PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

योगेश जसले कोरेको स्केचबाट उतारिन्छ अपराधीको मखुन्डो, अनि हातमा लाग्छ हतकडी



सविन ढकाल

योगेश जसले कोरेको स्केचबाट उतारिन्छ अपराधीको मखुन्डो, अनि हातमा लाग्छ हतकडी

डीएसपी गजुसिद्ध बज्राचार्यले फोनबाट अभियुक्तको हुनसक्ने सम्भावना बताएपछि योगेश बाराको कलैयातिर तर्फ 'मुभ' भए।

हराएको केही दिनपछि त्यहाँ १५ वर्षीय किशोरको शव भेटिएको थियो। प्रहरीको अनुसन्धानले हत्या भएको निष्कर्ष निकालेको थियो। तर कसले गर्‍यो हत्या?

किशोर हराएदेखि नै गाउँमा हल्लाखल्ला भइरहेको थियो। अन्तिम पटक उनलाई देख्ने को थिए? खोजी शुरु भयो। नभन्दै अन्तिम पटक उनलाई एक १४ वर्षीय बालकले देखेका रहेछन्। देखेका मात्र होइन सँगै बाँधमा खेल्नसमेत गएको खुल्यो।

बाँधमा खेल्दा एक जना मानिसलाई उनले भेटेको र कुराकानीसमेत गरेको बताएपछि प्रहरी त्यही व्यक्तिको खोजीमा लाग्यो। हराएका किशोरले अर्का बालकलाई आफू घर जाने र एक छिनमा फर्किने बताएका थिए। तर, ती बालकलाई थाहा थिएन - ऊसँग गफ गरिरहेको मानिस को हो? किनकि ती व्यक्ति गाउँका थिएनन्।

अनुसन्धानमा जुटेको प्रहरीसामु एउटा 'क्लु' त्यही मानिस हुँदै थियो। बाँधमा बालकले जसलाई देखेका थिए, तिनको खोजी थाल्यो प्रहरीले। देख्ने बालकले उसको हुलिया याद भएको बताएपछि प्रहरीले काठमाडौँबाट प्रहरी नायव निरीक्षक (सई) योगेश महर्जनलाई झिकाएको थियो।

योगेश महर्जन - नेपाल प्रहरीका एक अनुभवी आर्टिस्ट। अर्थात्, अपराधीको अनुहार दुरुस्तै उतार्ने आर्टिस्ट।

एघार वर्ष भइसक्यो योगेशले अपराधीका चित्र तयार पार्न थालेको। खबर आएपछि योगेश कलैया पुगे। बालकलाई भेटे। उनले बताएअनुसार चित्र कोर्न थाले। बालकले यति डिटेलमा हुलिया सुनाए कि योगेशलाई स्केच बनाउन समय लागेन।

'बालकले यसरी हुलिया सुनाएका थिए। उनलाई आँखाको रंग, दागदेखि अन्य डिटेलसमेत याद थियो। उनमा कतै पनि कन्फ्युजन थिएन,' योगेशले सुनाए।

केही समयमा नै एक युवकको स्केच तयार भयो। अनुसन्धानमा जुटेका प्रहरी त्यही स्केचको प्रतीक्षामा थिए। हत्यारा नजिक पुर्‍याउने आधार त्यही चित्र हुनसक्थ्यो। अन्तिम भेट भएका व्यक्तिले नै हत्या गरेको हुन्छ भन्ने त होइन। तर, ती मानिससँग किन भेटेका थिए? के कुरा भएको थियो? त्यसपछि ती बालक कहाँ गए?  भन्ने कुराको लिड मिल्नेमा प्रहरी आशावादी थियो।

करिब २३ वर्षे उमेरको युवकको स्केच तयार भयो, हुलिया अनुसार। तर, स्केच तयार भएपछि प्रहरी र योगेश नै छक्क परे। योगेशलाई उनले दिएको हुलियामा शङ्का पनि लाग्यो। त्यसपछि उनले बालकलाई फेरि अन्तिम पटक देखेको बाँधमा नै पुर्‍याए। उनले २ सय मिटर पर 'अभियुक्त'लाई देखेको बताएका थिए।

फेरि बाँधमा पुगेर उनले त्यसै गरी एक जना पुलिसलाई २ सय मिटर पर राखे। अनि बालकलाई आफूसँगै राखेर स्केच तयार पार्न बसे। उनले त्यो पुलिसलाई हेरेनन्। बालकले जे भने त्यही कागजमा उतार्न थाले। तर बालकले पहिले भने झैँ दुई सय मिटर पर भएको पुलिसको हुलिया प्रष्ट बताउन सकेनन्।

अनि बालकलाई प्रहरीले सोधे - 'अहिले त तिमीले बताउन सकेनौँ। पहिले चाहिँ कसरी एकएक कुराको हुलिया दियौँ?' १५ वर्षीय बालकले त्यसपछि केही लुकाउन सकेनन्। उनले आफैँले हत्या गरेको स्वीकार गरे।

रोचक के भने, यसअघि उनले दिएको हुलियाको आधारमा तयार पारेको स्केच तिनै बालकको थियो जसले बताइरहेको थियो।

'उसले जसरी भन्यो, मैले चित्र कोरेँ। तर, उसले आफ्नै हुलिया भनिरहेको रहेछ,' योगेशले आफ्नो स्केचको किस्सा सुनाए, 'आफ्नै तर उमेरमा केही बढी उमेरको स्केच बन्यो।'

पछि ती बालक र एक अर्की युवतीले मिलेर अर्का १४ वर्षीय किशोरको हत्या गरेको खुल्यो। दुईजना बिचको सम्बन्धबारे बालकले थाहा पाएपछि त्यसलाई लुकाउन हत्या गरिएको खुल्यो। योगेशका लागि यो नितान्त नौलो घटना थियो।

+++

नेपाल प्रहरीका अनुभवी यी आर्टिस्टले २०६४ सालमा 'फाइन आर्टमा' स्नातक गरेका हुन्। त्यसपछि केही समय एक निजी कम्पनीमा काम गरे उनले।

पढाई कलाको भए पनि उनको पेशागत रोजाइ भने पुलिस फोर्स बन्न पुग्यो। प्रहरी सहायक निरीक्षक (असई) मा नाम निस्कियो। २०६७ वैशाखबाट ट्रेनिङ सुरु भयो। महाराजगन्जस्थित प्रहरी प्रतिष्ठानमा दैनिक एघार महिनासम्म ट्रेनिङ गर्नु थियो।

फोर्सको आफ्नै नियम। दैनिक अभ्यासका दौरान सोच्नसमेत नभ्याउँने। कडा व्यायमले शरीर थिलथिलो हुने भएकाले कतिखेर आराम गर्न पाइएला भन्ने हुन्थ्यो। त्यसमाथि राति १० बजेपछि अनिवार्य सुत्नुपर्ने नियम।

चित्रमा खेलिरहेका हात बुटमा काली रगड्दा मात्र कहाँ मन भरिन्थ्यो र?  योगेशलाई पनि त्यस्तै भइरह्यो। उनलाई त्यो तालिम निसासिए झैँ भइरहन्थ्यो।

उनी झोलामा रहेको पेन्सिल राति १० बजेपछि भने व्यस्त हुन्थ्यो। लुकेर भए पनि विभिन्न स्केच तयार पार्थे योगेश। आनन्द महसुस गर्थे त्यसपछि। आफूले तयार पारेका स्केचहरू एकेडेमीको नोटिस बोर्डमा टाँस्थे।

कविता, मुक्तकले भरिने नोटिस बोर्डमा योगेशका समसामयिक चित्र केही फरक देखिन्थ्यो - अरूको चाँडै आँखा पर्ने। एक दिन एकेडेमीमा सिनियर प्रहरी अधिकृतको निरीक्षण थियो। डीएसपी हृदेय थापा (हाल एसएसपी)को आँखा नोटिस बोर्डको चित्रमा पर्‍यो। त्यसपछि उनले योगेशको खोजी गरे।

'उहाँले तिमी यस्तै चित्र कोर्न सक्छौँ? भन्नु भयो। हामीलाई यस्तो मानिस आवश्यक पर्छ। त्यतिखेर सम्पर्क गर्छु हौँ भन्नु भएको थियो,' योगेशले सुनाए।

हृदेयको कुराले योगेशको मन फुरुङ्ग भयो। चित्र कोर्न पाए हुन्थ्यो भन्ने भयो। फोनको प्रतीक्षामा थिए उनी। झन्डै ४/५ महिनापछि योगेशलाई फोन आयो। उनको ट्रेनिङ सकिएको थिएन। तर, उनी बाहिर निस्किन पाए कारण बन्यो स्केच।

२०६७ फागुन २६ गते केन्द्रीय कारागार सुन्धारामा कैद भुक्तान गरिरहेका युनिस अन्सारीमाथि गोली चल्यो। कारागारभित्र नै गएर गोली हानेको अभियोगमा प्रहरीले भारतीय नागरिक मनमित सिंहलाई नियन्त्रणमा लियो। तर, उनलाई काठमाडौं ल्याएर गोली हान्न लगाउने को थियो? र, किन गोली हानियो? भन्ने अनुसन्धानमा नै थियो। पक्राउ परेका सिंहले आफूलाई ल्याउने मानिसको हुलिया बताए। त्यतिखेर फोटो र अन्य पहिचानको माध्यम नभएकाले हुलियाबाट नै स्केच बनाउनु विकल्प थिएन।

त्यसकै कारण एकाएक रोजाइमा परेका थिए योगेश।

'मलाई हृदेय सापले योगेशको बारेमा कुरा सुनाएको हो। हृदेय सरले नै एक पटक एकेडेमीमा एआइजी किरण गौतमलाई भन्नु न भनेर सिफारिस गर्नुभयो। मैले एआइजी सा बलाई फोन गरेर योगेशलाई पठाउन भनेको थिएँ,' त्यतिखेरको घटना सम्झिँदै पूर्व डीआइजी हेमन्त मल्ल ठकुरीले सुनाए। ठकुरी अन्सारी घटना हुँदा एसएसपीको रूपमा केरकार शाखामा कार्यरत थिए।

योगेशले यसअघि थुप्रै चित्र र स्केच कोरेका थिए। तर, अपराधी र अनुसन्धानका लागि उनको यो पहिलो असाइनमेन्ट थियो। डर र उत्साह दुवै उत्तिकै। उनले सिंहले भने झैँ स्केच कोरे। चित्र हेरेर सिंहले टाउको हल्लाउँदै उस्तै रहेको संकेत गरे।

उनको तालिम सकियो। अन्सारीको त्यही प्रकरणमा कोरिएको चित्रले योगेशको सङ्गठनको भूमिका नै फेरियो। अब बन्दुक र लाठी बोकेर सुरक्षा दिनु हिँड्न परेन उनले। विश्राम पाएको पेन्सिल फेरि उठाउन थाले। त्यसैको सहारामा अपराधीको मुखुण्डो कोर्न थाले।

११ वर्षदेखि योगेश महानगरीय अपराध महाशाखामा रहेर काम गरिरहेका छन्। यस अवधिमा ३ सय ५० भन्दा बढी स्केच बनाइसकेका छन् उनले। उनका स्केचबाट धेरै घटनाका अभियुक्त समातिएका पनि छन्।

+++

२०६८ असोज ९ गते काठमाडौंको घण्टाघर नजिकै नेपाल मुस्लिम इत्तेहाद सङ्घका अध्यक्ष फौजान अहमदको गोली हानी हत्या भयो। दिउँसोको घटनाले सबैलाई आतङ्कित बनाएको थियो। गोली हानेको देख्नेहरु थिए त्यस घटनामा।

पानी परिरहेको थियो। दुई जना मानिसले बाटोमा नै फैजानलाई समातेर कन्चटमा गोली हाने। प्रहरीको कार्यालय २ सय मिटर पनि टाढा थिएन। त्यस्तो ठाउँमा भएको घटनाले प्रहरीलाई चुनौती थपियो।

गोली कसले हान्यो? देख्ने दुई युवक थिए। दुवै त्रिचन्द्र कलेजका विद्यार्थी। फेरि योगेशकै काम आइहाल्यो। घटना भएको एक घण्टाभित्र उनी घण्टाघर पुगे। यतिसम्म कि उनले पेन्सिल र कागज समेत बोक्न बिर्सिएका रहेछन्। डीएसपी सोमेन्द्र सिंह राठौंरले उनलाई सहयोग गरे। नजिकै चिया पसलमा कागज र पेन्सिल मागेर ती विद्यार्थीले भने झैँ स्केच तयार पारे।

'योङ माइन्ड थियो। अनि सकिङ र केही घण्टा अघिमात्र भएकाले स्केच बनाउन समस्या भएन,' योगेशले सुनाए। त्यसो त समय र भन्ने व्यक्ति कुराले पनि स्केच सही या गलत बन्ने उनको बुझाइ छ।

प्रहरीले स्केचको आधारमा अपराधी खोज्यो। पछि अपराधी पत्ता लागेपछि योगेशले बनाएको स्केचसँग उसको हुलिया मिल्न गयो। त्यतिखेर आयुक्त कार्यालय रानीपोखरीका प्रहरी प्रमुख कुबेर सिंह राना थिए जसले योगेशको कामको गजबले प्रशंसा गरेका थिए।

अभियुक्तको पहिचान खुल्ने कुनै आधार नमिलेपछि प्रत्यक्षदर्शीको बयानका आधारमा तयार भएको स्केचको सहारामा अनुसन्धानमा खट्छ प्रहरी। योगेश तिनैको भनाईका आधारमा अपराधीको अनुहार दुरुस्त उतार्न सक्रिय रहन्छन्।

हुलिया बताउने (न्यारेटर)ले जति मज्जाले बताउन सक्छन् त्यही नै चाँडो र सही स्केच बन्ने गरेको योगेशको बुझाई छ।

'अपराधी भन्ने बित्तिकै मानिस हच्किन्छ। फेरि अपराध गरेको कसैले सम्झन चाँहदैन। त्यसैले कोही डराएर पनि बताउन मानिरहेका हुँदैनन्। तर, जसले मज्जाले भन्न सक्छ त्यस्तो केसमा स्केच सही बनेको हुन्छ,' योगेशले सुनाए।

उनलाई यस्ता घटनामा स्केच बनाउन सामान्यतया ४५ मिनेट देखि ३/४ दिनसम्म पनि लागेको अनुभव छ। तत्कालको घटना र अभियुक्तको अनुहारको छाप परेको घटनामा तत्काल स्केच तयार हुन्छ। यतिसम्म कि उनले ४ वर्षीया बालिकाले भनेको आधारमा पनि स्केच बनाएका छन्।

'उनीहरूले भने अनुसार स्केच नबनेसम्म हामीले बनाइरहनु पर्ने हुन्छ। त्यसैले समय भन्ने कुरा उनीहरूले भन्ने कुराले पनि फरक पार्छ,' योगेशले सुनाए।

उनी जब स्केच बनाउन थाल्छन्। सबैभन्दा पहिले उनी सोध्छन् - मानिस क्षेत्री, बाहुन, मंगोलियन कस्तो थियो? त्यसपछि उमेर र लिङ्ग। मोटो, दुब्लो, कपालको अवस्थादेखि अन्य पक्षहरू पालैपालो सोध्छन्। त्यस्तै, अनुहारमा देख्ने बित्तिकै पहिचान हुने कुनै निशान वा केही भए त्यो पनि।

'मैले तपाईँको बुबा देखेको छैन। तर, तपाईँलाई तपाईँको बुबाको हुलिया बताउन लगाएर बनायो भने स्केच बन्न सक्दैन। किनकि तपाईँले त बुबाको अनुहारमा धेरै प्रकारका हाउभाउ देख्नु भएको छ। जस्तो रिसाएको बेला, खुशी हुँदा, अन्य अन्य। मेरो अनुभवले एक चोटि देखेको अनुहार मस्तिष्कमा रह्यो भने त्यो चाहिँ राम्रो बन्छ,' योगेशले सुनाए।

घटना भएको लामो समय भएको घटनामा स्केच सही नहुनसक्ने योगशको अनुभव छ। त्यसो त योगेशले रानीबारी घटनामा पनि स्केच बनाएका थिए। २०५९ असार ३१ मा रानीबारस्थित एक घरमा इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जलीको खुकुरी प्रहार गरी हत्या भएको थियो। घटना भएको १२ वर्षपछि प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएको थियो।

अभियुक्तले दम्पतीको हत्या गरेर नजिकैको धारोमा खुकुरी पखालेका थिए। त्यसपछि नजिकैको पसलमा गएर चिया खाएका थिए। त्यो खुकुरी पखालेको दृश्य पसलेले देखेका रहेछन्। त्यही पसलेसम्म प्रहरी अनुसन्धान गर्दै पुगेको थियो। पहिलो पटक दिराम पाल्पालीले अभियुक्तको स्केच तयार पारेका थिए। योगेशले चाहिँ घटना भएको १२ वर्षपछि अभियुक्तको स्केच कोरेका थिए।

'१२ वर्षअघि भएकाले २२ वर्षको मानिसलाई ३४ वर्षको बनाउनुपर्ने थियो। मेरा लागि यो एउटा नयाँ अनुभव थियो,' योगेशले सुनाए।

उनको चित्रको सहयोगमा धेरै अपराधी पत्ता लागेको महानगरीय अपराध महाशाखाका चन्द्रकुबेर खापुङले सुनाए। त्यसो त उनीभन्दा अगाडि पनि नेपाल प्रहरीले स्केच बनाएर अपराधी नखोजेको होइन। तर, त्यतिखेरको शैली फरक थियो।

'म अझै पनि योगेशको स्केचहरू सम्झिरहेको छु। उसले पाकिस्तानी दूतावासका एक कर्मचारीको घटनामा स्केच बनाएपछि म उसप्रति विश्वास गर्ने भएको थिएँ। नेपाल प्रहरीमा आर्टलाई परिवर्तन गर्ने योगेश नै हो,' पूर्व डीआइजी हेमन्त मल्ल ठकुरीले भने।

देशभरका हत्या घटना, ट्याक्सीमा लुट्ने समूह लगायत जो आफ्नो परिचय छोपेर आपराधिक गतिविधि गर्थे, तिनीहरुको मुखुण्डो उतार्न योगेश सफल ठहरिए। नसुल्झिएका र जेलिएका अपराधमा प्रहरीले उनको पेन्सिलबाट सुल्टाएको छ। निर्मला पन्त प्रकरणमा पनि योगेशले स्केच कोरेका थिए। महानगरीय अपराध महाशाखाका डीएसपी रुगुम कुँवरको टोलीले योगेशलाई चित्र बनाउन लगाएको थियो। निर्मलाको शव भेटिएको नजिकैको स्थानमा लिङ्ग देखाउने मानिसको खोजीमा स्केच बनाइएको थियो। स्केच अनुसार मानिस पत्ता लाग्यो। तर, घटनामा ती पक्राउ पर्नेको कुनै संलग्न देखिएन।

आफ्नो कामबाट सन्तुष्ट सुनिए योगेश। 'अरुतिर भए पैसा धेरै हुन्थ्यो होला। तर यहाँको कामले त्यसभन्दा धेरै सन्तुष्टि दिएको छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell