PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

कालिकोटमा विद्यार्थीले सिम्बोल नम्बर थाहा नपाउँदा एसईईको नतिजा हेर्न पाएनन्



रासस

कालिकोटमा विद्यार्थीले सिम्बोल नम्बर थाहा नपाउँदा एसईईको नतिजा हेर्न पाएनन्
File Photo

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७७ को एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ तर कालीकोट जिल्लाबाट एसईई दिएका विद्यार्थीले भने आफ्नो नतिजा थाहा पाउन सकेका छैनन्। 

विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर बोर्डले शनिबार नतिजा सार्वजनिक गरेको थियो। तर, यहाँका विद्यार्थीले भने सिम्बोल नम्बर नभएका कारण परीक्षाको प्रतिफल थाहा पाउन सकेका छैनन्।

एसईईको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने भए पनि सिम्बोल नम्बर थाहा नहुँदा आफूले प्रतिफल थाहा पाउन नसकेको कालीकोटको खाँडाचक्र नगरपालिका–१ पञ्चदेवल माध्यमिक विद्यालय मान्मबाट एसईई परीक्षा दिएका विकास शाहीले बताए।

'एसईई परीक्षाको फर्म भर्ने बेला कोभिड १९ कारणले विद्यालय बन्द भयो। हाम्रो सिम्बोल नम्बर कति हो', त्यो थाहा भएन उनले भने, 'आन्तरिक मूल्याङ्कनबाट परीक्षाको प्रतिफल आएको होला तर हाम्रो सिम्बोल नम्बर कति हो भन्ने थाहा नहुँदा परीक्षा प्रतिफल हेर्न पाएका छैनौँ।'

सिम्बोल नम्बर नभएका कारण आफूले परीक्षाको प्रतिफल हेर्न नपाएको रास्कोट नगरपालिका–५ स्युनामा रहेको बडिमालिका माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सामेल विद्यार्थी रजबहादुर फर्सालले बताए। 

'परीक्षा के भएको हेर्न पाएका छैनौं। हाम्रो सिम्बोल नम्बर कति हो त्यो पनि थाहा छैन', उनले भने, 'परीक्षाको प्रतिफल हेर्न नपाउँदा उकुसमुकुस भएको छ।'

विद्यालयले आन्तरिक मूल्याङ्कनका आधारमा एसईई दिने विद्यार्थीको नतिजा परीक्षा बोर्डमा पठाइएको र सबै विद्यार्थीको सिम्बोल नम्बर आफूहरुलाई जानकारी नहुने र विद्यालयमा गएमात्र थाहा हुने पञ्चदेवल माध्यमिक विद्यालयका सहायक प्रधानाध्यपक चन्द्रप्रसाद कोइरालाको भनाई छ।

'विद्यालय कोभिड–१९ का कारणले बन्द भएकाले हामीले आन्तरिक मूल्याङ्कन गरेर विद्यार्थीको परीक्षा फल र सिम्बोल नम्बर दिएका हौँ', उनले भने, 'त्यसबेला विद्यार्थीले चासो पनि देखाउनु भएन। हामीले सबैलाई सिम्बोल नम्बर थाहा दिन पनि भ्याएनौँ।'

एसईई परीक्षाको प्रतिफलको जानकारी आजै जिल्लामा आइपुग्ने र त्यसपछि विद्यार्थी को कति पास भए भन्ने जानकारी हुने जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख महेश देवकोटाले जानकारी दिए। उनले विद्यार्थीको परीक्षाफल आजै आउने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell