फ्रेन्च टिम पेरिस सेन्ट जर्मेन (पीएसजी) अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई क्लबमा अनुबन्धन गर्न लागि परेको छ। मेस्सी बार्सिलोनाबाट बाहिरिने निश्चित भएसँगै पीएसजीले उनलाई भित्र्याउन प्रयास थालेको हो।
विश्वका अधिकांश क्लबहरुले मेस्सीलाई भित्र्याउन चाहे पनि केही क्लबलाई छाडेर अन्यसँग त्यस बराबरको आर्थिक हैसियत पुरा हुँदैन। तर, यसमा कतारी स्वामित्व रहेको पीएसजीका लागि भने त्यो असम्भव छैन। पीएसजीले यसअघि नै करिव ४०० मिलियन युरो तिरेर नेइमार जुनियर र किलियन एम्बाप्पे लगायतका खेलाडीलाई अनुबन्धित गरिसकेका छन्। यसअर्थमा मेस्सीलाई अनुबन्धन गराउन पनि पीएसजीलाई धेरै समस्या हुने देखिँदैन।
धेरैलाई लागेको छ, मेस्सी पीएसजी पुग्दा एम्बाप्पे रियल मड्रिड जाने सम्भावना पनि बढेर जान्छ। तर, आवश्यक छैन कि त्यो सत्य होस्। मार्काले स्रोतको हवाला दिँदै पीएसजी नेइमार, मेस्सी र एम्बाप्पेलाई लिएर हालसम्मकै उत्कृष्ट टिम बनाउने होडमा उभिएको दाबी गरेको छ।
मेस्सी, नेइमार र एम्बाप्पेको अट्याकिङ 'ट्रिडेन्ट' सायद हालसम्म फुटबलमा देखिएको उत्कृष्ट मध्येको एक हुन सक्छ। यो अट्याकिङलाई कोरिया र जापानमा सम्पन्न विश्वकपमा देखिएको ब्राजिलको अट्याक, अर्थात रोनाल्डो, रिभाल्डो र रोन्हाल्डिनो त्यस्तै बार्सिलोनामा देखिएको लुइस स्वारेज, मेस्सी र नेइमार या रियल मड्रिडमा देखिएको ग्यारिथ बेल, क्रिस्टियानो रोनाल्डो र करिम बेञ्जेमाबिचको 'कम्बिनेसन'सँग पनि दाँजेर हेर्न सकिन्छ।
यी तीन खेलाडीले टिमको नेतृत्व गरिरहँदा पछाडि पनि अन्य स्टार खेलाडीलाई पीएसजीले भित्र्याएको छ। जिआनलुइगी डोनरुम्मा, एचरफ हकिमी, जर्जिनियो विनाल्डम र सर्जियो रामोसलाई पीएसजीले यो समरमै भित्र्याइ सकेको छ।
के यो सम्भव छ?
क्लबलाई थाह छ, यदी उनीहरु यो उत्कृष्ट टिम बनाउन गइरहेका छन् भने उनीहरुले अन्य खेलाडी बेच्नुपर्न हुन्छ। यो अनुबन्धन एकदमै महँगो हुँदा एम्बाप्पे बेच्ने विकल्प पनि तार्किक बन्न सक्छ। तर, ठ्याक्कै यही कुरा पीएसजीले अहिले नचाहिरहेको विषय हो। त्यसैले एम्बाप्पेलाई क्लबमै राख्न पीएसजीले प्रयास गरिरहेको छ।
यो कल्पना गर्न कठीन भने हुनेछ कि एउटै क्लबले यी तीन खेलाडीसँग उच्च तलब दिएर राख्नेछ। तर, यही सपना देखेर पुरा गर्न लागिपरेका छन् नासेर अल खेलाइफी र अन्य पीएसजीका बोर्ड निर्देशकहरु।
