर्ष नेतालाई जिम्मेवारी सुम्पेको हो।

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएको छ। तर, स्थानीय तहको अधिवेशनको कार्यतालिका प्रभावित भएकाले महाधिवेशनको मिति पनि सर्ने हो कि भन्ने आशंका गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell