PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

केन्द्रीय कमिटीको बैठक रोकेर भित्र भित्रै के गर्दैछन् एमालेका नेता?



प्रकाश भण्डारी

केन्द्रीय कमिटीको बैठक रोकेर भित्र भित्रै के गर्दैछन् एमालेका नेता?

काठमाडौं : नेकपा (एमाले)को विघटित कार्यदलका नेताहरु केन्द्रीय कमिटीको बैठक रोकेरे संवादमा जुटेका छन्। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु संवादमा जुटेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

आइतवारका लागि बोलाइएको बैठक रोक्न नेता नेपालले गरेको आग्रहलाई स्वीकार्दै ओलीले बैठक एक दिनका लागि सारेका छन्। सहमति गराउन कार्यदलका नेताहरुको भेटघाट र छलफल विहानैदेखि निरन्तर भइरहेको तामाङले बताए।

किन रोकियो बैठक?

अध्यक्ष ओलीले पार्टीका कामलाई निरन्तरता दिएका छन् भने नेता नेपालले ओलीविरुद्ध समानान्तर गतिविधि गरिरहेका छन्।

सोमवारका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक भने नरोकिने तामाङले बताए। उनले पार्टीमा फर्कनेजति नेतालाई स्वागत गर्ने र बाँकीलाई बिस्तारै फर्कनका लागि आग्रह गरेर बैठक बस्ने बताए।

'पार्टीका काम निरन्तर चलिरहन्छन्। कसैले रोक्न चाहेर रोकिदैन्। जुन दिन उहाँहरु पार्टीमा आउनुहुन्छ त्यही दिनदेखि स्वागत गर्ने हो,' उनले भने।

साँझसम्म निकास

एमाले विवाद समाधानका लागि आइतवार साँझसम्म निकास निकाल्नका लागि नेताहरु जुटेका हुन्। उनीहरुले नेपाल पक्षले माग गरे बमोजिम सम्मानजनक एकताका लागि पहल गरिरहेका छन्। नेपालले दोस्रो अध्यक्षको प्रस्तावलाई अस्वीकार गरिहसेको अवस्थामा अन्य विकल्पमाथि छलफल भइरहेको हो। शुक्रवार सम्पन्न भएको केन्द्रीय कमिटीले कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई आधार मानेर एकता गर्न सकिने निर्णय गरेको थियो। नेपाल पक्षका अधिकांश नेताहरुले सम्मानजनक एकता भए मात्रै एमालेमा फर्कनपर्ने नेपाललाई सुझाव दिएका थिए।

रावलको सक्रियता

विघटित कार्यदलमा नेपाल पक्षका तर्फबाट संयोजक थिए भीम रावल। नेपालको अनइच्छाका बावजुत सहमति पत्र तयार पारेपछि नेपाल समूहमा उनको आलोचना भइरहेको छ।

केन्द्रीय कमिटीको बैठकमा रावलमाथि केही सदस्यहरुले ओलीको सहजताका लागि काम गरिरहेको आरोप लगाएका थिए। शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अस्वीकार गर्दै राजीनामा समेत दिएका रावल अहिले सहमतिका लागि फेरी सक्रिय भएका छन्।

रावलले आज राष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। १० बुँदेलाई आधार मानेर नेपाल समूह पार्टीमा फर्कनुपर्ने अडानमा रावल छन्। यद्यपि, नेपाल पक्षका केही नेताहरुले भने रावल लगायतका नेताहरुले गरिरहेको संवादका आधारमा मात्रै पार्टीमा सहमति नहुने बताएका छन्।

नेपाल पक्षका विरोध खतिवडा र मेटमणि चौधरीले ओलीको बहिर्गमनले मात्रै एकता टुंगोमा पुग्ने बताउँदै आएका छन्।

रावल नेपाल पक्षको केन्द्रीय कमिटी र ओलीले आफ्नो समूहमार्फत अघि बढाइरहेका गतिविधि दुबै रोक्न यसअघि पनि सक्रिय भएका थिए। बुधवार रावल सहितका कार्यदलका १० जना नेताले नै नेपाललाई भेट गरेका थिए भने ओलीसँग नियमित छलफल गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell