PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'द भ्वाइस अफ नेपाल - ३' को फिनाले कार्यक्रम सेटमै, को बन्ला त विजेता?



लक्ष्मी बलायर

'द भ्वाइस अफ नेपाल - ३' को फिनाले कार्यक्रम सेटमै, को बन्ला त विजेता?

काठमाडौं: गायन रियालिटी शो 'द भ्वाइस अफ नेपाल - ३' को आज फिनाले हुँदैछ।

फिनालेमा निर्णायकहरु दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङ टिमबाट एकएक जना प्रतिस्पर्धी फाइनल पुगेका छन्।

टीम दिपबाट आर्यन तामाङ, टिम प्रमोदबाट किरण गजमेर, टिम राजुबाट तारा श्रीश मगर र टिम तृष्णाबाट ज्वाला राई फाइनलमा भिड्नेछन्। आज हुने फिनालेमा चारजना मध्ये एकजना 'द भ्वाइस अफ नेपाल-३' विजेता घोषित हुने छ।

फिनालेको लागि तयारी पुरा भइसकेको 'द भ्वाइस अफ नेपाल-३' शोका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए।

'कोरोनाका कारण फिनाले सीमित दर्शकहरुलाई राखेर द भ्वाइस अफ नेपालकै सेटमै कार्यक्रम सम्पन्न गरिनेछ। भ्याक्सिन लगाएका दर्शकलाई मात्रै शो मा सहभागी गराइनेछ। अनि माक्स पनि अनिवार्य हुनेछ,' उनले पहिलो पोस्टसँग भने।

शो का केही पार्टहरु रेकर्ड भइसकेको र नतिजा भने आज साँझ प्रत्यक्ष प्रसारणमा नै घोषणा गरिने समेत उनले सुनाए।

हरेक शुक्रवार र शनिवार राति ८ प्रशारण हुँदै आइरहेको शो को फिनाले आज शनिवार साँझ ८ बजे हुनेछ।

कोरोना महामारिबिच सुरु भएको शो 'द भ्वाइस अफ नेपाल ३' निकै लोकप्रिय बनेको छ। जसकारण शो का धेरै एपिसोडहरु युट्युबको ट्रेन्डिङमा समेत परेका थिए।

शो को फाइनलमा भिड्ने चार प्रतिस्पर्धीबिच निकै कडा प्रतिस्पर्धा चलिरहेको छ। अडियन्सले दिएको भोडको आधारमा प्रतिस्पर्धीमध्ये एक जना विजेता हुनेछ।

यी हुन् चार प्रतिस्पर्धी

आर्यन तामाङ

प्रतिस्पर्धी आर्यन तामाङ टिम दिपबाट फाइनलमा पुगेका हुन्। भारतको दार्जिलिङ घर भएका आर्यनलाई भ्वाइसका 'कान्छा छोरा' को नामले समेत चिन्ने गरिन्छ।

आर्यनले सेमि फिनालेमा बुटवलका गोविन पुनलाई भोटिङमा उछिनेर फाइनलमा प्रवेश गरेका हुन्।

१९ वर्षिय आर्यनले दार्जिलिङबाट नै डिजिटल अडिसन दिएर ब्लाइन्ड अडिसनमा छानिएका हुन्। 'द भ्वाइस अफ नेपाल २' का प्रतिस्पर्धी विकास लिम्बुको 'पहिलो नजर' बोलको गीत गाएर उनले ब्लाइन्ड अडिसनमा कोच दीप र तृष्णाको कुर्ची घुमाउन सफल भएका थिए। जसमा उनले दीप श्रेष्ठलाई कोचका रुपमा छानेका थिए।

किरण गजमेर

किरण गजमेर टिम प्रमोदबाट फाइनलमा प्रवेश गरेका हुन्। उनले सेमि फिनालेमा सिक्किमका रवि गहतराजलाई पछाडि पार्दै फाइनलमा पुगेका हुन्। रवि र किरणबिच कडा प्रतिस्पर्धा चलेको थियो। तर कार्यक्रमको नियमअनुसार एकजना बाहिरिनु पर्ने थियो। जसमा रविले किरणको भन्दा कम भोट पाएर बाहिरिएका थिए।

हाल अमेरिकामा बस्दै आएका किरण झापाको खुदुनाबारी शिविरमा जन्मेका हुन्। उनका बुवा भुटानबाट लखेटिए पछि मुलथलो नेपाल पुगेका थिए। किरणको बाल्यकाल खुदुनाबारी शिविरमा बितेको हो। अमेरिका लगायत विभिन्न ८ देशले आफूहरुले संरक्षण दिने भनेपछि किरण १४ वर्षको उमेरमा परिवारसहित अमेरिका पुगेका थिए।

किरणले ब्लाइन्ड अडिसनमा गायक सुजन चापागाईको 'तिनपाते' गीत गाएर चारै जनाको कोचलाई घुमाउन सफल भएका थिए। ब्लाइन्ड राउण्डदेखि नै किरणले निकै प्रशंसा तथा फ्यानको साथ र माया पाएका छन्।

किरणले 'पूर्णिमाको चन्द्रमालाई' बोलको गीतमा संगीत समेत भरिसकेका छन्। उनले मै बनौला माली, किन मायामा, ठुली ठुली जस्ता गीतहरु गाइसकेका छन्। साथै फिल्म 'साढे ७' को गजब हुनेछ र 'राधा' को 'छपक्कै फूल फुल्यो' बोलको गीतमा समेत स्वर दिइसकेका छन्।

तारा श्रीश मगर

टिम राजुबाट बाग्लुङकी तारा श्रीश मगर फाइनलमा पुगेकी हुन्। काठमाडौंका सोनाम शेर्पालाई सेमि फाइनलमा पछि पार्दै उनले आफ्नो यात्रा सुरक्षित बनाएकी हुन्।

ब्लाइन्ड अडिसनमा ताराले गायक सुविन राईको ‘तिमी नै हौ‘’ गीत गाएकी थिइन्। जुन गीत सुनेर चारै जना कोचहरुले कूर्ची घुमाएका थिए। उनले भने कोचमा राजु लामालाई रोजिन्।

तारा पनि आफ्नो निखारिएको गायनले दर्शकको मन जित्न सफल छिन्। ताराले कौरा, सालैजो, गुरुङ, मगर भाषाका थुप्रै गीतहरु गाउनुका साथै फिल्म ‘शिरफूल’को शीर्ष गीतमा समेत स्वर भरिसकेकी छिन्।

ज्वाला राई

खोटाङ भोजपुरका ज्वाला राई टिम तृष्णाबाट फाइनलमा भिड्नेछन्। उनले सेमी फाइनलमा काठमाडौंकी अफ्रिता खड्गीभन्दा बढी भोट पाउँदै फाइनलमा पुगेका थिए।

कभर गीत गाएर चर्चामा आएका ज्वालाले ‘कोच तृष्णा’को टिमबाट आफूलाई निखार्दै फाइनलसम्मको यात्रा तय गरेका छन् ।

उनले ब्लाइन्ड अडिसनमा सुगम पोखरेल र अन्जु पन्तको 'तिमीबिनाको पल' गीत गाएका थिए। कोचहरु दीप तृष्णा र प्रमोदले कुर्ची घुमाएका थिए। उनले भने कोच तृष्णालाई रोजेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell