PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

निर्माण व्यवसायीबीचको विवादले दुई वर्षदेखि बेनी अस्पताल भवन अलपत्र, बिरामीलाई सास्ती



रिना थापा

निर्माण व्यवसायीबीचको विवादले दुई वर्षदेखि बेनी अस्पताल भवन अलपत्र, बिरामीलाई सास्ती
फोटो : राकेश शर्मा/म्यादी

पोखरा : म्याग्दीको बेनी अस्पताल भवन निर्माण कार्य दुई वर्षदेखि अलपत्र परेको छ। ठेकेदार कम्पनीले कार्ययोजना अनुसार काम नगर्दा करिब दुई वर्षदेखि भवन निर्माण अलपत्र परेको हो।

जिल्लामा निर्माणाधिन अवस्थामा रहेको एक मात्र अस्पताल अलपत्र पर्दा बिरामीहरुले उपचारमा सास्ती खेप्नुपरेको छ। स्वास्थ्य उपचारका लागि अहिले अस्थाई र साँघुरा कोठामा काम चलाउ हिसाबले बिरामीहरु सेवा लिन बाध्य छन्।

तत्कालीन समयमा शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले २०७३ मंसिर २१ गते ५० बेड क्षमताको अस्पताल भवन निर्माणका लागि महादेव खिम्ती, गल्वा र रफिना जेभी गरी ३ कम्पनीसँग १८ करोड ८४ लाख आठ हजार ८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। भवन निर्माणको २४ करोड चार लाख २९ हजार ८६९ रुपैयाँ लागत अनुमान गरिएको थियो।

महादेव खिम्तीका सञ्चालक रवी सिंह निर्माण व्यवसायी महासंघका अध्यक्ष समेत हुन्। अस्पताल भवन बनाउने जिम्मा भने गल्वा कम्पनीका रबिन जोशीले लिएका थिए।

सम्झौता अनुरुप २०७६ मंसिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने थियो। सम्झौता सकिने अवधिसम्म भवन निमार्णको काम ५० प्रतिशत मात्र भयो।

निर्माण कार्य चलिरहेको समयमा निर्माण व्यवसायीबीच विवाद उत्पन्न भयो। व्यवसायीबीचको लेनदेन विवाद सर्वोच्च अदालतमा पुग्यो। ठेक्काको जिम्मा पाएका सबकन्डक्टरले आफुले कामको रकम नपाएको भन्दै २० महिनाअघि अदालत पुगेका थिए।

विवाद अदालतसम्मै पुगेपछि भवन निर्माण कार्य बीचमै अलपत्र पर्‍यो। कम्पनीले भवन निर्माणका लागि पहिलो चरणमा कोरोनाको समस्या देखायो। त्यसपछि २०७७ जेठ २० गते एक वर्षका लागि म्याद थप गरिएको थियो। 
समयावधि सकिएपछि थपेको एक वर्षको अवधि पनि यही जेठ २० गते सकिएको छ। त्यस समय सचिव स्तरीय निर्णयबाट एक वर्ष थप गरिएको थियो।

डिभिजन कार्यालय बागलुङका इन्जिनियर वीरवल सुनारका अनुसार ठेकेदार कम्पनीले अहिलेसम्म ९ करोड हाराहारीको भुक्तानी लिइएको छ। सुनारका अनुसार कम्पनीले अहिलेसम्म जम्मा ५० प्रतिशत काम सकेको छ।

कम्पनीले गतवर्ष २ करोड हाराहारीको बिल देखाएर भुक्तानी माग गरेका थिए। तर, सर्वोच्च अदालतले २ करोडको बिल बाँकी राखेर निर्माण कार्य भएपछि भुक्तानी गर्ने आदेश दिएको थियो। जसकारण भवन निर्माण डिभिजन कार्यालयले भुक्तानी दिएन।

चार हजार ९ सय ६३ वर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको चारतले तीन वटा भवन निर्माणले गति लिन सकेको छैन। आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण मार्फत सरकारले गरेको घोषणा अनुसार आगामी मंसिर २० गतेसम्म म्याद थप गर्न सकिन्छ।

डिभिजन कार्यालय बागलुङले ठेकेदार कम्पनीलाई निर्माण कार्य सक्नका लागि अहिलेसम्म १० वटा पत्र समेत काटिसकेको छ। तर, आन्तरिक विवादमा अल्झिएको ठेकेदार कम्पनीले अटेर गरेका छन्।

निर्माण व्यवसायी महासंघका अध्यक्षले नै जिम्मा पाएको आयोजना अलपत्र हुँदा समेत सम्बन्धित निकायले गम्भीरतापूर्वक नलिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए।

‘गुनासो लिएर गएको एउटा टेबल बाँकी छैन तर महासंघका अध्यक्ष भइसकेपछि उहाँको पावर चल्ने भो’, कटुवालले भने, ‘फोन उठाउनु हुन्छ, गर्छु गर्छु भन्नुहुन्छ, उहाँको गर्छु त्यस्तै हो, काम हुन्न।’

उनका अनुसार तीन महिना यता निर्माण कार्य ठप्प छ। निर्माण स्थलमा रहेका ३ जना मजदुरले समेत कामको ज्याला नपाएको गुनासो गरेका छन्।

काम समयमा नसकिदा बेनीमै उपचार हुने बिरामी पनि बाहिरी जिल्ला धाउनुपरेको छ। त्यससमय नयाँ भवन बनाउन पुरानो भवन भत्काइयो। पुरानो भवनबाट सेवा दिँदा समस्या भएको कटुवालले बताए। उनका अनुसार बिरामीले पनि सास्ती खेप्नुपरेको छ।

अहिले अस्थाई भवनबाट अस्पतालको सेवा सञ्चालन गरिएको छ। आकस्मिक र अन्तरंग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ। स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ।

सघन उपचार कक्ष (आइसीयु) र डायलासीस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना भएको छ। निर्माणाधिन अस्पताल ५० बेड क्षमताको हो। अहिले अस्पतालले जम्मा १५ बेड क्षमताको सेवा दिइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell