PahiloPost

Jun 15, 2026 | १ असार २०८३

काठमाडौंका अस्पतालमा बिरामीको चाप बढ्यो, सम्बन्धित निकायसँगको छलफलमा सिडिओ



पहिलोपोस्ट

काठमाडौंका अस्पतालमा बिरामीको चाप बढ्यो, सम्बन्धित निकायसँगको छलफलमा सिडिओ

काठमाडौंः पछिल्लो केही दिनयता देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। त्यसको प्रत्यक्ष असर काठमाडौं उपत्यकाभित्र देखिएको छ। काठमाडौं उपत्यका भित्र दैनिक ५ सय भन्दा बढी कोरोनाका संक्रमितहरु थपिदैं गएका छन्।

संक्रमितको संख्या थपिदैं जाँदा काठमाडौँका अस्पतालहरू पुनः भरिभराउ देखिन थालेका छन्। शनिवार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले अस्पतालमा बिरामीको चाप बढेको भन्दै सबै जनालाई सचेत हुन समेत आग्रह गरेका थिए। जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पनि काठमाडौँका अस्पतालमा बिरामीको चाप बढेको बताए।

'पहिलेको तुलनामा अहिले संक्रमणसँगै अस्पतालमा बिरामीको चाप बढेको देखिएको छ,' सिडिओ पराजुलीले भने।

काठमाडौंमा संक्रमण बढेपछि त्यसले पार्ने असर र कसरी नियन्त्रण गर्ने भन्ने विषयमा आज जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठक बस्दै छ। बैठकमा पछिल्लो अवस्थाको बारेमा छलफल हुनेछ। त्यसपछि काठमाडौं उपत्यकाभित्र अहिलेको निषेधाज्ञाको मोडालिटीलाई परिवर्तन गरेर कसरी अघि बढ्ने भन्नेमा बारेमा छलफल हुनेछ।

पछिल्लो समय थप गरिएको निषेधाज्ञाको समय भोलि १२ बजेबाट सकिदैंछ। त्यसपछि कस्तो निषेधाज्ञा गर्ने भन्ने विषयमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निर्णय गर्नेछ।

'आज अन्य निकायसँग पनि छलफल गर्छौँ। त्यसपछि के गर्ने भन्ने टुङ्गो लाग्नेछ,' सिडिओ पराजुलीले भने।

काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ। यस्तै, देशका ५७ वटा जिल्लामा पनि निषेधाज्ञा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell