PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

नेपाल पक्षका केन्द्रीय सदस्यको आक्रोश : स्थायी कमिटी भर्सेस केन्द्रीय कमिटी कहिलेसम्म?



प्रकाश भण्डारी

नेपाल पक्षका केन्द्रीय सदस्यको आक्रोश : स्थायी कमिटी भर्सेस केन्द्रीय कमिटी कहिलेसम्म?
फाइल फोटो

काठमाडौं: नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले बोलाएको केन्द्रीय कमिटीको बैठकमा अधिकांश नेताहरुले सम्माजनक एकतामा जोड दिनुपर्ने बताएका छन्। बिहीबार बुद्धनगरमा बसेको बैठकमा केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीसँगको विवादमा सम्मानजनक रुपमा सहमति गर्न नेता नेपाललाई सुझाएका थिए। आफ्नो समूहको पहिलो शर्त पार्टी एकता भए पनि ओलीको व्यवहारले सहमतिमा बाधा पुगेको उनीहरुको धारणा थियो।

केन्द्रीय कमिटीको बैठक बस्नुअघि स्थायी कमिटीको बैठक बसेको थियो। स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकमा एमालेको विवाद समाधानका लागि गठन भएको कार्यदलका नेपाल पक्षीय संयोजक भीम रावलले ओलीसँग अहिलेसम्म भएको वार्ताबारे ब्रिफिङ गरेका थिए। यद्यपि कार्यदल अहिले विघटित अवस्थामा छ। बैठकमा हरेक नेतालाई ३ मिनेटमा आफ्नो धारणा राख्न निर्देशन दिइएको थियो।

७३ जना केन्द्रीय सदस्य सहभागी बैठकमा स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र योगेश भट्टराई भने अनुपस्थित रहे। परिवारका सदस्य र सचिवालयका सदस्यलाई कोभिड-१९ संक्रमण देखिएकाले पाण्डे र भट्टराई अनुपस्थित रहेको बताइएको छ।

'स्थायी कमिटी भर्सेस केन्द्रीय कमिटी कहिलेसम्म?'

विहीबार विजय पौडेल, दिनेश राई, सदावहार श्रेष्ठ, झपट रावल, सावित्रा भुसाल, बलाराम बास्कोटा, रामुकुमारी झाँक्री, रवीन्द्र अधिकारी, चुडामणि विक 'जंगली', नागेश्वर चौधरी, प्रेमल खनाल, ठाकुर गैरे, सुरेन्द्र मानन्धर, भानुभक्त जोशी लगायतका २४ केन्द्रीय सदस्यले धारण राखेका थिए। अधिकांश सदस्यले ओलीले एकता नचाहेको बताएका थिए।

पार्टीमा एकताको सम्भावना कम हुँदै गए पनि अन्तिमसम्म एकताका लागि पहल गर्नुपर्ने उनीहरुको धारणा थियो। केन्द्रीय सदस्य झाँक्रीले आफूले बैठकमा स्थायी कमिटी भर्सेस केन्द्रीय कमिटी भइरहेकाले त्यो बन्द गर्नुपर्ने धारणा राखेको बताइन।

'वार्ताका नाममा स्थायी कमिटी भर्सेस केन्द्रीय कमिटी भइरहेको छ। यो कहिलेसम्म चल्छ। वार्ता भनेर मात्र भएन,' उनले भनिन्।

झाँक्रीले धारणा राख्दा केही नेताहरुले भने प्रतिवाद गरेका थिए। एमाले एकतामै जोड दिने भन्दै उनीहरुले झाँक्रीको धारणाको विरोध गरेका हुन्।

केन्द्रीय सदस्य झपट रावलले आफूले एकताका लागि जोड दिनुपर्ने धारणा राखेको बताए। उनले सहमतिका लागि ओली लचिलो हुन जरुरी भएको बताए। 'पार्टी एक ढिक्का बनाउने कुरामा जोड दिने भन्ने भएको छ। सरकारमा जाने अरु विषयमा अहिले छलफल भएन,' उनले भने।

ओलीलाई सन्देश : सदस्यता नवीकरण रोक्नुस्

बैठकमा नेपाल पक्षबाट वार्ता टोलीका संयोजक रहेका नेता रावलले १० बुँदे सहमतिलाई बुँदागत रुपमा व्याख्या गरेका थिए। नेपालपछि बोलेका रावलले बैठकमा अहिलेसम्म ओली समूहसँग भएको संवादबारे जानकारी गराएको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए।

यस्तै नेपाल पक्षले एकताका लागि तत्काल पार्टी सदस्यता नवीकरण रोक्नुपर्ने बताएको छ। ओली समूहको स्थायी कमिटीको बैठकले यसअघि सदस्यता नवीकरण विधान महाधिवेशन लगायतका विषयमा निर्णय गरेको थियो। रावलले ओली समूहलाई आफूले नवीकरण रोक्न भनिसकेको बैठकलाई जानकारी गराएका थिए।

'एकता हाम्रो इच्छा हो, चाहना हो भन्नुभयो। हामी एकता र सहमतिका लागि वार्तामा सामेल छौँ भन्नुभयो। १० बुँदे सहमतिमा पनि केही कुरा उल्लेख छन्। जेठ २ गतेको कमिटीको बैठक बसेपछि सबै कुरा अघि बढछ अहिले सदस्यता वितरण र नवीकरण रोक्नुस् भनेर हाम्रो तर्फबाट भीम रावलले भन्नुभएको छ,' पन्तले भने।

'अझै लम्बिन्छ ओलीसँग वार्ता'

एमालेमा लामो समयदेखि चल्दै आएको वार्ता भने अझै लम्बिने भएको छ। वार्ता कहिलेसम्म गर्ने भन्नेबारेमा नेपाल समूहको बिहीबारको बैठकमा छलफल भए पनि निर्णय भने नभएको केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले जानकारी दिए। ओलीले जति धेरै समयसम्म विवादको समाधान खोज्न तयार भएनन् त्यतिन्जेलसम्म वार्ता लम्बिने उनले बताए।

'जबसम्म ओली वार्ता गरेर समस्याको समाधान गर्न तयार हुँदैनन् त्यतिन्जेलसम्म विवाद भइरहन्छ,' मानन्धरले भने।

नेता पन्तले ओलीसँगको वार्ता कहिले टुंगिन्छ भन्ने यकिन नभएको बताए।

'वार्ता कहिले दुई दिनमा पनि टुंगिन्छ किहले अनन्त कालसम्म पनि जान्छ। हामीले वार्तामा निरन्तर प्रगति गर्दै आएका छौँ,' उनले भने।

नेता रावलले आफूले मंगलबार पनि ओलीसँग भेटेको भन्दै बैठकमा वार्ताका लागि दुबै पक्ष तयार भए पनि ओली भने नेपाल समूहप्रति त्यति सकारात्मक नभएको बताएका थिए।

'सरकारमा जाने सम्भावना छैन'

नेपाल पक्षका केही नेताहरुले सरकारमा गएर अदालतबाट पुनःस्थापना भएको प्रतिनिधि सभालाई पूरा कार्यकाल चलाउने भूमिका खेल्नुपर्ने भन्दै मत राखिरहेका बेला केन्द्रीय कमिटीको बैठकमा भने तत्काल सरकारमा जान नहुने धारणा नेताहरुले अघि सारेका छन्।

नेता पन्तले सरकारमा जाने कुनै सम्भाना नभएको बताए। उनले एमाले अहिले प्रतिपक्षमा भएकाले सरकारमा नजाने बताए। यस्तै, केन्द्रीय कमिटी सदस्य झाँक्रीले पनि सरकारमा जाने सम्भावना नभएको बताइन। उनले सरकारमा जाने कि नजाने भन्नेबारेमा केन्द्रीय कमिटीको बैठक नबोलाइएकाले उक्त विषय एजेण्डा नभएको बताइन।

५ दलीय गठबन्धनको सरकारले हालसम्म पूर्णता पाउन सकेको छैन्। गठबन्धनमा रहेका नेताहरुका कारण नेता नेपालले सरकारमा सहभागी हुने नहुनेबारेमा आफूलाई केही समय दिन नेताहरुलाई आग्रह गरेपछि मन्त्रिपरिषद् विस्तार रोकिएको छ।

गठबन्धनको सरकार छलफलमै अघि बढोस!

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गरेकोमा नेपाल पक्षका केही नेताहरुले असन्तुष्टि जनाएका छन्।

आयोगका सदस्यहरु हेरफेर गर्न सकिने भए पनि सरकारले विघटनै गर्नु उचित नभएको उनीरुहको धारणा थियो। स्थायी कमिटी सदस्य पन्तले राष्ट्रियताका विषयमा सरकारले छलफल गरेर निर्णय गर्नुपर्ने बताए।

भने,'राम्रो त के भन्दा त सकुम्बासी समस्या समाधान गर्नुपर्ने आवश्यक छ। त्यसबारेमा सरकारले गम्भीरतापूर्वक छलफल गर्नुपर्छ। यस आयोगमा थपघट पनि गर्न सकिन्थ्यो। राष्ट्रिय महत्वका विषयमा सरकार छलफल गरेर अघि बढोस।'

बिहीबारको बैठकमा बोल्न बाँकी रहेका नेताहरुले शुक्रबार बोल्नेछन्। उनीहरुको जिज्ञाशाबारे नेता नेपालले सम्बोधन गर्ने तय भएको छ। पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो समूहको धारणा बनाउन नेता नेपालले केन्द्रीय सदस्यको बैठक बोलाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell