PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

बार्सिलोनाको १० नम्बर जर्सी : मेस्सी पछि कसको?



पहिलोपोस्ट

बार्सिलोनाको १० नम्बर जर्सी : मेस्सी पछि कसको?
Photo: Marca

अर्जेन्टिनी स्टार लियोनल मेस्सी स्पेनिस क्लब बार्सिलोनाबाट बाहिरिएसँगै प्रश्न उब्जिएको छ, अब जर्सी नम्बर १० कसले प्रयोग गर्छ?

दशक भन्दा बढी समय १० नम्बर जर्सीमा बार्सिलोनाबाट मैदानमा उत्रिएका मेस्सी क्याम्प नाउ छाड्न बाध्य भएका छन्। १३ वर्षको उमेरमा बार्सिलोना पुगेका मेस्सी अब पेरिस जाने चर्चा छ। पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट उनी खेल्ने आंकलन भइरहेको छ। पीएसजी गए पनि उनले कति नम्बरको जर्सी पाउँछन् भन्ने यकिन भएको छैन। मेस्सी अब मैदानमा कति नम्बरको जर्सीमा देखिन्छन् भन्ने अहिले सर्वत्र चासो छ।

यता, बार्सिलोनामा कसले प्रयोग गर्ला त १० नम्बर जर्सी? भन्ने अर्को प्रश्न छ।

मेस्सी बाहिरएपछि बार्सिलोनाले इटलियन क्लब युभेन्टससँग जोआन ग्याम्पर ट्रफी खेल्दै गर्दा कुनै पनि खेलाडी १० नम्बर जर्सीमा देखिएनन्। र, सायद हुन सक्छ अर्को सिजनसम्म पनि बार्सिलोनाको यो जर्सी 'भ्याकेन्ट' रहनेछ।

ला लिगामा जर्सी रिटायरमेन्टको प्रचलन देखिँदैन। जस्तो की एनबीए, सिरी ए या 'रेयर केस' मा प्रिमियर लिगमा देख्न सकिन्छ। चेल्सीले जिआनफ्रान्को जोलाको सम्मानमा २५ नम्बर जर्सी 'रिटायर' गराउने अनौपचारिक निर्णय गरेको थियो। नेपालमा पनि पछिल्लो समय यो चलन भित्रिएको छ। नेपाली क्रिकेटर तथा पूर्वकप्तान पारस खड्काले खेलजीवनबाट संन्यास लिएसँगै नेपाल क्रिकेट संघले उनको जर्सी नम्बर अर्थात ७७ नम्बर जर्सी 'रिटायर' गर्ने निर्णय गरेको थियो।

अन्तर्राष्ट्रिय मिडियाहरुले बार्सिलोनाका लागि 'मेस्सीको जुत्ता लगाउन सक्ने' खेलाडी छान्नु सहज नहुने तर्क गरिरहेका छन्। अर्थात मेसीको लयमा दौडने खेलाडी पाउन सजिलो छैन। 

एकथरी फुटबल समर्थकले मेसीको जर्सी नम्बर 'रिटायर' गर्नुपर्ने तर्क गरिरहेका छन्। तर, बार्सिलोना अघि बढिरहने छ र यसमा बिर्सन नहुने कुरा भनेको बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले पटक पटक दोहोर्‍याउँदै आएको कुरा हो: बार्सिलोना सबैभन्दा माथि हुनेछ। अर्थात उनको संकेत हो खेलाडी विशेषमा बार्सिलोना केन्द्रित हुने मुडमा छैन, न त जर्सी रिटायर गर्ने मुडमा नै।

बार्सिलोनाबाट भविष्यमा यो जर्सीमा उत्रनका लागि अंशु फाती र पेड्री दाबेदार देखिन्छन्। यद्यपि, बार्सिलोनाले हतार गर्ने हो भने अहिले भएका खेलाडीबाट हेर्दा तीन खेलाडी यसको दाबेदार देखिन्छन्।

पहिलो प्रशिक्षक रोनाल्ड कोम्यानका निकट डच खेलाडी मेम्फिस डिपे। त्यस्तै इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीबाट बार्सिलोना पुगेका सर्जयो अग्युरो या त बार्सिलोनामा अहिले देखिएका हेबिवेट फ्रेन्च खेलाडी एन्टोनी ग्रिजमन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell