PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

माधव पक्षको सहभागिता बिनै पार्टी संरचना फेर्ने ओलीको निर्णय, अध्यक्ष र महासचिवमात्रै अब निर्वाचित पद



प्रकाश भण्डारी

माधव पक्षको सहभागिता बिनै पार्टी संरचना फेर्ने ओलीको निर्णय, अध्यक्ष र महासचिवमात्रै अब निर्वाचित पद

काठमाडौँ: वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बहिस्कारका बाबजुद अध्यक्ष केपी शर्मा ओलीले महत्वपूर्ण निर्णय गरेका छन्। पार्टीको संरचना फेर्नेदेखि विधान महाधिवेशनको तयारीका लागि ओलीले केन्द्रीय कमिटीको बैठकबाट महत्वपूर्ण निर्णय गराएको हुन्।

सोमबार ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकबाट विधान अधिवेशन भदौ २७ र २८ गते गर्ने, पार्टीको संरचना फेर्ने र महाधिवेशनका लागि समिति गठन गर्ने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

अध्यक्ष पद अझै शक्तिशाली

ओलीले पार्टीको शक्ति अध्यक्षमा केन्द्रित गर्नेगरि अध्यक्ष र महासचिवमात्रै निर्वाचित हुने र अरु पदाधिकारी मनोनीत हुने निर्णय गरेका हुन्।

केन्द्रीय कमिटीको ११औँ बैठकले निर्वाचन प्रणालीमा फेरबदल गरेको ज्ञवालीले बताए। अध्यक्ष भइसकेपछि पाँच वर्षसम्मका लागि अधिकारसम्पन्न बनाउन अध्यक्षलाई शक्तिशाली बनाइएको उनको भनाई छ। यद्यपि अझै बहुपदीय अभ्यास भने कायमै रहेको ज्ञवालीले बताए।

नयाँ प्रयोग : विधान महाधिवेशन

ज्ञवालीले एमालेले विधान महाधिवेशन र महाधिवेशन फरक-फरक समयमा गरेर नयाँ अभ्यास गरेको बताए। उनले भदौ २७ र २८ गते काठमाडौँमा हुने विधान महाधिवेशनले पार्टीको नीति तय गर्ने जानकारी दिए। 'पार्टी जीवनमा नयाँ अभ्यास पनि हो। नीति र नेतृत्वको बारेमा छलफल गर्नु उपयुक्त हुन्छ भनेर गर्न लागिएको हो,' उनले भने।

संगठन प्रमुखलाई विधान संशोधनको जिम्मा

विधान महाधिवेशनका लागि ४ वटा समिति गठन भएका छन्। ओलीको अध्यक्षतामा राजनीतिक प्रतिवेदन मस्यौदा समिति, ईश्वर पोखरेलको अध्यक्षतामा संगठनात्मक प्रतिविदेन मस्यौदा समिति गठन भएको छ।

यस्तै संगठन विभाग प्रमुख विष्णु पौडेलको अध्यतामा विधान संसोधन मस्यौदा प्रस्ताव समिति गठन भएको ज्ञवालीले जानकारी दिए। नेता रामबहादुर थापा बादलले व्यवस्थापन सिमितिको संयोजकको जिम्मेवारी पाएका छन्।

विधान महाधिवेशनमा प्रस्तुत गरिने केही प्रस्ताव सबै स्थानीय कमिटी र पार्टी कमिटीमा पुग्नेगरि तल पठाउने व्यवस्था गरिएको ज्ञवालीको भनई छ।

२३ वटा शीर्षकहरुमा संशोधनको प्रस्ताव गरिएको उनले बताए।

सदस्य बन्न अब सजिलो

यस्तै, एमालेको सदस्यतालाई पनि सरलीकरण गर्ने निर्णय भएको छ। पार्टी सदस्यतालाई सरलीकरण गर्ने व्यवस्था गरिएको ज्ञवालीले बताए। उनले पालिकास्तरमा निवेदन दिएर जिल्ला कमिटीले सदस्यता दिने र केन्द्रले भेरिफिकेशन गर्ने बताए। ९औँ महाधिवेशनबाट निर्वाचित १५९ सदस्य केन्द्रीय कमिटी बनाइएकोमा अबको महाधिवेशनबाट एमालेको कमिटीलाई ठूलो बनाइएको छ। अब २२५ जना केन्द्रीय सदस्य रहने भएका छन्।

सचिव बढे उपाध्यक्ष घटे

एमालेमा सचिवको संख्या बढाइको छ भने उपाध्यक्षको संख्यामा कटौती गरिएको छ। अध्यक्ष १, उपाध्यक्ष २, महासचिव १, उपमहासचिव २ र सचिव ७ जना राख्ने संरचनाको प्रस्ताव भएको ज्ञवालीले बताए। सचिव पदबाट क्रमशः समावेशी बनाउँदै जाने एमालेको निर्णय छ। एमालेमा पोलिटब्यूरो कमिटी हटेको छ भने सचिवालय थपिएको छ। महाधिवेशन प्रतिनिधि परिषद् गठन हुने ज्ञवालीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell