काठमाडौंः खुल्ला सिमानाको फाइदा उठाउँदै भारतमा बसेर नेपालमा नक्कली नोटको कारोबार हुने गरेको खुलेको छ। सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले तीन जना युवकलाई नक्कली नोट सहित नियन्त्रणमा लिएपछि नेपालमा नक्कली नोटको कारोबार भइरहेको खुलेको हो।
प्रहरीले पाएको विशेष सूचना रौतहटको मठिया महुलियाको टोलीलाई परिचालन गरी सोमबार दिउँसो तीन जनालाई नक्कली नोट सहित पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए।
प्रहरीले धनुषा बटेश्वर गाउँपालिकाका ३८ वर्षीय शत्रुधन ठाकुर, महोत्तरी भंगाहा नगरपलिका २५ वर्षीय दीपेन्द्रकुमार महतो र महोत्तरी बर्दिबासका नगरपालिका ३० वर्षीय रञ्जित महतोलाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट प्रहरीले ९ लाख ९३ हजार रुपैयाँ समेत बरामद गरेको छ। प्रहरीले बरामद गरिएको सबै एक हजार दरका नेपाली रुपैयाँ छन्।
'राम्रो सित हेर्दा नक्कली नोट भन्ने प्रस्ट चिनिने खल्को छ। पैसा खेलाइरहेका मानिसले प्रस्ट चिन्छ। उनीहरूले कसरी नक्कली नोट तयार भयो भन्ने जानकारी छैन। उनीहरू भरिया मात्र हुनसक्ने देखिन्छ,' एसपी शाहले भने।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरूले केही रकमको लागि भारतबाट नक्कली नोट ल्याएको देखिएको छ। भारतको विहारमा छापेर चैनपुर भन्ने ठाउँबाट ल्याएको प्रहरीमा बयान दिएका छन्। उनीहरूले रौतहट हुँदै बाराको सिम्रौनगढ पुर्याउनु पर्ने थियो।
'बाराको एक जनाले तिमीहरूलाई कल गर्छ उसैलाई नोट दिनु भनेर पठाएको थियो भनिरहेका छन्। थप अनुसन्धान गरिरहेका छौँ,' एसपी शाहले भने।
पछिल्लो समय सबैभन्दा धेरै नक्कली नोट भेटिएको यो पहिलो घटना हो। तीन वर्षअघि काठमाडौंमा २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँ प्रहरीले बरामद गरेको थियो।
नक्कली नोट बनाएको प्रमाणित भएमा मुलुकी अपराध संहिता अनुसार ५ वर्षदेखि १० वर्षसम्म कैद सजाय र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
