PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

एउटै कोठामा ५० परीक्षार्थी : 'विद्यार्थीको देश खै?' भन्दै पाटन क्याम्पसमा प्रदर्शन

एउटै कोठामा ५० परीक्षार्थी : 'विद्यार्थीको देश खै?' भन्दै पाटन क्याम्पसमा प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको दर फेरि बढ्दै गइरहेको छ। यस अवस्थामा जिल्ला प्रशासन कार्यालयले भिडभाड नगर्न, सभा सम्मेलन संचालन नगर्न भन्दै निर्देशन दिएको थियो। 'लुज' निधेषाज्ञाको अवधि थप्दै प्रशासनले स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारवाही गर्ने जनाएको थियो।

काठमाडौंमा संक्रमण बढ्दै गइरहेको र प्रशासनको निर्देशनबिच अहिले त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभिन्न संकायको परीक्षा भइरहेको छ। संक्रमणको जोखिम बढ्दै गइरहेको बेला भौतिक उपस्थितिमा नै परीक्षा लिने निर्णयको आलोचना भएपनि परीक्षा केन्द्रमा भिड गरेर परीक्षा लिने काम भइरहेको छ। केही परीक्षा केन्द्रमा बाहेक अधिकांश केन्द्रहरुमा स्वास्थ्य मापदण्ड पालना भएको देखिँदैन।

यसबिच पाटन ढोकास्थित पाटन क्याम्पसमा स्नातकोत्तरको परीक्षा दिइरहेका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन्। समाजशास्त्र अन्तर्गतको परीक्षा दिन पुगेका विद्यार्थीहरुले कोभिड १९ संक्रमणको अवस्थाबिच एउटै कोठामा ५० जना विद्यार्थी राखेर परीक्षा लिएको विरोधमा प्रदर्शन गरेका हुन्।

विद्यार्थीहरुले परीक्षाकेन्द्रमा कुनै स्वास्थ्य मापदण्ड पालना नगरिएको र परीक्षाको नाममा विद्यार्थीको स्वास्थ्यसँग खेलेको आरोप लगाएका छन्। होम सेन्टरको व्यवस्था नगरी परीक्षा केन्द्र तोकेर विद्यार्थीहरुलाई भिडमा राखेर परीक्षा लिने काम विश्वविद्यालयले गरेको भन्दै 'विद्यार्थीको देश खै?, नो भ्याक्सिन- नो एक्जाम' लगायतका नारा लेखेर प्रदर्शन गरेका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell