PahiloPost

Jul 3, 2024 | २० असार २०८१

वीरगंज-रक्सौल नाकाको मितेरी पुल कालोपत्रे गर्ने योजना अघि बढ्यो



राधेश्याम पटेल

वीरगंज-रक्सौल नाकाको मितेरी पुल कालोपत्रे गर्ने योजना अघि बढ्यो

वीरगंज : मुलुकको प्रमुख भन्सार नाका वीरगंज-रक्सौलको मितेरी पुलको मर्मत हुने भएको छ। भारतीय सरकार मातहतको पथ निर्माण विभागले १०६ मिटर लम्बाईको आधा भाग अर्थात ५३ मिटर कालोपत्रे गरी मर्मत गरिदिने भएको हो।

वीरगंज-रक्सौल नाकालाई सौन्दर्यकरण गर्ने अभियानका सहभागीहरुले चासो देखाएपछि उक्त पुलको मर्मत कार्य अघि बढेको हो। बिहीवार वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासको सक्रियतामा भारतीय पक्षसँग रक्सौल कस्टमभन्दा उत्तरमा रहेको भारतीय दूतावासको आवासमा सरोकारवालाहरुबीच छलफल भई उक्त सडक कालोपत्र गर्ने सहमति भएको हो।

नेपाली पक्षले छलफलमा पुल लामो समयदेखि खाल्डाखुल्डीमा परिणत भएपछि सयौँ यात्रुलाई आवागमनमा समस्या हुने गरेकोले मर्मत गरी नाकाको पुललाई चिटिक्क पार्ने आग्रह गरेका थिए।

सन् १९९४ मा भारत सरकारको नेशनल हाईवेले उक्त पुल निर्माण गरेको थियो। तर, पुलको आधा हिस्सा दशगजा क्षेत्रमा पर्ने भएकोले दुवै देशको सरकार तथा स्थानीय सरकारहरु मर्मत-सम्भार गर्न हच्किदै आएका छन्।

अघिल्लो वर्ष वीरगंज महानगरका मेयर विजयकुमार सरावगी र पर्सा १ का सांसद प्रदीप यादवको टोलीले भ्रमण गरी पुलमा भएको खाल्डाखुल्डीलाई पुर्न ग्राभेल खसालेर आवागमन सहज पारिएको थियो। तर, वर्षातको बेला उक्त पुल भएर सयौँ यात्रु तथा गाडीहरु गुडने भएकोले उक्त पुल पुनः जीर्ण भएको छ।

सो बाटो भएर अहिले पनि नेपाली उद्योगको लागि कोइला, जिप्सन, फलायस, क्लिकर, फलामलगायत औद्योगिक कच्चा पदार्थत रक्सौल रेल्वे यार्डबाट नेपाल भित्रिन्छ भने सयौँ पैदल यात्री, मोटरसाइकल तथा हलुका सवारी सधान, रिक्सा, टागालगायत आउजाउ गर्छन्।

पुलको मध्य भागको केही ठाउँमा करिब ४ फिट गहिरो खाल्डाखुल्डी भएकोले पुल भएर यात्रा गर्ने सर्वसधारणको यात्रा जोखिमपूर्ण बनेको छ। नेपाली र भारतीय पक्षले आज पुलको अवलोकन गरी भारतीय आयल कर्पोरेशनदेखि भारतीय कस्टमसम्म सडक मर्मत गर्ने योजनामै समावेश गरी पुल मर्मत गरिदिने सहमति भएको हो।

रक्सौल कस्टमसम्म गर्न लागिएको कालोपत्रेमा करिब ५३ मिटर थप लागत इष्टिमेट गरी पथ निर्माण विभागले एक हप्ताभित्र उक्त पुलको कालोपत्रेको काम सम्पन्न गराउने पथ निर्माण विभागका इन्जिनियर म्रितुञ्जय कुमारले प्रतिबद्धता गरे। उनका अनुसार पुलको ५३ मिटर भारतीय पक्षले बनाइदिने र बाँकी भागमा नेपाली पक्षले कालोपत्रे गरेर पुललाई सफा र चिल्लो पार्ने सहमति भएको छ।

यता, नेपालतिर मितेरी पुलदेखि रजतजयन्ती चोकसम्म छ लेन सडक विस्तार आयोजना अन्तर्गत पनि करिब १३ सय मिटर लम्बाईको लागि ठेक्का भइसकेको र यसै आवमा काम शुरु हुने बताइएको छ। त्यसबेला पुलको आधा भाग नेपाली पक्षले मर्मत गर्ने सहमति भएको छ।

वीरगंजका सामाजिक संस्था व्यवस्थित वीरगंज र ग्रिनसिटी सामुदायिक सेवा केन्द्रको सक्रियतामा वीरगंज-रक्सौल नाकालाई सुन्दर र व्यवस्थित बनाउने अभियान एक साता अघिदेखि सरोकारवालासंग छलफल गरी अघि बढेको छ। सोही क्रममा शनिवार वृहत सरसफाई र जनचेतनामुलक कार्यक्रम पनि भोलेन्टियर समुह वीरगंजले राखेको छ।

मुख्य नाका भएर पनि दैनिक धुवाधुलो तथा फोहोर, प्रदुषण र अव्यस्थित सडकको कारण भारतबाट नेपाल भित्रिने बितिकै नेपालको आकर्षण घटेको सबैले महसुस गरेपछि चिटिक्क र आकर्षक प्रवेश द्वारको रुपमा वीरगंज नाकालाई सफा, सुन्दर र व्यवस्थित बनाउने प्रयास भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell