PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

२१ वर्षपछि बार्सिलोनाबाट रुँदै बाहिरिए मेस्सी, भने: म यसका लागि तयार थिइन



पहिलोपोस्ट

२१ वर्षपछि बार्सिलोनाबाट रुँदै बाहिरिए मेस्सी, भने: म यसका लागि तयार थिइन

२१ वर्ष बार्सिलोना फुटबल क्लबमा बिताएका अर्जेन्टिनी स्टार लियोनल मेस्सी औपचारिक रुपमा क्लबबाट बिदा लिएका छन्। आज पत्रकार सम्मेलन गर्दै उनले बिदाइको औपचारिक घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा उपस्थित मेस्सीले बोल्दै गर्दा आँशु थाम्न सकेनन्।

'यो साह्रै कठिन छ, म यसका लागि तयार थिइन्। अघिल्लो वर्ष म बाहिरिन तयार भएको थिएँ। तर, यो वर्ष म, मेरो परिवार यहाँ निरन्तरता दिन चाहन्थ्यौं,' मेस्सीले भने,'आज मैले गुडबाइ भन्नै पर्छ। म धेरै युवा हुँदा १३ वर्षको उमेरमा यहाँ आइपुगेको थिएँ। र, २१ वर्षपछि म मेरो श्रीमती र तीन बच्चाहरुसँग यहाँबाट बिदा हुँदै छु।'

त्यस्तै उनले फर्किएर आउने आफ्ना सन्तानलाई बाचा गरेको समेत बताए।

अर्जेन्टिनी स्टार फुटबलर मेस्सी यतिबेला आफ्नो आगामी क्लब छनोट गर्न स्वतन्त्र छन्। धेरै हप्ता भइसकेको छ उनी 'फ्री एजेन्ट' भएको।

पछिल्लो समय जुन महिनाको अन्त्यमा बार्सिलोनासँग करार सकिएसँगै फ्री एजेन्ट बनेका मेस्सी र क्लबबिच सहमति बने पनि ला लिगाको खेलाडी दर्तासम्बन्धि नयाँ नियमहरुको कारण मेस्सी बाहिरिने अवस्था आएको बार्सिलोनाले एक विज्ञप्ति जारी गर्दै जनाएको थियो।

बार्सिलोनामा उनी नरहने भएसँगै उनी इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी या फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जान चर्चा चलेको थियो। यद्यपि उनी पीएसजीसँग अनुबन्धनको नजिक रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

बार्सिलोनामा ४ वटा युरोपियन च्याम्पियन्स लिग जिताएका मेस्सीले १० वटा ला लिगा, ७ वटा कोपा डेलरे, तीनवटा क्लब विश्वकप, तीनवटा युरोपियन सुपर कप र ८ वटा सुपरकोपाको उपाधि जिताएका थिए। उनले त्यसबिचमा ६ पटक बालोन डि ओरको उपाधि जित्न सफल भए।

मेस्सीले बार्सिलोनाबाट १७ सिजन खेल्दै ७७८ खेलमा ६७२ गोल गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell