काठमाडौंः निषेधाज्ञा खुकुलो भएपछि सुरु भएको आन्तरिक उडानमा दैनिक १२ हजार भन्दा बढीले यात्रा गर्न थालेका छन्।
वायुसेवा संचालक संघका अनुसार सुरक्षित र सहज उडानका कारण हवाई यात्रुको संख्या बढेको हो। संघले आन्तरिक उडानलाई जोखिममुक्त बनाउने प्रतिवद्धता समेत जनाएको छ।
'मुलुकको अर्थतन्त्रलाई जस्तो सुकै अवस्थामा पनि चलायमान राख्न आवश्यक छ। आफ्नो काम विशेष/व्यवसायका लागि आउजाउ गर्ने यात्रुलाई संक्रमणरहित आउजाउ गर्नबाट बन्चित गर्न हुँदैन,' संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ,' संक्रमण रहित उडानका लागि हामी प्रतिवद्ध छौँ।'
संघले गरेको सर्वेक्षण अनुसार मुलुकमा ५० लाख जना भन्दा बढीले खोप लगाइसकेका छन् भने आन्तरिक उडानमा सहभागी यात्रु मध्ये ५० प्रतिशत खोप लगाइसकेका र प्रतिरक्षा प्रणाली विकास भइसकेका छन्।
बुद्ध, श्री, यती, सौर्य, तारा, समिट, सीता लगायत वायुसेवा कम्पनीले नियमित रुपमा विश्व स्वास्थ्य संगठनको मार्गनिर्देशिका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेको संघको जिकिर छ।
