काठमाडौं : सरकारले दार्चुला घटनाको छानबिन गर्न बनाएको छानबिन टोलीलाई दिएको १० दिनको समय घर्किँदै गएको छ। साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्य छानबिन टोली गठन गरिएको थियो। टोलीलाई दिइएको १० दिन समय भोलि सकिँदैछ।
समय सकिन लाग्दै गर्दा छानबिन टोलीले पनि आफ्नो काम अन्तिमतिर पुगेको जानकारी दिएको छ। दार्चुला पुगेर छानबिन गरेको टोली दार्चुलाबाट हिँडिसकेको छ।
'म अहिले जिल्ला प्रशासन कार्यालय दार्चुलामा नै छु। बाँकी टोली बैतडी जानु भइसकको छ। अब कहिले प्रतिवेदन बुझाउने भन्ने संयोजकले निर्णय गर्नुहुन्छ,'छानबिन समितिकी सदस्य तथा जिल्ला प्रशासन कार्यालय दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्टले भनिन्।
समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुत राज थापा, सशस्त्र प्रहरी बल नेपालका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट सदस्य रहेका छन्।
साउन १५ गते बिहान दार्चुलाको ब्यास गाउँपालिका २ मालघाटमा तुइन प्रयोग गर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीय जयसिंह धामी बेपत्ता भएका थिए। भारतीय पक्षले भने घटनामा एसएसबीको संलग्नता नरहेको जवाफ नेपाल तर्फको स्थानीय प्रशासनलाई दिइसकेको छ।
छानबिन टोली घटनास्थल पुग्दा त्यहाँ तुइन नभेटिएको टोलीका एक सदस्यले जानकारी दियो।
'हामी पुग्दा तुइन थिएन। कहिले हटाइयो ? भन्ने विषयमा प्रतिवेदनमा नै थप खुल्ला,' छानबिन सदस्य भट्टले भनिन्।
घटनामा भारतीय एसएसविको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्ष नेकपा एमाले र सत्तारुढ दल माओवादी केन्द्रले भारतले क्षमायचाना माग्नु पर्ने बताउँदै आएका छन्।
छानबिन गर्न गएको टोलीले भने भारतीय पक्षसँग कुनै प्रकारको सोधखोज गरेन। एसएसबीसँग पनि कुनै कुराकानी नगरेको छानबिन समितिकी सदस्य भट्टले बताइन्।
'एसएसबीले छानबिन गर्न सहजीकरण गरेको थियो। तर भारतीय पक्षसँग कुनै सोधखोज गरेका छैनौं,' छानबिन सदस्य भट्टले भनिन्।
टोलीले घटना भएको देख्ने प्रत्यक्षदर्शी, पीडितका परिवार, स्थानीय, राजनीतिक दलका सदस्यहरूसँग घटनाको बारेमा जानकारी लिएको थियो।