PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

ओली-नेपाल मिलाउने प्रयास फेरि पनि असफल, माधवले गर्लान् त 'विद्रोह'?



प्रकाश भण्डारी

ओली-नेपाल मिलाउने प्रयास फेरि पनि असफल, माधवले गर्लान् त 'विद्रोह'?

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलाउने प्रयास फेरि पनि असफल भएको छ।

विघटीत कार्यदलका सदस्यहरु एकताका लागि भन्दै एक हप्तायता लगातार अनौपचारिक संवादमा थिए। तर, उक्त संवाद कुनै ठोस निर्णमा पुग्न नसकेको विघटित कार्यदलका सदस्यहरुले बताएका छन्।

एमालेको विघटित कार्यदलले सुरुमा १० बुँदे सहमति गरेर ओली-नेपाललाई मिलाउने प्रयास गरेको थियो। १० बुँदेप्रति नेता नेपालले असहमति जनाएपछि एमालेको विवाद झनै बढेको थियो। त्यसयता पनि विवाद मिलाउन विघटित कार्यदलका सदस्यहरु सक्रिय रहे। गत हप्ता कार्यदलका सदस्यहरुले दुवै नेतालाई भेटेका थिए भने ओलीले आइतवारका लागि बोलाएको स्थायी कमिटी र केन्द्रीय कमिटी रोकेर सहमतिको वातावरण बनाउन पहल गरेका थिए।

तर, विवाद मिल्ने नदेखिएपछि ओलीले सोमवारको केन्द्रीय कमिटीबाट सांगठनिक गतिविधिलाई तिब्रता दिने तयारी गरेका हुन्। नेपाल पक्षको शुक्रवार सम्पन्न केन्द्रीय कमिटीको बैठकले ओलीलाई सांगठनिक काम तत्काल रोक्न माग गरेका थिए। उक्त माग विपरित ओलीले सोमवारको स्थायी कमिटीबाट विधान संसोधनको मस्यौदा पारित गरेका छन् भने केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने तयारी छ।

'कुनै ठोस् सहमति हुन सकेन'

आइतवार दिनभर विघटित कार्यदलका सदस्यहरुले सहमतिका लागि अनौपचारिक संवादलाई तिब्रता दिएका थिए। तर,कुनै सहमति भने हुन सकेन।

विघटित कार्यदलमा ओली समूहबाट संयोजक रेहका नेता सुवास नेम्बाङले सहमति हुन नसकेको बताए।

'सहमतिका लागि विभिन्न खालका पहल भएका छन्। तर, कुनै पनि खालको ठोस निर्णयमा पुगिसेका छैनौं,' उनले भने। कार्यदल कुनै निर्णयमा नपुग्नु, विधान संशोधन गर्दै अध्यक्ष र महासचिवबाट निर्वाचित गर्ने र बाँकी मनोनीत गर्ने प्रस्ताव गर्नुले ओली नेपालबिच दुरी झनै बढ्नुको कारण एमालेमा एकताको सम्भावना न्यून प्राय छ। 

नेपालको मागमा ओलीको बेवास्ता

नेपाल समूहले केन्द्रीय कमिटीको बैठकले पार्टीमा सहमतिका लागि ओली समूहको रणनीतिमा भर पर्ने बताएको थियो। नेपाल पक्षका नेता जगन्नाथ खतिवडाले ओलीले बैठक र सांगठनिक क्रियाकलाप रोकेर संवादका लागि तयार भए समस्या समाधान हुने बताएका थिए।

'संगठनका कामहरु तत्काल रोकेर सहमति गर्न उहाँ तयार हुनुभयो भने सहमति हुन पनि सक्ला। अब उहाँले बोलाउनु भएको बैठक रोक्नुहुन्छ कि के गर्नुहुन्छ त्यसमा भर पर्छ,' उनले भने।

खतिवाडाले भने झै ओली समूहले नेपाल पक्षको माग अनुसार बैठक र सांगठनिक काम रोक्न तयार भएन। नेपाल आफू सहमतिका लागि लचिलो भए पनि ओली तयार नभएको आरोप लगाउँदै आएका छन्।

अब के हुन्छ?

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले अब पार्टीका गतिविधि नरोकिने बताए। उनले नेपाल पक्षले आग्रह गरे पनि पार्टीका बैठक र गतिविधि रोकेर सहमति नहुने भएकाले सहमतिका लागि संवादसँग सँगै पार्टीका क्रियाकालाप अघि बढने बताए।

उनले नेपाल पक्षका नेताहरु पार्टीमा फर्किए जहिले पनि ओली स्वागत गर्न तयार भएको समेत बताए।

सोमवारको केन्द्रीय कमिटी बैठकमा मुख्यगरि विधान महाधिवेशन सम्बन्धि केन्द्रित भएर छलफल हुने उनको भनाई छ। उनले राजनीतिक र सांगठनिक प्रतिवेदनको काम अध्यक्ष र संगठन विभागनका प्रमुख विष्णु पौडेललाई दिएको भए पनि लेख्ने काम पुरा नभएकाले आजको बैठकमा प्रस्तुत नहुने बताए।

'आज मुख्यगरी विधान महाधिवेशनका बारेमा केन्द्रित भएर छलफल हुन्छ। राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन लेख्न काम नसकिएकाले आज प्रस्तुत हुँदैनन्,' उनले भने।

ओली समूहले विधान महाधिवेशन भदौ २७ र २८ गते गर्ने निर्णय यसअघि नै गरिसकेको छ।

ओलीले धमाधम पार्टीका क्रियाकलाप अघि बढाएपछि नेता नेपाल भने झन् असन्तुष्ट बनेका छन्। उनी पक्षका नेताहरुले तत्काल पार्टीका गतिविधि रोक्न आग्रह गरिरहेका छन्। पार्टी २०७५ जेठ २ गतेमा फर्कदा ओलीले त्यसयता गरेका निर्णयको काम नहुने भएकाले पार्टीका गतिविधि रोक्नुपर्ने नेपाल पक्षको तर्क छ।

ओली समहमतिका लागि तयार नभए विद्रोहका लागि तयार रहने नेपालले आफू पक्षका नेताहरुलाई निर्देशन दिसकेका छन्। उनलाई समानान्तर गतिविधि गर्नुका साथै एकताका लागि पहल गर्नुपर्ने केन्द्रीय सदस्यहरुले सुझाव दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell