PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

रक्सौल रेल्वे ढालामा बन्यो लाइट ओभर ब्रिज, नेपालीलाई पनि राहत



राधेश्याम पटेल

रक्सौल रेल्वे ढालामा बन्यो लाइट ओभर ब्रिज, नेपालीलाई पनि राहत

वीरगंज : नेपाल–भारत सीमावर्ती बजार वीरगंज–रक्सौल आवागमन अझै सहज हुने भएको छ। रक्सौल रेल्वे गुम्टी नं १३ (ढाला)मा लाइट ओभरब्रिज निर्माण भएपछि वीरगंज–रक्सौल आउजाउ गर्ने यात्रुहरुलाई सहज हुने बताइएको छ। भारतीय रेल्वेले करिब ९ करोडको बजेटमा साइकल, मोटरसाइकल गुड्ने र पैदल यात्रीको लागि लाइट ओभरब्रिज निर्माण गरेको हो।

सन् २०१९ अप्रिल–मेमा बिहारमा भएको लोकसभा चुनावको बेला भारतीय जनता पार्टीका लोक सभा सांसद सन्जय जैसवालले उक्त ओभरब्रिजको शिालान्यास गरेका थिए। भाजपा बिहार प्रदेश पार्टी अध्यक्षसमेत रहेका जैसवाल बेतिया लोकसभा क्षेत्रका सांसद हुन्। वीरगंज–रक्सौल भएर आउजाउ गर्न रक्सौलबाट पूर्वतर्फ घोडासहन तर्फ गएको रेल्वे ट्रयाकको कारण २४ घण्टामा करिब ६ घण्टा फाटक लगाएर सडक अवरुद्ध हुन्थ्यो। जसले गर्दा नेपाल भारतका यात्रुहरु घण्टौं जाममा फस्ने समस्यको सामाना गर्नू पर्थ्यो। वीरगंज र रक्सौलका नागरिकले रेल्वे ढाला नजिकै ओभर ब्रिज बनाएर उक्त समस्या समाधान गर्न सरकार समक्ष पहल गरेपछि भारतीय रेल्वेले लाइट ओभरब्रिज निर्माण गरेको आरएसएस निकट सीमा जागरण मञ्च बिहारका अध्यक्ष महेश अग्रवाल बताउँछन्।

उनका अनुसार करिब दुई वर्ष पश्चात निर्माण भएको लाइट ओभर ब्रिजको रंगरोगनको काम भइरहेको र अगस्त १५ वा सेप्टेम्बर पहिलो साता उक्त ओभर ब्रिजको उदघाटन हुने तयारी रहेको बताए। उनले सोही स्थानमा रेल्वे ओभर ब्रिज(आरओबी)को लागि पनि योजना अघि बढिसकेको जनाए। आरओबीमाथि साइकल, मोटरसाइकलसँगै भारी सवारी साधन पनि पार गर्छन् भने लाइट अ‍ेभरब्रिज भएर दुई पांग्रे र पैदल यात्री मात्र यात्रा गर्छन्। हाल निर्माण पुरा भएको लाइट ओभरब्रिजले पनि करिब ७० प्रतिशत जाममा फस्ने यात्रुलाई राहत मिल्ने विश्वास लिइएको छ। भारी सवारी सधान लिएर रक्सौल जानेहरुलाई रेल आएको वा क्रसिङ च्यानल मिलाइरहको बेला सास्ती खेप्नु पर्ने बाध्यता यथावत रहने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell