PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

अपराधले जेलिएको काठमाडौं उपत्यका : हत्या बढ्दो, आत्महत्या झनै डरलाग्दो



पहिलोपोस्ट

अपराधले जेलिएको काठमाडौं उपत्यका : हत्या बढ्दो, आत्महत्या झनै डरलाग्दो

काठमाडौं : गएको आर्थिक वर्षमा देशभर नै अपराधको तथ्याङ्को ग्राफ उकालो लाग्यो। हत्या, आत्महत्या लगायतका घटना बढे। हत्या त २५ प्रतिशतभन्दा बढीले बढ्यो। देशभर मात्र होइन काठमाडौं उपत्यकामा समेत यसको प्रभाव देखियो।

सुरक्षाको हिसाबले सबैभन्दा धेरै सुरक्षित मानिने काठमाडौं उपत्यकाभित्र पनि हत्या, जबरजस्ती करणी,  आत्महत्याका घटना वर्षभरी नै भइरहे। कति घटनामा प्रहरीले तत्कालै अभियुक्तलाई पक्राउ गर्न सफल भयो भने कति घटना अझै अनुसन्धानमा नै छन्। प्रहरीले यस्ता घटनाको क्लुसमेत फेला पार्न सकेको छैन। केही घटनामा मारिएका मानिसको सनाखतसमेत गर्न सकेको छैन।

धेरैजसो हत्याका घटना आफन्त र परिचित व्यक्तिबाट नै भएको देखियो। श्रीमानले श्रीमतीको श्रीमतीले श्रीमानको हत्या गरेको घटनासम्म गएको आर्थिक वर्षमा भए। नयाँ आर्थिक वर्ष सुरु भएपछि पनि यस्ता घटना भइरहेका छन्।

साउन २१ गते काठमाडौंको चमतीमा ‍२८ वर्षीया बबिता राईको हत्या भयो। उनको घाँटी थिचेर हत्या गरेको देखिएको छ। प्रहरीले हत्या गरेको अभियोगमा नुवाकोट तादी गाउँपालिका २ सातबिसे घर भएका ३३ वर्षीय रामेश्वर गोतामेलाई नियन्त्रणमा लियो। पक्राउ परेका गोतामे मृतकका श्रीमान् हुन्। अभियुक्त गोतामेले आफूले हत्या गरेको स्वकार गरिसकेको प्रहरीले जानकारी दिएको छ। आफूलाई दैनिक विभिन्न कुराले टचर दिएकाले हत्या गरेको प्रहरीमा बयान दिएका छन्।

त्यस्तै असार २० गते भारतीय नागरिक सत्यनारायण पारिख आफ्नै कोठामा मृत फेला परे। ललितपुर-२ सानेपास्थित राम मन्दिर नजिकै ५९ वर्षीय पारिखको हत्या भएको थियो। तर प्रहरीले अहिलेसम्म न त पारिख हत्याको कारण पत्ता लगायो न त हत्यारा नै पक्राउ गर्न सक्यो। घटनामा लिड नमिल्दा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। त्यस्तै बौद्धमा भेटिएको मानव अङ्गको अनुसन्धान पनि प्रहरीको लागि जटिल बनेको छ। शरीरको खुट्टा फेला पार्दा कसको हो? घटना के हो भन्नेसमेत अलमलमा परेको छ प्रहरी।

आर्थिक वर्ष २०७७/७८ को काठमाडौं उपत्यकाभित्र भएको हत्याको तथ्याङ्क केलाउने हो भने प्रत्येक महिना तीन जनाको हत्या हुने गरेको देखिएको छ। देशभरको तथ्याङक हेर्दा दैनिक १ जना मानिस मारिने गरेका छन्। आर्थिक वर्ष २०७७/७८ मा देशभर ६ सय ९७ जनाको हत्या भएको थियो। यो अघिल्लो आर्थिक वर्षसँग तुलना गर्दा २५ प्रतिशतले बढी हो।

'एघार वटा विभिन्न अपराधमध्ये ६ वटा शीर्षकमा बढेको देखिएको छ। पाँच वटा घटेका छन्,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले भने।

काठमाडौं उपत्यकाभित्र बढ्दो अपराध

आर्थिक वर्ष २०७७/७८ मा काठमाडौं उपत्यकाभित्र हत्याको सङ्ख्या बढेको देखिएको छ। यो आर्थिक वर्षमा काठमाडौं उपत्यकाभित्रका काठमाडौं, ललितपुर र भक्तपुरमा ४६ जनाको हत्या भएको देखिन्छ। जसमा सबैभन्दा धेरै काठमाडौं जिल्लामा। काठमाडौँमा ३२, ललितपुरमा ६ र भक्तपुरमा ८ जनाको हत्या भएको थियो। आर्थिक वर्ष २०७६/७७ मा भने ३४ जनाको मात्र हत्या भएको थियो। आर्थिक वर्ष २०७५/७६ मा ५३ जनाको ज्यान लिएको देखिन्छ।

काठमाडौं उपत्यकाभित्र आत्महत्या गर्ने दर पनि बढ्दै गएको देखिएको छ। आर्थिक वर्ष २०७५/७६ मा ५ सय ३९ जनाले आत्महत्या गरेका थिए। आर्थिक वर्ष २०७६/७७ मा यो सङ्ख्या बढेर ५ सय ५५ पुग्यो। गएको आर्थिक वर्षमा आत्महत्याको सङ्ख्या झन् बढ्यो। गत वर्ष ५७० जनाले आत्महत्या गरेका छन्। तीन जिल्लामध्ये काठमाडौंमा ४ सय ३ जना, ललितपुरमा ९८ र भक्तपुरमा ६९ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ।

काठमाडौं उपत्यकाभित्र चोरीका घटना भने गएको तीन आर्थिक वर्षमा घट्दै गएको देखिएको छ। आर्थिक वर्ष २०७५/७६ मा ८ सय ८८ वटा चोरीका घटना भएका थिए। जसमा काठमाडौंमा ६ सय ६७ वटा थिए। आर्थिक वर्ष २०७६/७७ मा चोरीका घटनामा कमी आयो। ६ सय ५९ वटामात्र चोरीका घटना भए। यो सङ्ख्या गएको आर्थिक वर्ष २०७७/७८ मा पनि कमी भयो। ५ सय ८१ वटामात्र चोरीका घटना भएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसपी सशील सिंह राठौंरले जानकारी दिए।

देशभर जबरजस्ती करणीका घटना गएको र त्यसअघिको आर्थिक वर्षमा तुलना गर्दा १८ प्रतिशतले बढेको देखिन्छ। तर काठमाडौं उपत्यकाभित्रको हकमा यस्ता घटनामा कमी आएको छ। आर्थिक वर्ष २०७५/७६मा काठमाडौं उपत्यकामा २ सय ९६ वटा जवर्जस्ती करणीका घटना भएका थिए। तर आर्थिक वर्ष २०७६/७७ मा यो सङ्ख्यामा केही कमी देखियो। २ सय ६६ वटा जवर्जस्ती करणीका घटना प्रहरी समक्ष पुगेका थिए। गएको आर्थिक वर्ष २०७७/७८ मा यो सङ्ख्या अझै कमी आयो। २ सय ६६ बाट घटेर २ सय २६  पुग्यो। काठमाडौंमा १ सय ५१, ललितपुरमा ३८ र भक्तपुरमा ३७ वटा घटना भएका छन्।

गएको आर्थिक वर्षमा सामाजिक अपराधमध्येको छुवाछुतसम्बन्धी एउटा घटना निकै चर्चामा रह्यो। जातको आधारमा नै घरको कोठा भाडामा नदिएको भन्दै प्रहरीमा उजुरी परेपछि प्रहरीले घरधनी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएर अनुसन्धानसमेत गरेको थियो। यस वर्ष यस्तै प्रकृतिका छुवाछुतसम्बन्धी दुई वटा घटना प्रहरीमा दर्ता भएको प्रहरीले जनायो। दुई वटै घटना काठमाडौँका। यसअघिको चालु आर्थिक वर्षमा पनि छुवाछुतसम्बन्धी दुई वटा घटना दर्ता भएका थिए। एउटा काठमाडौं र अर्को भक्तपुरको।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell