काठमाडौँ : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओलीलाई अन्तिम मौका दिइएको बताएका छन्। तर, ओली सुध्रिएर आउनेमा आफूलाई कुनै पनि आश नरहेको पनि नेपालले बताए।
दोलखा काठमाडौँ सम्पर्क मञ्चका आफू पक्षीय नेताहरुलाई भर्चुअल सम्बोधन गर्दै नेपालले ओलीले सदस्यता वितरण रोके, आइतबारका लागि बोलाइएको बैठक स्थगित गरेमा वार्ताको प्रक्रिया अघि बढ्ने पनि बताए। तर, ओलीले दुबै गतिविधि नरोक्नेमा आफू विश्वस्त रहेको पनि उनको दाबी छ।
‘हामीले अन्तिम मौका दिएका छौँ। उहाँले २४ गतेको कथित बैठक रोक्नुहुन्छ वा हुन्न। पार्टी सदस्यता वितरणको काम रोक्नुहुन्छ वा हुन्न। वडा तहसम्मको अधिवेशन रोक्नुहुन्छ वा हुन्न। गाली गलौजको गोला बारुद बन्द हुन्छ कि हुँदैन। त्यसबाट उहाँ के चाहनुहुन्छ प्रस्ट हुन्छ। म त यसमा कुनै भ्रम छैन। दुविधा छैन। केपी ओली सुध्रिन्छन् भन्ने मलाई पटक्कै विश्वास छैन, तपाईँहरु आजको डायरीमा नोट गरेर राख्नुस्। सुध्रिहाले म ठान्नेछु मैले अली आग्रह पालेको रहेछु कि भन्ने ठानौँला,’नेपालले भने, ‘यदि सुध्रिनुभएन भने गर्ने के त हामी? त्यहाँ गएर फस्ने चिच्याउने? कराउने? टाउकोमा हात राखेर बस्ने? यो मञ्जुर छैन। यसैले सम्मानजनक एकता हामीले खोजेको हो। सम्मानजनक एकताका लागि केपी ओली तयार छन् त? आज पनि मैले राम्रो लक्षण पाएको छैन।’
गालीको कारखाना चलाए
ओलीले आफूहरुमाथि निरन्तर गाली गलौज गरिरहेको पनि नेपालले बताए। आफूहरु पनि लाछी नभइ क्रान्तिकारी भएको जवाफ दिन आवश्यक रहेको नेपालको भनाई छ।
‘अब हाम्रो कार्यक्रम धमाधम लगातार अघि बढाउनुपर्छ। केपी ओलीले धमाधम कार्यक्रम अघि बढाइरहेका छन्। हामी तमासा हेरेर उता के गर्छन्, के भन्छन् भनेर कुरेर बसेका छौँ। कुरेर बस्ने मान्छेले केही पनि गर्न सक्दैनन्। संसार लाछीहरुको हैन। गतिशीलहरुको हो’, नेपालले अघि थपे, ‘उनी धमाधम गालीको काराखाना चालु राखिरहेका छन्। गालीका गोला बारुदहरु पड्काइरहेका छन्। हामी चाहिँ म्याउँम्याउँ गरिरहेका छौँ। म्याउँ गर्नेले केही गर्न सक्दैन।’
ओलीसँग समर्पण भएमा कार्यकर्ताको मनोबल गिर्ने नेपालको भनाई छ। उनले विचार मिल्नेहरुलाई एकतावद्ध गरेर अघि बढ्न पनि निर्देशन दिए।
ओलीको व्यक्तिवादी सोचविरुद्ध आफूहरु लडेको र त्यसमा सफलता पाइरहेको पनि नेपालले सम्बोधनका क्रममा बताए। उनले भने, ‘हामीले ओलीको प्रतिगमनका विरुद्धमा जुधेको हौँ। यसमा कुनै दुविधा छ? उनले प्रतिगामी कदम चालेका हुन्। प्रतिनिधिसभा विघटन गरेका हुन्। त्यसपछिको एउटै कारण स्वेच्छाचारी ढंगले सरकार चलाउन पाएनन्। आलोचना भयो। विधिमा चल्न चाहेनन्। यिनै कारणले समस्या खडा भएको हैन? पार्टीको बैठक बोलाउनु भएन। अरुको कुरा सुन्नुभएन। सामूहिकतामा चल्नुभएन। मदन भण्डारी फाउन्डेशनलाई अघि बढाउनुभयो। गुटवादी तरिका अपनाउनुभयो। आफ्ना पक्षधरलाई जे पायो त्यही बोल्न लगाउनुभयो। नेताहरुको मानमर्दन गर्न लगाउनुभयो। यसकारण उहाँले प्रतिगामी बाटो समात्नुभयो। तर, उहाँका सबै कदम असफल हुँदै गए। हामीले कदम गलत छन् भन्ने निष्कर्ष निकालेका हौँ।’
ओलीको भाषण सुन्न सुझाव
सबैतिरबाट ओली एक्लिएको नेपालको दाबी छ। उनले ओलीको प्रवृत्ति बुझ्न दश मिनेट भाषण सुन्न पनि कार्यकतालाई सुझाव दिए।
‘उहाँका सबै भाषणहरु सुन्नुस्। नभए पनि उहाँका रेकर्डहरु सुन्नुस्। एउटा रेकर्डलाई पाँच मिनेट वा दुई मिनेट दिनुस्। दश वटा भाषण सुन्नुस्। मेरो बारेमा के बोलेका छन्। हाम्रो पक्षका साथीहरुका बारेमा के बोलेका छन्। महेश बस्नेतलगायतका व्यक्तिका एक एक लिखत र भाषणहरु अभिव्यक्ति सुनाइदिनुस्। यसले के संकेत गर्छ। तैपनि भ्रम? तैपनि केपी ओलीलाई सुधार्न सकिन्छ भने ठिकै छ। किनकी हाम्रो अर्को पार्टी खोल्ने चाहना हैन। हाम्रो चाहना यो पार्टीलाई क्रान्तिकारी बनाएर अघि बढाउने नै हो। तर, केपी ओलीले पार्टी सिध्याइसके हैन?’, नेपालले प्रश्न गर्दै भने।
ओलीले पार्टीलाई दक्षिणपन्थी भासमा लगेको आरोप लगाए। आफूहरुभन्दा महन्थ ठाकुर र कमल थापाहरु ओलीलाई प्यारो भएको नेपालको आरोप छ। थापासँगको सामीप्यताका कारण ओलीसँगै दरबारिया समेत रौसिएको नेपालको टिप्पणी छ।
‘पार्टीलाई दक्षिणपन्थी भासमा लगिसकेको हैन? सबैभन्दा प्यारो महन्थ ठाकुर हैन? जसरी भए पनि भारतीय नागरिकलाई नागरिकता दिलाउन लागि परेको हैन? नेपालको तराई क्षेत्रलाई टुक्र्याउन खोजेको हैन?’, नेपालले भने।
ओलीले आफ्ना विरोधीलाई गद्दारको आरोप सजिलै लगाइदिने गरेको आरोप पनि नेपालले लगाए। विवाद थाती राखेर एमालेमा मिलेमा पनि झगडा कायम रहने उनको भनाई छ। ओलीका साइबर सेनाहरुलाई झेल्न नसक्ने पनि नेपालले बताए।
नेपालले भने, ‘केपी ओलीका जति पनि हनुमानहरु छन्, बाँदर सेनाहरु छन्, साइबार सेनाहरु छन्, स्यालहरु छन् यी सबै नियन्त्रण गर्न सकिएला? आँट भएको मान्छे कोही भए नेता मान्न म तयार छु। मैले सबैको खुट्टी देखेको छु। नाडी छामेको छु। यति भएर पनि म अन्तिम निष्कर्षको पक्षमा छु।’
देउवा ओलीभन्दा गतिला
ओलीले माओवादीलाई विश्वासमा लिएको अवस्थामा अहिलेको अवस्था सिर्जना नै नहुने नेपालको भनाई छ। आफ्नै पार्टीमात्र पनि एकतावद्ध राखेको अवस्थामा वर्तमान समस्या सिर्जना नहुने पनि उनले बताए। पार्टी अहिलेको अवस्थामा आउनुमा ओलीको भूमिका रहेको नेपालको आरोप छ।
शेरबहादुरको सरकारलाई विश्वासको मत नदिएको भए सोही दिन प्रतिनिधि सभा भंग हुने अवस्था रहेकाले प्रतिनिधि सभा बचाउन मतदान गरेको नेपालको भनाई छ।
पार्टीभित्रकै कारण आफूले राजीनामा दिएर झलनाथ खनाल प्रधानमन्त्री भएको स्मरण गर्दै नेपालले एमाले ओलीको पेवा नभएको बताए। ओलीले राजीनामा दिएको अवस्थामा पार्टी विवाद सहज मिल्ने अवस्थामा रहेको पनि उनले बताए।
ओली प्रवृतिविरुद्ध आफूहरुको लडाईँ रहेको माधवको मत थियो।
‘उहाँमा जुन व्यक्तिवादी प्रवृति छ, जुन अहंकार छ, निरंशुक प्रवृति र गैरकम्युनिस्ट आचरण विकास भएको छ। विदेशी सामु लम्पसार पर्ने प्रवृत्ति देखिएको छ। त्यसका विरुद्धको हो यो लडाईँ। विचारको लडाईँ जारी छ। यो लडाईँमा दृढताका साथ अघि बढ्नुपर्छ।’
अहिलेसम्म आफू सबै मोर्चामा जितेर पनि उत्साहित हुन नसकेको नेपालको भनाई छ। सबै मोर्चामा हारिरहेका ओली अझै पनि उत्साहित रहेको नेपालको टिप्पणी छ।
नेपालले ओलीभन्दा शेरबहादुर देउवा गतिला भएको पनि टिप्पणी गरे। तर, देउवा पनि कम्युनिस्ट जति गतिला नभएको नेपालको भनाई छ।
‘केपी ओलीभन्दा गतिला हुन शेरबहादुर तर कम्युनिस्टभन्दा गतिला हैनन्। एमालेभन्दा गतिला हैनन्। तर, धेरै बदमासभन्दा थोरै बदमासलाई ल्याउनुपर्छ भनिन्छ। ऊ त लोकतन्त्रवादी मान्छे हो कमसेकम। हेर्नुस् त ऊ प्रधानमन्त्री भयो पूर्वप्रधानमन्त्रीको सम्मान गरेर बोलायो। माधव नेपालजीले बाघ सम्मेलनमा यस्तो गर्नुभयो भनेर पनि भन्यो केपी ओलीले कहिल्यै सम्झियो? आजसम्म यत्रो वर्षसम्म? आफ्नो पार्टीभित्रको सिनियर नेताको सम्मान गर्न नसक्ने? अनि अपमान फिल हुन्छ कि हुँदैन। इतिहासप्रतिको न्याय हुन्छ? अनि संस्कार कसको राम्रो रहेछ? कम्युनिस्ट कि कांग्रेसको ? म त भन्छु कांग्रेसको।
नवौँ महाधिवेशनमा ओलीविरुद्ध उठ्ने दुस्साहस गरेकाले आफूलाई अपराधी सिद्ध गर्ने प्रयास गरेको नेपालले बताए। आफूलाई भोट दिनेहरुलाई पनि दण्डित गरेको नेपालको जिकिर छ। ओली पक्षको प्रवृत्तिका कारण निकटहरु पनि दिक्क भएको नेपालको जिकिर छ। विवाद मिलाउन सम्मिलित कार्यदलमा सहभागी विष्णु पाडेल र सुवास नेम्वाङहरु पनि ओलीसँग दिक्क रहेको नेपालको दाबी छ।
अब समानान्तर गतिविधि
सम्बोधन गर्दै अब समानान्तर गतिविधिमा केन्द्रित हुन पनि नेपालले निर्देशन दिए।
उनले भने, ‘तपाईंका गतिविधि निरन्तर रुपमा जारी राखेर जानुपर्छ। समानान्तर रुपमा जानुपर्छ। यदि केपी ओलीले एउटा कित्तामा पुर्याउन खोज्छन् भने विकल्पका लागि तयार हुनुपर्छ। अहिले हामी विद्रोही रुपमा एकताको भाव राखेर नै अघि बढेका छौँ। भोलिको बैठकसम्मको अवधिसम्म हामी कुछौँ। उनले गतिविधि नरोके हामी अघि बढ्नुपर्छ।’
हिजो आफैँसँग रहेका कतिपय व्यक्तिहरुको मनोबल कमजोर रहेको पनि नेपालले बताए।
‘हिजो साथमै रहेका कतिपय व्यक्तिहरु गए। लालबाबु पण्डित गए। कृष्णभक्त पोखरेल पुनर्स्थापनाको पक्षमा बहस गर्ने मान्छे पनि भाग्यो। टिक्ने टिक्छन् भाग्ने भाग्छन्।’
उनले एमाले ओलीको कब्जामा गए बन्धक नबन्ने पनि उद्घोष गरे। साथै विकल्पका लागि तयार रहन पनि कार्यकर्तालाई निर्देशन दिए। पहिलो प्राथमिकता एमाले एकता भए पनि ओलीले कित्ताकाट गरे नयाँ पार्टी स्थापनाका लागि तयार रहन नेपालको निर्देशन थियो।