काठमाडौं: राष्ट्र संघको शान्ति मिसनमा जानको लागि लिएको प्रिस्याट परीक्षा रद्द हुने भएको छ।
एक साताअघि दुई दिनमा चार सिफ्ट गरेर देशभर भएका सबै प्रिस्याटको परीक्षा रद्द गर्ने तयारी भएको छ। अन्तिम दिन प्रहरी प्रधान कार्यालयमा लिएको प्रिस्याटको अन्तिम सिफ्टको परीक्षाको प्रश्न पत्र आउट भएपछि परीक्षा रद्द गरिएको हो। प्रश्न पत्र आउट भएपछि प्रहरी प्रधान कार्यालय नक्सालले डिआइजी वसन्त लामाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले छानबिन सकेर प्रतिवेदन प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीलाई बुझाउने तयारी गरिरहेको छ।
प्रहरी प्रधान कार्यालयमा एक हजार ४ जना प्रहरीको प्रिस्याट परीक्षा लिएको थियो। शुक्रवार दुई सिफ्टमा २ सय ५० जनाको दरले परीक्षा भएको थियो। शनिवार पनि दुई सिफ्टमा त्यति नै परीक्षार्थी थिए। प्रिस्याट परीक्षा पास गरेपछि स्याट परीक्षा लिइन्छ। त्यो उत्तीर्ण गरेपछि मात्र मिसनमा जान पाइन्छ। देशभर २ हजार ४ सय प्रहरीले परीक्षा दिएका थिए। हेडक्वार्टर आउट भएको प्रश्न पत्र अन्य जिल्लामा समेत पुगेकाले त्यहाँ भएका सबै परीक्षा रद्द गर्न लागिएको हो।
'बाहिरी जिल्लामा समेत प्रश्न पत्र पुगेको थियो। त्यसैले सबै परीक्षा रद्द गर्ने तयारी भइसकेको छ,' प्रहरी स्रोतले भन्यो।
परीक्षा प्रहरीको युएन शाखाले लिने गर्छन्। तर प्रश्न पत्र युएन शाखाका प्रहरी अधिकृतको दराजबाट नै चोरी भएको थियो। दराजको चाबी प्रहरी उपरीक्षक (एसपी) अनुपम शमशेर राणासँग थियो। प्रश्न पत्र चोरी भएर आउट भएपछि हेडक्वार्टर हल्लाखल्ला मच्चियो। प्रहरी प्रधान कार्यालयले छानबिन समिति नै गठन गरेर अहिले अनुसन्धान गरिरहेको छ। एक प्रहरीले घर्राबाट प्रश्न पत्र चोरी गरेर विभिन्न प्रहरीमा पुर्याएका थिए।
प्रश्न पत्र यसरी नै विभिन्न माध्यमबाट बाहिरिएपछि एक डिएसपी युएन शाखाका प्रहरीलाई जानकारी दिएका थिए। तीनै प्रहरीले दिएको जानकारी अनुसार प्रश्न पत्र बाहिरिएको घटना बाहिर आएको थियो। प्रश्न पत्र चोरी गर्ने, चोरी गर्न उक्साउने र प्रश्न पत्र लिने केही प्रहरीलाई कारबाही गर्ने तयारी भइरहेको छ।