काठमाडौं : कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि बेलायतले जारी गरेको यात्रा प्रतिबन्धको रातो सूचीबाट भारतलाई हटाउन लागेको छ। अगस्ट ८ देखि यो सूचीलाई अध्यावधिक गर्दै भारतलाई रातो सूचीबाट हटाउन लागेको हो।
बेलायती यातायात मन्त्री ग्रान्ट सेप्सले ट्वीटर मार्फत युएई, कतार, भारत र बहराइनलाई रातो सूचीबाट हटाउँदै पहेँलो सूचीमा समावेश गर्ने जानकारी गराउँदै यसको कार्यान्वयन अगस्ट ८ बिहान ४ बजे देखि हुने जनाएका छन्।
नेपालसहित पाकिस्तान, बंगलादेशलाई भने रातो सूचीमा कायम राखिएको छ। यो सूचीमा नेपाल मे १२ देखि छ। साथै पाकिस्तान र बंगलादेशलाई अप्रिल ९ देखि यो सूचीमा समावेश गरिएको थियो। भारतलाई पनि अप्रिल २३ बाट रातो सूचीमा राखिएको थियो।
रेड लिस्टमा भएका देश भ्रमण गरेका कुनै पनि अन्य देशका नागरिकहरुलाई बेलायत प्रवेशमा रोक लगाइने छ।
'रेड लिस्टमा रहेका देशहरु तथा क्षेत्रमा पछिल्लो १० दिनमा भ्रमण गर्नु भएको छ भने तपाईँ बेलायती अथवा आइरिस नागरिक वा बेलायतमा रेसिडेन्स अधिकार भएको भएमात्र बेलायत प्रवेश गर्न पाउनु हुनेछ,' बेलायत सरकारको आधिकारिक वेबसाइटमा भनिएको छ।
त्यस्तै आफ्ना देशका नागरिकहरुलाई रेड लिस्टमा रहेका देशहरुमा समय बिताउनका लागि भ्रमण नगर्न समेत भनिएको छ। उसले अति अत्यावश्यक भएमात्र भ्रमण गर्न अनुरोध गरेको छ। त्यस्तै ती देशबाट बेलायत फर्किने नागरिकहरुलाई निर्धारण गरिएका सरकारी होटल क्वारेन्टाइनमा १० दिन अनिवार्य बस्नुपर्ने छ।
बेलायतले रेड लिस्टमा रहेका देशहरुमा संक्रमण दर न्यून र खोप दर उच्च नभएसम्म यात्रा प्रतिबन्ध लगाउने जनाएको छ।
हाल नेपालमा दैनिक संक्रमण दर कुल परीक्षणको २५ प्रतिशत छ। बुधवार मात्र नेपालमा चार हजार १०७ जनामा संक्रमण पुष्टि भएको थियो। जुन कुल परीक्षणको २५.१९ प्रतिशत हो। यो गत दुई महिना यताकै उच्च हो।
हालसम्म नेपालमा २० लाख ७४ हजार ७८६ जनाले पूर्ण खोप लगाइसकेका छन्। पहिलो मात्रा लगाउनेको संख्या ४२ लाख ९७ हजार ६१२ रहेको छ।
यसैबिच बेलायतले यो सूचीमा जर्जिया, मायोटे, मेक्सिको र रियुनियनलाई रातो समावेश गर्दैछ। यता अष्ट्रिया, जर्मनी, लाटभिया, नर्वे, रोमानिया, स्लोभाकिया र स्लोभानीयलाई भने हरियो सूचीमा समावेश गरिँदैछ।
रातो सूचीबाट पहिलो सूचीमा समावेश हुन लागेको भारतमा अहिले पनि दैनिक ४० हजार बढीमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। यति हुँदा हुँदै पनि भारतलाई भने पहेँलो सूचीमा राख्न लागिएको हो।
पछिल्लो २४ घण्टामा मात्र भारतमा ४२ हजार ९८२ नयाँ संक्रमित पहिचान भएका छन् भने ५३३ जनाको मृत्यु भएको छ। योसँगै भारतमा मृत्यु हुनेको संख्या चार लाख २५ हजार ७५७ पुगेको छ। हाल त्यहाँ चार लाख १० हजार २३२ एक्टिभ केस छन्। जुन कुल संक्रमितको १.२९ प्रतिशत हो। हालसम्म भारतमा ४८ करोड ६० लाख बढी डोज खोप वितरण भइसकेको छ।
परीक्षण दर उच्च रहेको भारतमा भारतमा संक्रमितको संख्या उच्च रहे पनि संक्रमण दर नेपाल भन्दा कम छ। त्यस्तै खोप दर पनि उच्च छ।
