काठमाडौं : पछिल्लो समय ५ सयभन्दा बढी कोरोनाको सक्रिय संक्रमित भएको जिल्ला हो झापा। झापाका मुख्य सहरहरूमा कोरोना संक्रमण दर ह्वातै बढेको छ। संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। तर पनि पछिल्लो एक हप्तामा कोरोना संक्रमितको संख्यामा कमी आएको छैन।
झापामा पछिल्लो केही दिन यता दैनिक २ सयभन्दा बढी संक्रमित भेटिने गरेका छन्। शनिवारमात्र धेरैपछि संक्रमितको सङ्ख्या एक सयभन्दा कम भएको हो। साउन २३ गते झापामा २ सय १२ जनाको परीक्षण गर्दा ९६ जनामा कोरोना पोजेटिभ देखिएको थियो। परीक्षण भएकोमध्ये पिसिआर र एन्टिजेनबाट ४८/ ४८ जना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए। शनिवार कोरोना संक्रमित भएर मृत्यु हुने मानिसको सङ्ख्या भने शून्य रह्यो।
साउन २२ गते भने झापामा संक्रमितको सङ्ख्या २ सय नाघेको थियो। ७ सय ८४ जनाको पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ३३ जनामा पोजेटिभ देखिएको थियो। जसमा पिसिआर विधिबाट १ सय ५५ जना संक्रमित पत्ता लागेका हुन्। त्यस्तै सोही समयमा चार जनाको मृत्यु भएको थियो। दुई जना महिला दुई जना पुरुषको मृत्यु भएको हो। एक महिलाको होम आइसोलेसनमा मृत्यु भयो भने बाँकी उपचारको क्रममा अस्पतालमा मृत्यु भएको फोकल पर्सन चौलागाइले जानकारी दिए।
झापा जिल्लामा जति जति परीक्षणको दर बढ्दै गएको छ त्यही नै संक्रमितको सङ्ख्या पनि बढेर गएको छ। साउन २१ गते ४ सय ८० जनाको परीक्षण गरिएको थियो। यसरी परीक्षण गर्दा ३ सय ६२ जनामा संक्रमण पुष्टि भएको थियो। जसमा ३ सय ९ जना पिसिआर विधिबाट परीक्षण गर्दा संक्रमण देखिएको थियो। सोही दिन ७२ र ७० वर्षीय दुई पुरुषको संक्रमणबाट मृत्यु भयो।
साउन २० गते पनि झापामा संक्रमितको सङ्ख्या २ सय माथि नै भयो। २ सय ७४ जनामा संक्रमण देखियो। कोरोना संक्रमणपछि उपचार गराइरहेका दुई पुरुष र एक महिलाको मृत्यु भयो। शनिवार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निषेधाज्ञा खुकुलो भएसँगै मानिसको आवतजावत बढेकाले संक्रमण बढेको जानकारी दिए। झापामा पनि पछिल्लो समय संक्रमण दर बढ्नुमा निषेधाज्ञा खुकुलो र मानिसको आवत जावत बढेकाले नै संक्रमण फैलिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले बताउँछन्।
साउन १९ गते कोरोना परीक्षणको सङ्ख्या अन्य दिनको तुलनामा बढ्यो। पिसिआर विधिबाट ५ सय १ जना र एन्टिजेन विधिबाट ४ सय १० जनाको परीक्षण गर्यो। परीक्षण बढ्दा संक्रमितको सङ्ख्या पनि ३ सय माथि लाग्यो। दुवै विधिबाट गरेर ३ सय ४९ जनामा कोरोना पोजेटिभ देखियो। यो अवधिका संक्रमण भएका तीन जना मानिसको मृत्युसमेत भयो।
झापामा संक्रमण बढेपछि साउन १६ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको थियो। एक सातासम्म निषेधाज्ञा गर्दा पनि संक्रमणको चेन ब्रेक नभएको भन्दै जिल्ला प्रशासन कार्यालयले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको छ। पछिल्लो निर्णयअनुसार झापामा साउन ३२ गते राति १२ बजेसम्म निषेधाज्ञा रहेको छ। मानिसलाई अत्यावश्यक कामबाहेक घरबाट ननिस्कन भनिएको छ।
कोरोना संक्रमण दर मानिसको भिडभाड बढी हुने र सिटी क्षेत्रमा भएको देखिएको छ। झापाको दमक, भद्रपुर, मेचीनगर, बिर्तामोडलगायत सिटी क्षेत्रमा संक्रमितको सङ्ख्या बढी भएको देखिन्छ। शनिवारसम्म झापा जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या ३ हजार ५ सय २७ रहेको छ। जसमा महिला १ हजार ७ सय २ र पुरुष १ हजार ८ सय २५ जना पुरुष रहेका छन्। संक्रमण भएकामध्ये २ सय २८ जन अस्पताल भर्ना भएका छन् भने बाँकी होम आइसोलेसनमा रहेको फोकल पर्सन चौलागाइले जानकारी दिए।
