काठमाडौँः नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकले भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानका लागि आयोग गठन गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ। यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गरेको तीन दिन नबित्दै सत्ता घटक माओवादी केन्द्रले आयोग गठनका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो।
तत्कालीन सरकारले देवीप्रसाद ज्ञवालीको नेतृत्वमा आयोग गठन गरेको थियो। मन्त्रिपरिषद्को मंगलबारको बैठकले आयोग खारेज गर्ने निर्णय गरेको थियो। आयोग खारेजीमा प्रमुख विपक्ष दल नेकपा (एमाले) ले विरोध जनाएको छ।
माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आयोग गठनका लागि सरकारलाई आग्रह गर्ने निर्णय भएको बताए।
यस्तै, बैठकले सरकार सञ्चालनका न्यूनतम साझा कार्यक्रम सार्वजनिकको आग्रह पनि गरेको छ। साझा कार्यक्रम सत्तारुढ दल निकटको कार्यदलले अन्तिम रुप दिइसकेको छ।
बैठकले लुम्बिनी प्रदेश सभा सदस्य विमला वली ‘अपहरण’को पनि भत्सर्ना गरेको छ। सांसद वलीले आफूलाई चार दिनसम्म मुख्यमन्त्री कार्यालयमा बन्धक बनाइएको आरोप लगाएकी थिइन्। माओवादीले उक्त घटनाको विरोध जनाएको हो।
यस्तै, बैठकले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिन पनि सरकारलाई आग्रह गरेको छ। प्रवक्ता श्रेष्ठले मन्त्रालयबारे टुंगो लाग्ने क्रममा रहेको र एक दुई दिनमै मन्त्रिपरिषदले पूर्णता पाउने बताए।