PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

आपराधिक घटना बढ्दा प्रदेश २ मा प्रहरीले संकलन गर्‍यो ७२ करोड राजस्व



राधेश्याम पटेल

आपराधिक घटना बढ्दा प्रदेश २ मा प्रहरीले संकलन गर्‍यो ७२ करोड राजस्व

वीरगंज : प्रदेश २ बाट नेपाल प्रहरीले झण्डै ७२ करोड बराबरको राजस्व संकलन गरेको छ। अवैध चोरी निकासी शीर्षकका मात्रै करिब ५९ करोड असुली गरेको छ।

सुनचाँदी तस्करी, अवैध वित्तीय करोबार हुन्डी, ट्राफिक नियम पालना नगरेको वापतका जरिबाना लगायत शीर्षकमा धेरै राजस्व संकलन भएको प्रदेश कार्यालय जनकपुरधामले जनाएको छ।

डीआईजी उमेश रञ्जितकारका अनुसार गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्म भन्सार कार्यालयहरुमा बुझाइएको अवैध चोरीनिकासीका सामान शीर्षकमा ५८ करोड ८२ लाख ५१ हजारका छन्। २३ किलो ३८८ ग्राम ५१२ मिलिग्राम सुन बरामद भएकोमा त्यसको मूल्यांकन १८ करोड ६३ लाख ८२ हजार छ।

यस्तै, ११६ किलो २७४ ग्राम चाँदी बरामद हुँदा मूल्यांकन ५५ लाख ४३ हजार छ। ४३ जना हुन्डी कारोबारीलाई पक्राउ गर्दा ३ करोड ८३ लाख ६७ हजार र २ लाख ५७ हजार ८९ जनालाई ट्राफिक प्रहरीले कारबाही गर्दा १९ करोड ४ लाख ५५ हजार असुली भएको छ।

अघिल्लो आवको १२ महिनामा यिनै शीर्षकमा ३६ करोड ५२ लाख ७६ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको थियो। आव २०७६/७७ मा अवैध चोरीनिकासीको सामान भन्सारमा बुझाइएको शीर्षकमा ३२ करोड ७९ लाख ३५ हजार थियो भने २१ लाख ११ हजार मूल्य बराबरको ३२५ ग्राम सुन र २१ लाख ३१ हजार मूल्य बराबरको ३६ किलो ६५२ ग्राम चाँदी बरामद भएको थियो।

सुन ओसारपसारमा एक जना र चाँदी बरामद गर्दा १२ जना पक्राउ परेका थिए। त्यसैगरी, हुन्डीमा आव २०७६/७७ मा ५४ जना पक्राउ पर्दा ३ करोड १८ लाख १७ हजार रुपैयाँ बरामद भएको थियो।

अघिल्लो आवभन्दा गत आवमा अवैध चोरीनिकासी ५३ प्रतिशत र हुन्डीको अपराध २६ प्रतिशतले वृद्धि भएको छ भने २१ प्रतिशतले राजस्व संकलन वृद्धि भएको छ। २४ प्रतिशतभन्दा बढी ट्राफिक कारबाहीमा परेका छन् भने जरिबाना असुली ६७ प्रतिशतले वृद्धि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell