PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

प्रधानमन्त्री देउवासँग प्रचण्डसहित सत्ता साझेदार दलका शीर्ष नेताहरुको छलफल, न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न सहमत



प्रकाश भण्डारी

प्रधानमन्त्री देउवासँग प्रचण्डसहित सत्ता साझेदार दलका शीर्ष नेताहरुको छलफल, न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न सहमत

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सत्ता साझेदार दलका शीर्ष नेताहरुले भेट गरेका छन्। आइतवार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतले भेट गरेका हुन्।

भेटमा सत्ता साझेदर दलका नेताहरुबीच सरकार सञ्चालनका लागि सत्तारुढ गठबन्धनको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदनमाथि छलफल चलेको थियो। छलफलबाट उक्त प्रतिवेदनको अन्तिम रुप दिइएको छ।

'न्युनतम साझा कार्यक्रम' आज साँझ सार्वजनिक हुने भएको छ। सरकारले आइतवार साँझ कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको सत्ता गठबन्धनले प्रतिवेदन तयार गर्न गठित कार्यदलका सदस्य देव गुरुङ जानकारी दिए। 'सरकारले साँझसम्म सार्वजनिक गर्ला,' उनले भने।

गठबन्धनका नेताहरु सम्मिलित कार्यदलले न्युनतम साँझा कार्यक्रमको प्रतिवेदन शीर्ष नेतालाई बुझाएका थिए। आज विहान बालुवाटारमा बसेको शीर्ष नेताहरुको छलफलपछि सार्वजनिक गर्ने तयारी भएको हो। 'नेताहरुले छलफल गर्नुभएको छ। छलफल भइसकेकाले अब सार्वजनिक हुन्छ, ' गुरुङले भने।

बैठकमा मन्त्रीहरु र कार्यदलका संयोजक पूर्णबहादुर खड्कासमेत सहभागी थिए।

कार्यदलले गत शुक्रबार प्रधानमन्त्री देउवालगायत शीर्ष नेतृत्वलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो।

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ। प्रतिवेदनमा कोभिड–१९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति, राष्ट्रियहितको सम्वद्र्धन, सङ्घीयताको कार्यान्वयन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन र सदाचार, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक रुपान्तरण, तत्कालिक राहत पुनःनिर्माण तथा पुनःस्थापना, पर्यावरणीय सन्तुलन र अन्तर्राष्ट्रिय सम्बन्धलगायतलाई प्राथमिकता दिइएको छ।

सरकारको प्रमुख प्राथमिकतामा रहेको कोरोना रोकथाम र नियन्त्रणका विषयलाई प्रतिवेदनमा मुख्यरूपमा समेटिएको छ। गठबन्धनलाई कसरी दिगो बनाउने भन्ने विषय पनि प्रतिवेदनमा समावेश गरिएको छ। वर्तमान सरकारमा मन्त्रीले पालना गर्नुपर्ने आचारसंहितालाई समेत प्रतिवेदनमा समावेश गरिएको छ। नेपाली कांग्रेसका महामन्त्री खड्का संयोजक रहेको सात सदस्यीय कार्यदलले उक्त प्रतिवेदन तयार पारेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell