PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

सरकारको न्यूनतम साझा कार्यक्रम : के नेपालमा कोभिड-१९ विरूद्धको खोप उत्पादन सम्भव छ?



विधुर ढकाल

सरकारको न्यूनतम साझा कार्यक्रम : के नेपालमा कोभिड-१९ विरूद्धको खोप उत्पादन सम्भव छ?

काठमाडौं : संयुक्त सरकारको न्युनतम साझा कार्यक्रममा खोप उत्पादनका लागि नेपालमै 'भ्याक्सिन ल्याब' स्थापना गर्न पहल गर्ने उल्लेख छ। संयुक्त सरकारका नीति र कार्यक्रम शीर्षक अन्तर्गत 'कोभिड-१९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति' उपशीर्षकको २ नं बुँदामा 'खोप उत्पादनका लागि ल्याबको स्थापना गर्न पहल गर्ने' उल्लेख छ।

खोपको विकास र उत्पादन फरक फरक पाटा हुन्। खोपको विकासका लागि लामो प्रक्रिया रहे पनि उत्पादनका लागि विकसित खोपको ‘फर्मुला’का आधारमा विभिन्न स्थानमा रहेका खोप उत्पादक ल्याबमा भ्याक्सिनको उत्पादन हुन सक्छ।  

उदाहरणका लागि हामीले लिन सक्छौँ अक्सफोर्ड/अस्ट्राजेनेका कोभिड-१९ भ्याक्सिन (AZD1222)। यो खोप बेलायतको अक्सफोर्ड युनिभर्सिटी र भ्याक्सिन उत्पादक अस्ट्राजेनेकाले विकास गरेका हुन्। अनुसन्धानमा आधारित बायो फार्मासिटिकल कम्पनी र अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरु मिलेर विकास गरेको खोप अहिले विभिन्न मुलुकहरुमा रहेका भ्याक्सिन उत्पादकहरुले उत्पादन गरिरहेका छन्।

जसमध्ये भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया पनि एक हो। अक्सफोर्ड र अस्ट्राजेनेकाले विकास गरी भारतमा उत्पादित कोभिसिल्ड पहिलो चरणमा नेपालीलाई दिइएको थियो। तर, सिरमले नेपालमा खोप निर्यात गर्न नमानेपछि अहिले भुटान र जापानले उपल्ब्ध गराएको अस्ट्राजेनेकाको खोप पहिलो डोज कोभिसिल्ड लगाएकाहरुलाई दोस्रो डोजको रुपमा दिन थालिएको छ। 

जापानले सहयोग गरेको खोप अस्ट्राजेनेकाको त्यही फर्मुलाबाट जापानमै उत्पादन भएको खोप हो। अस्ट्राजेनेकासँगको साझेदारीमा जापानको खोप उत्पादक दाइची सानक्यो को.ले अस्ट्राजेनेकाको खोप उत्पादन गरेको हो।

कोभिड-१९ खोपको विश्वव्यापी माग र आपूर्तिलाई पूरा गर्न ठूलो मात्रामा खोपको उत्पादनका लागि र अन्य खोप उत्पादनका लागि साझेदारी गरिरहेको खोप अस्ट्राजेनेकाले जनाएको छ। सुरुमा अस्ट्राजेनेका भनेर चिनिने कोभिड-१९ भ्याक्सिन अहिले युरोपमा Vaxzevria भन्ने ब्राण्ड नाममा उत्पादन हुँदै आएको छ।

युरोपमा अक्सफोर्ड र केलीमा उत्पादन भई रेक्सहाममा खोपको बोटलिङ हुँदै आएको छ। त्यस्तै लेइडेनमा पनि खोप उत्पादन भइरहेको छ।

त्यस्तै अस्ट्राजेनेका-एसके बायोले पनि आपतकालिन प्रयोग अनुमति पाएको छ। उक्त खोप दक्षिण कोरियामा उत्पादन भइरहेको छ

डब्लुएचओको आपतकालीन प्रयोग अनुमति सूचीमा अस्ट्राजेनेकेको  पाँच वटा भ्याक्सिन सूचीकृत छन्। जसमध्ये अष्ट्रेलियामा पनि खोप उत्पादन भइरहेको छ। अस्ट्राजेनेका मात्र होइन चीनको सिनोफार्मले विकास गरेको भ्याक्सिन पनि चीनबाहेक अन्य देशबाट पनि उत्पादन हुने चरणमा छ।

सिनोफार्मले विदेशी साझेदारीसँग मिलेर वार्षिक पाँच बिलियन डोज उत्पादन गर्ने रणनीति तय गर्दै विभिन्न देशसँग साझेदारी तथा ल्याब/उद्योग विकासको काम गरिरहेको छ।

सिनोफार्म मातहत बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट (बीआईबीपी)ले विकास गरी उत्पादन गरेको भेरोसेलले आपतकालीन अनुमति पाइसकेको छ। सिनोफार्म मातहत नै वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट (डब्लुआईबीबी) पनि डब्लुएचोको आपतकालीन प्रयोगका लागि मुल्यांकनको चरणमा छ। 

युएईको जी ४२ समूह र सिनोफार्म ज्वाइन्ट भेन्चरले युएईमा कोभिड-१९ को खोप उत्पादन गरी 'ह्यात भ्याक्स'को नाममा बजारमा पुर्‍याउँदै छ। अबुधावीमा स्थापना गरिएको नयाँ प्लान्टमा वार्षिक २०० मिलियन डोज खोप उत्पादन हुने बताइएको छ। अन्तरिम रुपमा यो भ्याक्सिन गल्फ फार्मासिटिकल इन्डस्ट्रिज पीएससी जुलफारमा उत्पादन सुरु भइसकेको छ।

'ह्यात भ्याक्स' नाम दिइए पनि यो भ्याक्सिन सिनोफार्मको बीआईबीबी युनिटले विकास गरी उत्पादन गरेको भेरोसेलको इन्एक्टिभेटेड भ्याक्सिन हो। जस्तो कि अस्ट्राजेनेकाको प्याटेन्ट लिएर भारतको सिरमले कोभिसिल्ड उत्पादन गरेजस्तै। 

Photo : G24

त्यस्तै चीनकै सिनोभ्याक बायोटेक लिमिटेडले उत्पादन गरेको 'इनएक्टिभेडेट भेरोसेल' कोभिड-१९ भ्याक्सिनको उत्पादनका लागि मलेसियाको फार्मामानियागा लाइफसाइन्स एसडीएन बीएचडी (पीएसएल)ले भ्याक्सिन उत्पादनका लागि साझेदरीपत्रमा जनवरी १२ मा हस्ताक्षर गरिसकेका थिए। पीएसएलले स्थानीय उत्पादकको रुपमा सिनोभ्याकसँग मार्च १२ मा सहमतिपत्रमा हस्ताक्षर गरेको थियो। सोही अनुसार पीएसएलले मलेसियाको बजारका लागि सिनोभ्याकको भेरोसेल उत्पादन गरी वितरण गर्ने अधिकार प्राप्त गरेको छ।

त्यस्तै श्रीलंकाले पनि सिनोभ्याकले विबमस गरेको भेरोसेल उत्पादन गर्ने तयारी गरिरहेको छ। त्यस्तै मोरोक्को र इजिप्टमा पनि चीनका खोप उत्पादकले स्थानीय उत्पादनका लागि प्लान्ट स्थापना गरिरहेका छन्। मोरोक्कोको फार्मासिटिकल फार्मले प्रतिमहिना ५ मिलियन डोज सिनोफार्मको खोप उत्पादन गर्ने गरी दुई देशका प्रतिनिधिको उपस्थितिमा जुलाईमा सहमतिपत्रमा हस्ताक्षर भएको छ।

त्यस्तै सिनोभ्याकले कच्चा पदार्थ निर्यात गरेर इजिप्टले आफ्नै प्लान्टमा सिनोभ्याकको खोप उत्पादनसमेत सुरु गरिसकेको छ।

के नेपालमा सम्भव छ कोभिड-१९ को खोप उत्पादन?

नेपालमा पशुपंक्षीका लागि आवश्यक पर्ने खोपको विकास र उत्पादनका लागि उद्योगहरु भए पनि मानवका लागि खोप उत्पादन गर्ने उत्पादकहरु भने छैनन्। नेपालमा औषधी उत्पादकको दर्ता गर्ने निकाय औषधी व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीका अनुसार अहिलेसम्म कुनै उद्योग दर्ता नभए पनि सरकारले खोप उत्पादनको ल्याब संचालनको पहल गर्ने भनेपछि त्यसको तयारी हुन सक्छ।

‘अहिलेसम्म त्यस्तो उत्पादक छैनन्। एउटा उत्पादकले ‘इन्ट्रेस्ट’ देखाएर आउनु भएको छ। अन्य केहीले चासो राख्नु भएको छ,’ केसीले भने।

मानव खोप उत्पादनका लागि प्रविधि र जनशक्तिसँगै निश्चित जैविक सुरक्षाका तहहरू पालना गर्नुपर्ने चुनौती पनि उत्तिकै छ। अहिले कोभिड-१९ को उत्पतिको विषयलाई लिएर विश्व दुई ध्रुवमा विभाजित छ। अमेरिकाले चीनको वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट भाइरस बाहिरिएको आरोप लगाउँदा चीनले अमेरिकी सेनाको बायोलोजिकल वारफेयर ल्याब फोर्ट डेट्रिकबाट बाहिरिएको आरोप लगाइरहेको छ।

मानव खोपको उत्पादन गर्ने उत्पादकहरुमा जैविक सुरक्षा कठिन चुनौती देखिन्छ। सरकारले आधिकारिक निर्णय गरे विश्वस्वास्थ्य संगठनको मापदण्डको आधारमा विभागले अध्ययन गरी अनुमति दिन सक्ने प्रवक्ता केसीले बताए।

नेपालमा तत्काल खोपको विकास सम्भव नभए पनि बाहिर विकास भएको खोपको 'प्याटेन्ट लिएर उत्पादन गर्न सम्भव भने देखिन्छ। तर अर्को चुनौती भनेको बजार हो।

‘सम्भव नहुने भन्ने होइन। कसले कसरी उत्पादन गर्छ भन्नेमा भर पर्छ। मैले खोप साझेदारीमा उद्योग खोले। भ्याक्सिन चलेन भने अरबौँको क्षति हुने अवस्था आउन सक्छ,’ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले भने, ‘नेपालले भारत र चीनको खोपसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन सक्छ। दुई ठूला जनसंख्या भएका देश र उत्पादन क्षमता भएका देशको तुलनामा नेपालको जनसंख्या सानो र उत्पादन क्षमता पनि सानो हुनेछ। यस्तोमा नेपालको उत्पादन महंगो हुन सक्छ।‘

संसदीय समितिमा यसको विषयमा आफूलाई प्रश्न गरिएको स्मरण गर्दै डाक्टर पुनले भने, ‘यो प्रश्न संसदीय समितिमा पनि सोधिएको थियो। मेरो राय के हो भने यसका लागि सरकार नै लाग्नुपर्छ। भारतले पनि अन्य देशमा विकास गरेको खोपको प्याटेन्ट लिएर प्रोडक्सन गर्छ। भारत र चीनमा जनसंख्या ठूलो छ। उनीहरुकोमा खपत बढी हुन्छ। मास प्रोडक्सन गर्दा सस्तो पर्छ। नेपालको जनसंख्या सानो छ। मास प्रोडक्सनमा जान अलि कठिन होला मार्केट सानो छ।‘

उनका अनुसार सरकारले लगानी सुरक्षाको वातावरण बनाउने गरी कार्यक्रम ल्यायो भने बाहिरबाट 'प्याटेन्ट' ल्याएर उत्पादन गर्न सकिन्छ। डाक्टर पुन नेपालमा तत्काल खोप उत्पादन भए पनि वा नभए पनि सरकारले खोप उत्पादनको आवश्यकता महसुस गर्नु पनि सकरात्मक भएको बताउँछन्।

‘यसले अहिले नै नसके पनि भोलि हुने समस्याका बेला काम लाग्न सक्छ,‘ उनले भने।  

नेपाल सरकारको लगानी रहेको नेपाल औषधी लिमिटेडका उपमहाप्रबन्धक विजयश्री रत्न बज्राचार्यले सरकारले जिम्मा दिए कम्पनीले कोभिड-१९ विरुद्धको भ्याक्सिन उत्पादन गर्न सक्ने बताए।

'सरकारले हामीलाई कोभिड भ्याक्सिन उत्पादनको जिम्मा दिएमा काम गर्न सक्छौं,' उनले पहिलोपोस्टसँग भने, 'यसको लागि ५ देखि ६ महिनासम्मको समय आवश्यक हुन्छ। यसको लागि पूर्वाधारको विकास धेरै आवश्यक पर्छ। यसको सुरक्षाको विषय धेरै चुनौतीपूर्ण हुन्छ। गर्न नसकिने भन्ने होइन।' 

बज्राचार्यले खोप उत्पादन सोचेजस्तो महंगो नहुनेसमेत बताए।

'यो सोचेजस्तो धेरै महंगो पर्न आउँदैन। माइक्रो बायोलोजी ल्याब बनाउने हो। मेरो विचारमा २० देखि २५ करोड लाग्ला पूर्वाधार विकासका लागि। यसको सामाग्री भारतबाट ल्याउनु पर्छ। यसमा हामीले कुनै कम्पनीको प्रविधि किन्ने हो यसमा कुनै झन्झट् हुँदैन,' ब्रजाचार्यले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell