काठमाडौं : प्रहरी हेडेक्वाटरभित्र नै चोरी होला भन्ने कमैले सोचेका हुन्छन्।
त्यो पनि सामान्य विषय होइन परीक्षाको प्रश्न पत्र नै। तर जति नै सुरक्षाकर्मीले घेरिएको सुरक्षित ठाउँ भए पनि चोरी भयो। शनिवार र शुक्रवार भएको प्रिस्याट परीक्षाको प्रश्न पत्र नै चोरी भएको खुलेको हो। यो परीक्षा राष्ट्र संघको शान्ति मिसनमा जानको लागि जवानदेखि एसएसपीसम्मलाई लिइएको थियो। यसरी युएन मिसनको प्रश्न पत्र चोरी हुनु नौलो कुरा भने थिएन। यसअघि भएका परीक्षाको पनि प्रश्नपत्र आउट भएका थिए।
शनिवार र शुक्रवार गरेर प्रहरी प्रधान कार्यालयमा एक हजार ४ जना प्रहरीको प्रिस्याट परीक्षा लिएको थियो। शुक्रवार दुई सिफ्टमा २ सय ५० जनाको दरले परीक्षा भएको थियो। शनिवार पनि दुई सिफ्टमा त्यति नै परीक्षार्थी थिए। प्रिस्याट परीक्षा पास गरेपछि स्याट परीक्षा लिइन्छ। त्यो उत्तीर्ण गरेपछि मात्र मिसनमा जान पाइन्छ। मिसनमा जाँदा छोटो समयमा राम्रो आम्दानी हुने भएकाले प्रहरीहरूको आकर्षण त्यसमा देखिन्छ।
शनिवार प्रश्नपत्र आउट भएको जानकारी पाएपछि अन्य परीक्षार्थीले गुनासो गरेका थिए। त्यसपछि एक घण्टा ढिलो गरेर परीक्षा गरिएको थियो। शनिवारको अन्तिम सिफ्टमा भएको परीक्षाको प्रश्नपत्र लिक भएको हो। त्यसपछि एक घण्टा ढिलो गरेर साढे २ बजेतिर पुनः प्रश्नपत्र सेट गरेर परीक्षा लिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए।
'धेरै परीक्षार्थीहरूबाट गुनासो आयो। त्यसपछि केही समय ढिलो गरेर अर्को सेट बनाएर परीक्षा लिएको हो। चोरी वा के भएको भन्ने कुरा छानबिन समितिले अनुसन्धान गरिरहेको छ,' एसएसपी कुँवरले भने।प्रिस्याटमा २ सय पूर्णाङको परीक्षा लिने गर्छ। हेडक्वाटर सहित सातवटै प्रदेशमा २४ सय प्रहरीले परीक्षा दिएका थिए।
परीक्षा प्रहरीको युएन शाखाले लिने गर्छन्। तर प्रश्नपत्र युएन शाखाका प्रहरी अधिकृतको दराजबाट नै चोरी भएको थियो। दराजको चाबी प्रहरी उपरीक्षक (एसपी) अनुपम शमशेर राणासँग थियो। प्रश्नपत्र चोरी भएर आउट भएपछि हेडक्वार्टर हल्लाखल्ला मच्चियो। प्रहरी प्रधान कार्यालयले छानबिन समिति नै गठन गरेर अहिले अनुसन्धान गरिरहेको छ।
डिआइजी वसन्त लामाको नेतृत्वमा छानबिन समिति बनेको छ। समितिले तीन दिनदेखि अनुसन्धान गरिरहेको छ। अनुसन्धानको क्रममा प्रहरीको संलग्नतामा नै दराजबाट प्रश्नपत्र चोरी भएको पुष्टि भएको छ। तर चोरी भएपछि ककसलाई प्रश्न दियो? कतिमा बेचिएको थियो? वा अन्य के थिए? भन्ने प्रश्नको खोजीमा छानविन समिति लागेको छ।
'चोरी भएको देखिएको छ। यसमा अरू को को संलग्न छन्। प्रश्नपत्र कस कसलाई पुर्याइयो भन्ने लगाएको विषयमा छानबिन गरिरहेका छौँ। केही दिनमा नै सबै सार्वजनिक हुन्छ,' डिआइजी लामाले भने।
अनुसन्धानको क्रममा प्रहरीले दुई जना प्रहरीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। युएन शाखाकै एक कर्मचारीसमेत संलग्न भएको देखिएको छ।
युएन मिसनमा जानको लागि लिने परीक्षाको प्रश्न सेट युएन शाखाले गरेको हुन्छ। परीक्षा हुनुभन्दा एक दुई दिनअघि प्रश्नपत्र सेट गरिएको हुन्छ। नेपाल प्रहरीमा मात्र होइन सशस्त्र प्रहरीको समेत युएन मिसनको प्रश्न आउट भएका उदाहरण छन्।