PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

काठमाडौंमा गथांमुग : टंकेश्वरीमा लगेर गरियो बिसर्जन

काठमाडौंमा गथांमुग : टंकेश्वरीमा लगेर गरियो बिसर्जन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आज नेवार समुदायले गथांमुग मनाएका छन्। प्रत्येक वर्ष दिलागा चर्‍हे अर्थात साउन कृष्ण चतुर्दशीको दिन मनाइने गथांमुग: भूतप्रेतसँग सम्बन्धित पर्व हो।

आजको दिन नेवार समुदायमा बिहान घर सफा गरेर फलामको औंठी लगाए। भूतप्रेत लगायतको आध्यात्मिक शक्तिबाट टाढा रहन फलामको औंठी लगाउने प्रचलन रहेको छ।

एक कथन अनुसार तन्त्रिकविद्या, कुविद्या वा बोक्सी विद्याको साधना गर्नेहरु आज सक्रिय हुने गर्छन्। आज राति उनीहरु आफ्नो औंलामा आगो बालेर निस्किन्छ र राक्षसी विद्यामा सिद्धि प्राप्त गर्ने जनविश्वास छ। त्यसैले नेवार समुदायले यो दिनलाई भूतप्रेत पन्छाउने दिनका रुपमा मनाउँदै आएका छन्।

फलामबाट राक्षसी शक्तिलाई पराजित गर्न बेलुकी घरको मूल ढोकामा (प्यांकी) तीन खुट्टे फलामे किला ठोक्ने प्रचलन समेत रहेको छ। यसबाट घरभित्र भूतप्रेत पस्न नसक्ने र फलाम ठोकेपछि घरबाट राती बाहिर निस्कन नहुने जनविश्वास रहेको छ।

आजको दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नर्कट र छ्वालीबाट राक्षसको प्रतीक बनाई त्यसलाई नदीमा लगेर सेलाउने परम्परा रहेको छ। भक्तपुरका टोलटोलमा गथांमगको प्रतीकका रुपमा छ्वालीबाट राक्षस बनाएर जलाउने गरिन्छ।

काठमाडौंमा भने गथांमुगलाई नगरमा बालेर तानेर खोलासम्म लगेर बिसर्जन गर्ने चलन रहेको छ। दिनभरी गथांमुग: लाई टोलको दोबाटोमा राखिन्छ। त्यसबेला स्थानीयले 'ओम शान्ति जय नेपाल, आजु जय हा' भन्दै गथांमुग मनाउने गर्छन्।

आज चिकंमुगमा बनाइएको गथांमुगलाई तानेर टंकेश्वरीमा लगेर बिसर्जन गरिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell