काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए यता उनको सचिवालयले देउवाले गरेका राम्रो काम भन्दै सामाजिक सञ्चालमा प्रचार थालेका छन्। 'अब बन्छ नेपाल' फेसबुक पेज र भाइबारमार्फत सचिवालय समूहले देउवाको राम्रो काम भन्दै पोस्टर र भिडियो प्रचार थालेका हुन्।
देउवाको काम राम्रो भन्दै केही भिडियो अपलोड भइसकेको छ। वाग्मती प्रदेश प्रमुखसमेत भइसकेकी अनुराधा कोइरालाले समेत देउवाको प्रशंसा गरेको भिडियो सामाजिक सञ्जालमा आइसकेको छ।
पछिल्लो समय भने सामाजिक सञ्जालमा 'यसकारण मलाई शेरबहादुर देउवा मनपर्छ किनभने…' टाइटलसहित आएका यस्ता भिडियोमा नकारात्मक टिप्पणी बढ्न थालेको छ। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमाले नेता तथा कार्याकर्ताले 'केपी बा आइ लभ यु' भने झैं यसलाई स्तुतिगानको कांग्रेसी संस्करण भन्दै आलोचना हुन थालेको छ।
सामाजिक सञ्जालमा आलोचना बढ्न थालेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले समेत प्रधानमन्त्रीको सचिवालयको प्रचारशैलीप्रति असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमा बिहीवार प्रवक्ता शर्माले देउवाको यो काम गर्ने बेला भएको उल्लेख गर्दै राम्रो काम गरेमा जनताले नै भिडियो बनाउने टिप्पणी गरेका हुन्।
यसैगरी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले सामाजिक सञ्जालमार्फत गरिएको भिडियो गाइजात्रा बन्द गर्न प्रधानमन्त्रीको सचिवालयलाई अनुरोध गरिसकेको जनाएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले भनेका छन्, 'जीवनको हरेक क्षण देश, जनता र लोकतन्त्रका लागि समर्पण गरि जनताका बिचमा स्थापित काँग्रेस सभापति तथा प्रधानमन्त्री आदरणीय शेरबहादुर देउवाज्युका बारेमा सामाजिक सन्जालमार्फत सुरु गरिएको भिडियो गाइजात्रा तत्काल बन्द गर्न प्रधानमन्त्रीको सचिवालयलाई विशेष अनुरोध गर्दछु,' महामन्त्री खड्काले भनेका छन्।
जीवनकाे हरेक क्षण देश,जनता र लाेकतन्त्रका लागि समर्पण गरि जनताका बिचमा स्थापित काँग्रेस सभापति तथा प्रधानमन्त्री अादर्णिय शेर बहादुर देउवाज्युका बारेमा सामाजिक सन्जाल मार्फत सुरु गरिएकाे भिडियाे गाई जात्रा तत्काल बन्द गर्न प्रधानमन्त्रीकाे सचिवालय लाई बिशेष अनुराेध गर्दछु🌳🙏 pic.twitter.com/A4PypDjcd2
— Purna Bahadur Khadka (@NCPurnaKhadka) August 5, 2021
